BIZMANDU
www.bizmandu.com

सेञ्चुरी बैंक ऋण दुरुपयोग : राष्ट्र बैंकको छानबिनपछि १० बैंकरविरुद्ध मुद्दा चलाइँदै

२०८१ बैशाख ३०

सेञ्चुरी बैंक ऋण दुरुपयोग : राष्ट्र बैंकको छानबिनपछि १० बैंकरविरुद्ध मुद्दा चलाइँदै
सेञ्चुरी बैंक ऋण दुरुपयोग : राष्ट्र बैंकको छानबिनपछि १० बैंकरविरुद्ध मुद्दा चलाइँदै

काठमाडौं। तत्कालीन सेन्चुरी कमर्सियल बैंकले प्रवाह गरेको ऋणमा कैफियत रहेको अनुसन्धानबाट पाइएको छ। प्रहरी र नेपाल राष्ट्र बैंकले गरेको अनुसन्धानका क्रममा ऋण प्रवाहमा कैफियत फेला परेको हो।

Tata
GBIME

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सीआइबी)ले फागुन अन्तिम साता बैंकरलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धान नगरी बैंकरलाई पक्राउ गरेको भनेर चौतर्फी आलोचना भएको थियो।

धितो भ्यालुएसन पद्धतिबारे अवगत नभई बैंकर पक्राउ गरेको भन्दै नेपाल बैंकर्स संघले विरोध जनाएको थियो भने राष्ट्र बैंकले पनि असन्तुष्टि जनाएको थियो।

त्यसपछि सीआइबीले अनुसन्धानमा राष्ट्र बैंकको सहयोग मागेको थियो। राष्ट्र बैंकले अनुसन्धानका लागि चार्टर्ड एकाउन्टेन्टको नेतृत्वमा एउटा टोली खटाएको थियो।

सीआइबीसँगै राष्ट्र बैंकको टोलीले अनुसन्धान गर्न थालेपछि पक्राउ परेका बैंकर हाजिरी जमानीमा छुटेका थिए। राष्ट्र बैंकको अनुसन्धानबाट ऋण प्रवाहमा कैफियत भेटिएपछि प्रहरीले हाजिरी जमानीमा छुटेकाहरुसँग पुन: बयान लिन थालेको छ।

अनुसन्धानका क्रममा थप प्रमाण जुटाउन पूरक बयान लिन थालिएको सीआइबीका अधिकारीहरुले बताएका छन्।

सीआइबीले तत्कालीन सेन्चुरी कर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) तुलसीराम गौतम, तत्कालीन सीइओ मनोज न्यौपाने (हाल प्रभु बैंकका डेपुटी सीइओ) सहित ११ जनालाई फागुन १५ गते पक्राउ गरेको थियो।

बिरामी परेका कारण एक जना त्यही बेला छुटेकी थिइन्। बाँकीलाई भने तेस्रो पटक म्याद थप गरेर हिरासतमा राखी दुई सातापछि हाजिरी जमानीमा रिहा गरिएको थियो।

राष्ट्र बैंकको टोलीले एक साताअघि अनुसन्धान प्रतिवेदन प्रहरीलाई बुझाएको थियो। सोही प्रतिवेदन अनुसार प्रहरीले पूरक बयान लिन थालेको हो।

‘अहिले पूरक बयान लिने काम भइरहेको छ,’ सीआइबीका एक अनुसन्धान अधिकृतले भने।

राष्ट्र बैंकको प्रतिवेदन सीआइबीको अनुसन्धानभन्दा खासै फरक नभएको प्रहरीको दाबी छ। ‘राष्ट्र बैंकको प्रतिवेदनले पनि सीआइबीको अनुसन्धान सही छ भन्ने देखाएको छ। धेरै कुरा मिल्दोजुल्दो नै देखियो। अहिलेसम्म हेर्दा १० जनाविरुद्ध नै मुद्दा चल्ने देखिन्छ,’ सीआइबी स्रोतले भन्यो।

सीआइबीले अबको केही दिनमा रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ। सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धान चित्त नबुझेमा पुनः अनुसन्धान वा मुद्दा चल्ने वा नचल्ने निर्णय गर्नेछ।

१ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँको धितो भ्यालुएसन गरी २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ ऋण प्रवाह गरिएको भन्दै सीआइबीले बैंकरलाई पक्राउ गरेको थियो।

बढी कर्जा लिने देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंमाथि बचतकर्ताको रकम हिनामिना गरेको अभियोग छ। गत कात्तिक १७ गते पक्राउ परेका उनी अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन्।  

चौलागाईंका चारवटा संस्थाले बैंकका कर्मचारीसँगको मिलेमतोमा कम भ्यालुएसन भएको धितो देखाएर बढी ऋण लिएको प्रहरीको आरोप छ।