BIZMANDU
www.bizmandu.com

चिनियाँ कम्पनीले नगरेको काम भारतीयले गर्ने, ढल प्रशोधन केन्द्र बनाउन नयाँ सम्झौता गरिंदै

२०८१ बैशाख १४

चिनियाँ कम्पनीले नगरेको काम भारतीयले गर्ने, ढल प्रशोधन केन्द्र बनाउन नयाँ सम्झौता गरिंदै
चिनियाँ कम्पनीले नगरेको काम भारतीयले गर्ने, ढल प्रशोधन केन्द्र बनाउन नयाँ सम्झौता गरिंदै

काठमाडौं। चिनियाँ कम्पनीसँग खोसिएको तीन वटा ढल प्रशोधन केन्द्र बनाउने ठेक्का भारतीय कम्पनीलाई दिन लागिएको छ। चिनियाँ कम्पनीसँग ठेक्का तोडेको करिब २ वर्षपछि भारतीय कम्पनीसँग सम्झौता गर्न लागिएको हो।

Tata
GBIME
Nepal Life

काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयले २०२२ को अगस्टमा चिनियाँ निर्माण कम्पनी साफ्बम वाटर सर्भिस होल्डिङसँगको ठेक्का तोडेको थियो।

निर्देशनालयले अहिले भारतको चेन्नाईस्थित भीए टेक वाबगसँग भ्याटसहित २ करोड ३५ लाख २९ हजार ९९६ अमेरिकी डलर र ३ अर्ब ४१ करोड २३ लाख ८७ हजार गरी ६ अर्ब ५४ करोड १८ लाख ७६ हजार रुपैयाँमा ठेक्का सम्झौता गर्न लागेको छ।

निर्देशनालयका प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाका अनुसार दुई साताभित्र ठेक्का सम्झौता गर्ने तयारी छ। सम्झौताको दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने छ।    

यसको सुरुवाती अनुमानित लागत करसहित ७ अर्ब १३ करोड ३१ लाख ४२ हजार ८५३ रुपैयाँ रहेकामा चिनियाँ कम्पनीले ३ अर्ब ९६ करोड रुपैयाँमा ठेक्का लिएको थियो। तर यो रकममा घाटा हुने देखिपछि उसले निर्धारित समयमा २६.८१ प्रतिशत भन्दा काम गरेन।

आयोजनामा अहिलेसम्म ८८ करोड रुपैयाँ खर्च भइसकेको छ। आयोजनाले चिनियाँ कम्पनीसँग ठेक्का तोडेर क्षतिपूर्तिस्वरुप बैंक ग्यारेन्टीसहित ८८ करोड रुपैयाँ उठाएको थियो।

दुई वर्षदेखि निर्माण ठप्प

ललितपुरको बालकुमारी र धोबीघाट तथा भक्तपुरको सल्लाघारीमा २०१७ जनवरीमा अढाइ २ वर्षमा सक्ने गरी ढल प्रशोधन केन्द्र बनाउन सुरु गरिएको थियो। तर चिनियाँ कम्पनीले ढिलासुस्ती गर्‍यो।

निर्धारित समयमा काम नभएपछि सरकारले पटक पटक म्याद थप्यो। तर चिनियाँ कम्पनीले आर्थिक अभाव र कोभिडको कारण देखाएर काम गर्न मानेन। उसले २०२२ को जनवरीपछि काम रोक्यो। त्यसपछि ठेक्का तोडिएको थियो।