BIZMANDU
www.bizmandu.com

अख्तियारको छानबिनमा पर्ने डरले कर्मचारीले काम गर्नै छोडेको सञ्चारमन्त्री शर्माको भनाइ

२०८१ बैशाख ६

अख्तियारको छानबिनमा पर्ने डरले कर्मचारीले काम गर्नै छोडेको सञ्चारमन्त्री शर्माको भनाइ
अख्तियारको छानबिनमा पर्ने डरले कर्मचारीले काम गर्नै छोडेको सञ्चारमन्त्री शर्माको भनाइ

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अख्तियारको छानबिनमा पर्ने डरले कर्मचारीले कामै गर्न छोडेको बताएकी छिन्।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकमको पाँचौं केन्द्रीय अधिवेशन उद्घाटन गर्दै मन्त्री शर्माले पछिल्लो समय कर्मचारीहरुमा त्रासको मनोविज्ञान देखिएकाले यसलाई हटाउनुपर्ने बताइन्।

‘विभिन्न नियमनकारी निकायहरुले निगरानी बढाएको कारण देखाउँदै पछिल्लो समय कर्मचारीले गर्नैपर्ने काममा पनि डराउने गरेको देखिएको छ,’ मन्त्री शर्माले भनिन्, ‘तपाईं कर्मचारीले नडराएर नबिराएर उच्च मनोबलका साथ काम गर्नुपर्छ। कसैले पनि गल्ती गरिएन र कानुनको परिधिभित्र रहेर काम गरियो भने कुनै समस्या आउँदैन।’

गल्ती गर्ने हो भने राजनीतिक वा प्रशासनिक जुनसुकै क्षेत्रमा रहेका व्यक्ति कुनै पनि बेला सजायको भागिदार बन्नुपर्ने उल्लेख गर्दै उनले गल्ती नगर्नेहरु डराउन नपर्ने बताएकी हुन्।

‘बेइमानी नगरौं, बदमासी नगरौं तर कानुनको परिधिभित्र रहेर काम गर्न नडराऔं,’ मन्त्री शर्माले दोहोर्‍याइन्, ‘हामीलाई कतै सोधपुछ हुन्छ कि भन्ने बहानामा कर्मचारीले काम नगर्ने हो भने सुशासन र सेवा प्रवाह झन् कमजोर हुने भएकाले म सबै कर्मचारी साथीहरुलाई कानुनको परिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न आग्रह गर्न चाहन्छु।’

सरकार डिजिटल नेपाल निर्माणको अभियानमा जुटेको उल्लेख गर्दै उनले देशका सबै ठाउँमा दूरसञ्चार सेवा पुर्‍याउन अनिवार्य रहेको बताइन्।

‘हामीले चालु आर्थिक वर्षकै नीति तथा कार्यक्रम र बजेटमा सबै वडा केन्द्रसम्म इन्टरनेट सेवा पुर्‍याउने भनेका छौं तर अहिले पनि कतिपय पालिकामै सेवा नपुगेको गुनासो आइरहेको छ। त्यसैले टेलिकमले अघि सारेका परियोजना जतिसक्यो चाँडो पूरा गर्न आग्रह गर्न चाहन्छु,’ मन्त्री शर्माले भनिन्।