BIZMANDU
www.bizmandu.com

‘एक्स्ट्रिम’मा जाने संकेत गरेपछि प्रचण्डको त्यो पहल, जसले सुधारियो ओली र पुनको सम्बन्ध

२०८१ बैशाख ३०

‘एक्स्ट्रिम’मा जाने संकेत गरेपछि प्रचण्डको त्यो पहल, जसले सुधारियो ओली र पुनको सम्बन्ध
‘एक्स्ट्रिम’मा जाने संकेत गरेपछि प्रचण्डको त्यो पहल, जसले सुधारियो ओली र पुनको सम्बन्ध

काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन) को अध्यक्ष छनोटमा ‘कर्पोरेट इन्ट्रेस्ट’सँगै चिसिएको एमाले अध्यक्ष केपी शर्मा ओली र अर्थमन्त्री वर्षमान पुनबीचको सम्बन्ध सुधार भएको छ। सेबोन अध्यक्षमा आफ्नो निकट व्यावसायिक घरानाको व्यक्ति ल्याउन भएको प्रतिस्पर्धाले दुवैबीच सम्बन्धमा दरार आएको थियो।

Tata
GBIME
NLIC

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र ओलीबीच शुक्रबार सेबोन अध्यक्ष छनोटका विषयमा छलफल भएको थियो। प्रचण्ड र ओलीबीच छलफलबाटै छनोट गर्ने सहमति भएको थियो।

‘प्रधानमन्त्री प्रचण्डले सेबोन अध्यक्षमा धेरै लडाईं नगरौं, यसलाई अर्थमन्त्री पुनले पनि सहमति जनाउनुहुन्छ भन्नुभयो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै प्रधानमन्त्री निकट एक व्यक्तिले भने, ‘यसलाई प्रेस्टिजको इस्यु बनाउनु पर्दैन।’

प्रचण्डले यसबारे अर्थमन्त्री पुनलाई समेत जानकारी गराउने प्रतिबद्धता जनाएका थिए। ओलीले प्रचण्डसँग सेबोनको अध्यक्षमा आफ्नो अनुकूल नआए ‘एक्स्ट्रिम’ कदम चाल्ने संकेत गरेका थिए।

स्रोतका अनुसार त्यसपछि प्रचण्डले अर्थमन्त्री पुनलाई सेबोनको अध्यक्षका बारेमा ओलीसँग भएको छलफल जानकारी गराएका थिए। अनि उनले अर्थमन्त्री पुनलाई ओलीसँग भेटघाट गर्न आग्रह गरेका थिए। स्रोतका अनुसार अर्थमन्त्री पुनले ओलीसँग भेटेर सेबोनमा सहमतिमै अध्यक्ष नियुक्त गर्ने प्रतिबद्धता जनाइसकेका छन्।

सेबोन अध्यक्ष छनोटमा आफ्नो अनुकूल व्यक्तिको नाम नआउने देखेपछि ओलीले अर्थमन्त्री पुनलाई टेलिफोन गरेर ‘तलमाथि नगर्न’ चेतावनी दिएका थिए। सो घटनापछि ओली र पुनबीच सम्बन्ध थप बिग्रिएको थियो।

सेबोन अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले १९ जना आवेदकमध्येबाट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, नेपाल बीमा प्राधिकरण (तत्कालीन बीमा समिति)का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं, सेबोनका कार्यकारी निर्देशक नवराज अधिकारी र मुक्ति श्रेष्ठ तथा व्यवसायी सन्तोषनारायण श्रेष्ठको नाम ‘सर्टलिस्ट’ गरेको छ।

स्रोतका अनुसार यी तीनमध्ये कार्की, चापागाईं र श्रेष्ठको नाम सिफारिस गर्न दबाब छ। मन्त्री पुनको रोजाइमा कार्की छन् भने गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो समूहले चापागाईं र इन्फिनिटी होल्डिङका दीपक भट्टले सन्तोषनारायण श्रेष्ठलाई ल्याउन खोजेका छन्।

हालै भएको सहमतिपछि यही साताभित्र ‘सर्टलिस्ट’मा परेका पाँच जनालाई कार्ययोजना प्रस्तुत गर्न लगाउने तयारी छ। यसअघि गत चैत २९ गते कार्ययोजना प्रस्तुत गर्न लगाउने मिति तय भएकामा मन्त्री पुनको निर्देशनमा अन्तिम समयमा रोकिएको थियो। समितिले नयाँ मिति तय गरेको छैन।

समितिमा अर्थसचिव मधु मरासिनी र उदय निरौला सदस्य छन्। सेबोन गत पुस तेस्रो सातादेखि नेतृत्वविहीन छ। यस अघिका अध्यक्ष रमेशकुमार हमालले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिलाउन प्रयास गरे पनि असफल भएका थिए।