BIZMANDU
www.bizmandu.com

सुदूरपश्चिममा सोडारीलाई मुख्यमन्त्री बनाउन एमाले सहमत, प्रदेश प्रमुखसमक्ष दाबी पेस

२०८१ बैशाख ६

सुदूरपश्चिममा सोडारीलाई मुख्यमन्त्री बनाउन एमाले सहमत, प्रदेश प्रमुखसमक्ष दाबी पेस
सुदूरपश्चिममा सोडारीलाई मुख्यमन्त्री बनाउन एमाले सहमत, प्रदेश प्रमुखसमक्ष दाबी पेस

काठमाडौं। नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। नेकपा एमालेको समर्थनपछि सोडारीले प्रदेश प्रमुख नजिर मियाँको कार्यकक्षमा पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

Tata
GBIME
Nepal Life

उनले एमालेका १०, माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक स्वतन्त्र सांसदको समर्थन आफूलाई रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन्।

५२ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसद चाहिन्छ। सोडारीले न्यूनतम संख्या जुटाएर मुख्यमन्त्रीमा दाबी गरेका हुन्।

उनलाई एमालेको समर्थन जुटाउन भने निकै सकस पर्‍यो। एमालेले विवादित पात्र भन्दै सोडारीलाई मुख्यमन्त्री स्वीकार नगर्ने संकेत गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बुधबार राति कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका थिए। त्यसपछि एमालेले नयाँ समीकरण बन्ने डरले सोडारीलाई समर्थन गरेको हो।

एकीकृत समाजवादीले यसअघि नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेको थियो। एकीकृत समाजवादी कांग्रेससँगै लक्ष्मणकिशोरको पक्षमा उभिएपछि केन्द्रको सत्ता गठबन्धनमा समेत हलचल मच्चिएको थियो।

तर प्रदेश प्रमुख मियाँले नागरिक उन्मुक्तिका कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी गरेका कारण एउटै पार्टीका दुई जनाको दाबीले गर्दा निस्कर्षमा पुग्न नसकेको भन्दै वैशाख ४ गते मुख्यमन्त्रीमा दाबी पेस गर्न फेरि २ दिनको समय दिएका थिए। त्यसपछि एकीकृत समाजवादी कांग्रेससँगको गठबन्धनबाट ब्याक भइ आफ्नै नेतृत्वमा सरकार बनाउने कसरतमा लागेको थियो।