काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल आउने भएका छन्। दुईदिने औपचारिक भ्रमणका लागि उनी काठमाडौं आउन लागेका हुन्।
अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताए।
कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आज निस्किँदैछन्। नेपालसँगै उनले फिलिपिन्स र बंगलादेशको भ्रमण गर्ने राजदूत अल अन्सारीले बताए।
अमिर अल थानीले नेपालमा रहँदा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेट गर्नेछन्।
अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।
कतारका अमिर पहिलोपटक नेपाल भ्रमणमा आउन लागेका हुन्। रासस