BIZMANDU
www.bizmandu.com

गण्डकी प्रदेश सभाको अधिवेशन कांग्रेसले बहिस्कार गर्ने

२०८१ बैशाख ७

गण्डकी प्रदेश सभाको अधिवेशन कांग्रेसले बहिस्कार गर्ने
गण्डकी प्रदेश सभाको अधिवेशन कांग्रेसले बहिस्कार गर्ने

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको बैठक बहिस्कार गर्ने निर्णय गरेको छ। गण्डकी कांग्रेसको संसदीय दलको बैठकले शुक्रबारको लागि बोलाइएको प्रदेश सभा अधिवेशन बहिस्कार गर्ने निर्णय गरेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए।

Tata
GBIME
Nepal Life

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकीको प्रदेश सभा बैठक शुक्रबार ३ बजेका लागि आह्वान गरेका छन्। तर, कांग्रेसले भने मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेकोले बैठक बोलाउन नमिल्ने जिकिर गर्दै अधिवेशन बहिस्कार गर्ने जनाएको हो।

‘सम्मानित सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेशको वेवास्ता गर्दै गरिएका यस्ता असंवैधानिक क्रियाकलापहरुप्रति गम्भीर असहमति जनाउँदै प्रदेश सभा बैठक र सम्मानित सर्वोच्च अदालतबाट मुद्दाको अन्तिम फैसला नहुँदासम्म आह्वान गरिने प्रदेश सभाको कुनै पनि बैठकमा हामी नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुले सहभागी नहुने निर्णय भएको छ,’ न्यौपानेले भने।

गण्डकीमा कांग्रेसका सुरेन्द्राराज पाण्डेले राजीनामा दिएपछि एमालेका अधिकारी मुख्यमन्त्री भएका हुन्। उनको नियुक्ती असंवैधानिक भन्दै पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले चैत २८ गते मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर पर्ने खालका निर्णय नगर्न आदेश दिँदै वैशाख १० गते पूर्ण सुनुवाईका लागि पेशी तोकिएको छ।