BIZMANDU
www.bizmandu.com

एसिया कप पुग्न दुई कदम पछाडि नेपाल, लयमा रहेको यूएईसँग कस्तो छ चुनौती ?

२०८१ बैशाख ७

एसिया कप पुग्न दुई कदम पछाडि नेपाल, लयमा रहेको यूएईसँग कस्तो छ चुनौती ?
Dipendra Singh Airee of Nepal and Gulshan Kumar Jha of Nepal during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Saudi Arabia held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 2), Muscat, Oman on April 17, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं । एसोसिएट टोलीलाई एसिया कप पुग्ने एकमात्र विकल्पको रुपमा रहेको एसीसी प्रिमियर कपको सेमिफाइनल खेल आज हुँदैछ। ओमनमा आज पहिलो सेमिफाइनलमा नेपाल र यूएई पौने १२ बजे भिड्दा दोस्रो सेमिफाइनलमा हङकङ र ओमन सवा ४ बजे भिड्नेछन्।

Tata
GBIME
Nepal Life

१० टोली सहभागी प्रतियोगतामा दुई समूहबाट शीर्ष दुईमा पर्दै यी चार टोली सेमिफाइनलमा आइपुगेका हुन्। नेपाल समूह ‘ए’ को विजेता र हङकङ उपविजेता बन्दा कतार, साउदी अरब र मलेसिया बाहिरिएका थिए।

समूह ‘बी’ ओमन विजेता र यूएई उपविजेता बन्दा कुवेत, बहराइन र कम्बोडिया बाहिरिएका थिए।

हङकङविरुद्धको खेलमा विकेट सेलिब्रेट गर्दै नेपाली खेलाडी। तस्बिर: एसीसी

यो प्रतियोगिताको च्याम्पियन टोलीले एसिया कप खेल्ने मौका पाउनेछ। यो प्रतियोगिताको अघिल्लो संस्करणमा नेपाल घरेलु मैदानमा च्याम्पियन बन्दै क्रिकेट महाशक्ति भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको थियो।

नेपालको असली परीक्षा

समूह चरणमा कम वरीयताका टोलीसँग प्रत्यासित जित निकालेर सेमिफाइनल पुगेपछि अब भने नेपालको वास्तविक परीक्षा सुरु भएको छ। यूएईसँग नेपालको माथिल्लो स्तरमा प्रतिस्पर्धा भइरहन्छ जसमा उच्च स्तरको प्रतिस्पर्धा हुने गरेको छ।

मलेसियाविरुद्धको खेलमा ब्याटिङ गर्दै दीपेन्द्रसिंह ऐरी। तस्बिर: एसीसी

सन् २०२२ मा ओमनमै भएको विश्वकप छनोटको सेमिफाइनलमा नेपाल यूएईसँगै ६८ पराजित हुँदै विश्वकप पुग्ने अवसरबाट चुकेको थियो। उसो त नेपालले पनि यूएईलाई निराश नबनाएको होइन। अघिल्लो पटक एसिया कप खेल्दा फाइनलमा युएईलाई नै हराएको नेपालले यही वर्ष हुने टी-२० विश्वकप पुग्ने क्रममा मूलपानी मैदानमा युएईलाई ८ विकेटले हराएको थियो।

पछिल्ला पाँच टी-२० खेलमा नेपालले तीन पटक जित निकाल्दा यूएईले २ पटक जित निकालेको छ। आईसीसीको टी-२० वरीयतामा नेपाल १६ औं स्थानमा रहँदा यूएई १७ औं स्थानमा छ।

प्रिमियर लिगमा कस्तो छ प्रदर्शन?

जारी प्रतियोगितामा नेपाल अपराजित छ। समूह ‘ए’ को विजेता बन्ने क्रममा नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन, तेस्रो खेलमा हङकङलाई ८ विकेट र चौथो खेलमा साउदी अरेबियालाई ६ विकेटले हराएको छ।

त्यस्तै समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको यूएईले ओमनसँग ९ विकेटको हार ब्यहोर्दा कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन तथा कम्बोडियालाई ९ विकेटले हराएको थियो।

कम्बोडियाविरुद्ध ब्याटिङमा यूएईमा मोहम्मद वसीम। तस्बिर: इमिरेट्स क्रिकेट

जारी प्रतियोगितामा नेपालका लागि सबैभन्दा उच्च फर्ममा दीपेन्द्रसिंह ऐरी छन्। बलिङ, ब्याटिङ र फिल्डिङ सबैतर्फ उच्च प्रदर्शन गरिरहेका उनले ४ इनिङ्समा १०१ रन र ६ विकेट लिएका छन्।

युएईका ब्याटरले जारी प्रतियोगितामा उच्च प्रदर्शन गरिरहँदा नेपाली बलिङमाथि धेरै दबाब हुने देखिन्छ। जारी प्रतियोगिताको समूह चरण सकिँदा धेरै रन बनाउने पाँच खेलाडीको सूचीमा तीन खेलाडी यूएईकै छन्। यो सूचीमा नेपालका आशिफ शेख सर्वाधिक ११ औं स्थानमा छन्। उनले १२६ रन बनाएका छन्।

शीर्षस्थानमा रहेका यूएईका आशिफ खानले २११, तेस्रो स्थानका अलिसान सरिफुले १८९ र पाँचौं स्थानका मोहम्मद वसीमले १५८ रन बनाएका छन्।

साउदी अरबविरुद्ध ब्याटिङ गर्दै युवा अलराउण्डर गुल्सन झा। तस्बिर: एसीसी

त्यस्तै, बलिङतर्फ नेपालको तर्फबाट अभिनास बोहराले सर्वाधिक ७ विकेट लिँदा यूएईका लागि पनि आयन अफ्जल खानले समान ७ विकेट नै लिएका छन्। ओमनका अक्विब इल्यास ९ विकेट लिँदै सूचीको सबैभन्दा माथि छन्।