BIZMANDU
www.bizmandu.com

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा मोटरबोट सञ्चालनमा, कति लाग्छ शुल्क ?

२०८१ बैशाख २

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा मोटरबोट सञ्चालनमा, कति लाग्छ शुल्क ?
आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा मोटरबोट सञ्चालनमा, कति लाग्छ शुल्क ?

काठमाडौं। आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्‍चालन गरेको छ।

Tata
GBIME
Nepal Life

मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरि आइतबारदेखि व्यावसायिक रुपमा मोटरबोट सञ्‍चालन गरेको बोटेबोरा प्रालिका अध्यक्ष बीबी (बिष्णु) ढकालले जानकारी दिए।

ढकालका अनुसार जलाशयमा तत्काल १ करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्‍चालन गरिएको हो। कम्पनीले थप लगानी गरी जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, ‘फ्लोटिङ डेक’, ‘रिभर भ्यु पोइन्ट’, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितका संरचना बनाउने योजना छ।

नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेका अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्‍चालनमा ल्याइएको हो।

आइतबार मोटरबोटको उद्घाटन गर्दै गण्डकी प्रदेशका बिना विभागीयमन्त्री हरि बहादुर चुमानले विभिन्‍न अप्ठ्यारो छिचोल्दै मोटरबोट सञ्‍चालन गर्न सफल भएकोमा खुसी व्यक्त गरे। आगामी दिनमा अन्तरपालिका पर्यटन प्रवर्धनमा पालिकाहरू अग्रसर हुनुपर्नेमा चुमनले जोड दिए।

तनहुँकै अग्लो स्थान आँबुखैरेनीको छिम्केश्वरी र पहाडकी रानी बन्दिपुर जोड्ने बाटोको स्तरोन्‍नती गरि यस क्षेत्रको पर्यटन प्रवर्धन र ग्रामीण जीवन सहज बनाउने प्रदेश सरकारको योजना रहेको चुमानले बताए। ऐना पहरा, छिम्केश्वरी, होमस्टे लगायतका विभिन्‍न गन्तब्यको प्रवर्धन गर्दै पालिकालाई पर्यटकीय हब बनाउन लागिपरेको आबुँखैरेनीले २ वर्षको पहलपछि मोटरबोट सञ्‍चालन गर्न सफल भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए।

कति लाग्छ शुल्क ?

मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक-फरक शुल्क कायम गरिएको छ। मोटरबोटमा सयर गर्न ६ देखि ८ मिनेटसम्म प्रतिव्यक्ति २५० रुपैयाँ, १० देखि १२ मिनेटको लागि ५ सय रुपैयाँ र १५ देखि २० मिनेटका लागि १ हजार रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ।

कसरी पुग्ने ?

मुग्लिनबाट पोखरातर्फ १४ किलोमिटर र डुम्रे बजारबाट काठमाडौंतर्फ १० किलोमिटर यात्रा गरेपछि बोटेबोराको मोटरबोट स्टेसन पुगिन्छ।

स्टेसन आँबुखैरेनीबाट ३ किलोमिटर दूरीमा अवस्थित छ। उक्त रुटमा यात्रा गर्न सार्वजनिक यातायात सहजै पाइन्छ भने आफ्नै सवारीमा जाँदा पार्किङको समेत सुविधा छ।