BIZMANDU
www.bizmandu.com

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरिएकामा कांग्रेसको आपत्ति, द्वन्द्व सिर्जना हुने चेतावनी

२०८१ बैशाख ५

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरिएकामा कांग्रेसको आपत्ति, द्वन्द्व सिर्जना हुने चेतावनी
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरिएकामा कांग्रेसको आपत्ति, द्वन्द्व सिर्जना हुने चेतावनी

काठमाडौं। गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरिएकामा नेपाली कांग्रेसले आपत्ति जनाएको छ। प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बुधबार विज्ञप्ति जारी गर्दै अधिवेशन आह्‍वान गरिएकामा आपत्ति जनाएका हुन्।

Tata
GBIME
Nepal Life

उनले प्रदेश प्रमुख डिल्लीराज भट्टमाथि गैरजिम्मेवार भएको आरोप लगाएका छन्। गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई सर्वोच्च अदालतले दीर्घकालीन असर पार्ने खालको निर्णय नगर्न सर्वोच्च अदालतले आन्तरिम आदेश दिएको अवस्थामा उनको सिफारिसमा प्रदेश सभाको अधिवेशन आह्वान गरिनु असंवैधानिक भएको पाण्डेको जिकिर छ।

‘सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेशी समेतलाई बेवास्ता गर्दै अदालतको आदेशको समेत अवहेलना हुने गरी गण्डकी प्रदेश सरकारले विभिन्न नियुक्ति तथा वैशाख ७ गते दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस गर्नु र प्रदेश प्रमुखले बैठक आह्वान गर्नु अर्को गैरजिम्मेवार कदम हो। यसप्रति हाम्रो गम्भिर असहमति छ,’ पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सर्वोच्चले चैत २८ गते अधिकारी नेतृत्वको सरकारलाई मुद्दाको टुङ्गो नलाग्दासम्म दीर्घकालीन प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो।

अधिकारीलाई संविधानविपरीत मुख्यमन्त्री बनाइएको भन्दै पाण्डेले दायर गरेको रिटलाई सर्वोच्चले अग्राधिकार दिई १० गते पेशी तोकेको छ।

पाण्डेले सर्वोच्चको अन्तरिम आदेश तथा संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै प्रदेश सभा बैठक राखे द्वन्द्वको वातावरण सिर्जना हुने र त्यसको जिम्मेवार सत्ता पक्ष हुने चेतावनी दिएका छन्।