BIZMANDU
www.bizmandu.com

व्यवसाय खुम्चिंदा समेत बढ्यो आरएसडीसी लघुवित्तको नाफा, कुन सूचक कस्तो?

२०८१ बैशाख ३

व्यवसाय खुम्चिंदा समेत बढ्यो आरएसडीसी लघुवित्तको नाफा, कुन सूचक कस्तो?
व्यवसाय खुम्चिंदा समेत बढ्यो आरएसडीसी लघुवित्तको नाफा, कुन सूचक कस्तो?

काठमाडौं। व्यवसाय खुम्चिंदा समेत आरएसडीसी लघुवित्तको नाफा ३०.३४ प्रतिशतले बढेको छ। चालु आवको तेस्रो त्रैमाससम्म लघुवित्तले ११ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ।

Tata
GBIME
Nepal Life

गत वर्ष सोही अवधिमा लघुवित्तले ८ करोड ६० लाख रुपैयाँ नाफा गरेको थियो। खुद ब्याज आम्दानी घटे पनि इम्पेयरमेन्ट चार्ज र खर्च घटाएपछि लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

गत आर्थिक वर्ष चैतसम्म ७ करोड ३७ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज चालु आर्थिक वर्ष सोही अवधिसम्ममा ५५ लाख रुपैयाँ रिभर्स भएपछि खुद नाफा बढ्न पुगेको हो।

तेस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको कर्जा लगानी १.८० प्रतिशतले घटेको छ। पोहोर ९ महिनामा ६ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको लघुवित्तले यसपालि चैतसम्म ६ अर्ब ५९ करोड कर्जा प्रवाह गरेको छ। कर्जा लगानी खुम्चिएका कारण लघुवित्तको फि आम्दानी समेत घट्न पुगेको छ।

चैतसम्म लघुवित्तको खुद फि तथा कमिसन आम्दानी ४८.०३ प्रतिशतले घटेर १ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा लघुवित्तले २ करोड १४ लाख रुपैयाँ खुद फि तथा कमिसन आर्जन गरेको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३.४८ प्रतिशतले घटेको छ। उसले यो वर्ष चैतसम्म १८ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १६.०३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३०.३० प्रतिशत बढेको छ। वितरणयोग्य मुनाफा ८ करोड ६१ लाख रुपैयाँ छ।

चैतसम्म लघुवित्तको प्रति सेयर आम्दानी १५.८३ रुपैयाँ छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.६४ रुपैयाँ बढी हो। लघुवित्तको मूल्य आम्दानी अनुपात ३८.१ गुणा तथा प्रति सेयर नेटवर्थ १२४.६९ रुपैयाँ छ।

लघुवित्तको खराब कर्जा भने बढेको छ। गत वर्ष चैतमा १.३७ प्रतिशत रहेको खराब कर्जा अहिले २.९९ प्रतिशत पुगेको छ। कर्जा असुली प्रभावित हुँदा लघुवित्तको खराब कर्जा बढ्न पुगेको हो।