BIZMANDU
www.bizmandu.com

दोस्रो स्थानको लिभरपुललाई रेलिगेसन नजिकको एभर्टनले हरायो, सिटी र आर्सनलाई राहत

२०८१ बैशाख १३

दोस्रो स्थानको लिभरपुललाई रेलिगेसन नजिकको एभर्टनले हरायो, सिटी र आर्सनलाई राहत
दोस्रो स्थानको लिभरपुललाई रेलिगेसन नजिकको एभर्टनले हरायो, सिटी र आर्सनलाई राहत

इङ्ग्लिस प्रिमियर लिगमा गएराति सम्पन्‍न खेलमा एभर्टनले लिभरपुललाई हराएको छ। एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा लिभरपुल २-० गोलअन्तरले पराजित भएको हो।

Tata
GBIME
Nepal Life

एभर्टनका लागि २७ औँ मिनेटमा जर्राड ब्रेथवेटले गोल गर्दै अग्रता दिलाए। दोस्रो हाफमा डोमिनिक कालभर्ट लेविनले अग्रता दोब्बर बनाए। उनले म्याक निलको पासमा ५८ औँ मिनेटमा गोल गर्दा घरेलु टोलीले लिभरपुललाई २-० गोल अन्तरले हराएको हो।

यो नतिजाले रेलिगेशन जोन आसपासमा संघर्ष गरिरहेको एभर्टनलाई ठूलो राहत मिलेको छ। जितसँगै ३४ खेलबाट ३३ अंक जोड्दै एभर्टन तालिकाको १६ औँ स्थानमा छ।

एभर्टनबाहेक उपाधिको होडमा लिभरपुलसँगै अगाडि रहेका आर्सनल र म्यानचेस्टर सिटीलाई पनि राहत मिलेको छ। ३४ खेलबाट ७७ अंक बनाएर आर्सनल शीर्ष स्थानमा रहँदा समान खेलबाट ७४ अंक बनाएर लिभरपुल दोस्रो स्थानमा छ।

तेस्रो स्थानमा ३२ खेलबाट ७३ अंक बनाएको म्यानचेस्टर सिटी छ। एभर्टनलाई हराएको खण्डमा शीर्षस्थानमा पुग्ने अवसर लिभरपुललाई हुने थियो।

गएराति नै सम्पन्‍न प्रिमियर लिगका अन्य खेलहरूमा क्रिस्टल प्यालेसले न्युक्यासललाई २-० गोलले हराउँदा वर्नेमाउथले वुल्भ्सलाई १-० गोलअन्तरले हरायो। त्यस्तै, म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडमाथि ४-२ गोलको जित निकाल्यो।