काठमाडौं । हिरो मोटोकर्पले भारतीय बजारमा म्याभ्रिक ४४० बाइकको डेलिभरी सुरु गरेको छ। कम्पनीका कार्यकारी अध्यक्ष पवन मुंजालले पहिलो ग्राहकलाई मोटरसाइकलको साँचो हस्तान्तरण गर्दै मोटरसाइकलको डेलिभरी सुरु गरेका हुन्।
यो फ्ल्यागसिप बाइक कम्पनीले प्रिमियम सेग्मेन्टमा फेब्रुअरी २०२४ मा लन्च गरेको थियो।
म्याभ्रिक ४४० बाइकमा कम्पनीले ४४० सीसी इन्जिन उपलब्ध गराएको छ। जसकारण बाइकले २७ बीएचपी पावर र ३६ न्यूटन मिटर टर्क उत्पादन गर्छ। यो बाइकको इन्जिनलाई लो-एन्ड टर्कलाई प्राथमिकता दिने गरि क्यालिब्रेट गरिएको छ। यसले सहरी क्षेत्र र एक्सप्रेसवेमा उत्कृष्ट राइडको अनुभव दिने कम्पनीको दाबी छ।
बाइकको अगाडि ४३ एमएम टेलिस्कोपिक फोर्क र पछाडि ७ स्टेप एडजस्टेबल ट्वीन शक एब्जर्बर रहेको छ। ब्रेकिङका लागि अगाडि ३२० एमएमको डिस्क र डुअल च्यानल एबीएस दिइएको छ। साथै, रियरमा २४० एमएम डिस्क ब्रेक दिइएको छ। बाइकमा ३५ वटाभन्दा बढी कनेक्टिङ फिचर्सहरु प्रदान गरिएको छ। यसका साथै यसमा एलईडी लाइट, डिजिटल स्पीडोमिटर जस्ता सुविधाहरू उपलब्ध गराइएको छ।
म्याभ्रिक ४४० कम्पनीले बेस, मिड र टप गरि तीनवटा भेरियन्टमा उपलब्ध गराएको छ। यो बाइकको मूल्य १.९९ लाख भारतीय रुपैयाँबाट सुरु हुन्छ र यसको टप भेरियन्टको मूल्य २.२४ लाख भारतीय रुपैयाँ राखिएको छ। यसको मिड भेरियन्टको मूल्य भने २.१४ लाख भारतीय रुपैयाँ छ।
यो बाइक नेपाली बजारमा पनि आउने यसको बिक्रेता कम्पनी सीजी मोटर्सले जनाएको छ। हिरोको आधिकारिक बिक्रेता बनेपछि कम्पनीले नवलपरासीमा हिरोको एसेम्ब्ली प्लान्ट समेत स्थापना गरिसकेको छ।
कम्पनीले हिरोका बाइकहरु यही महिनाको २१ गतेसम्म नेपाली बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ। यो बाइक बजेट पछि नेपाली बजारमा आउने कम्पनीले जनाएको छ।