BIZMANDU
www.bizmandu.com

नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग २४ घण्टा खोल्ने गरि तयारी पूरा, गृहमन्त्रीले उद्घाटन गर्ने

२०८० चैत्र २९

नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग २४ घण्टा खोल्ने गरि तयारी पूरा, गृहमन्त्रीले उद्घाटन गर्ने
नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग २४ घण्टा खोल्ने गरि तयारी पूरा, गृहमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग २४ घण्टा नै खुला हुने भएको छ। सरकारले २४ घण्टा सेवा संचालन गर्न अनुमती दिएसँगै नयाँ वर्ष २०८१ देखि ठमेल र दरबारमार्गमा पूर्णकालिन सेवा सुरु हुने भएको हो।

Tata
GBIME
Nepal Life

ठमेल पर्यटन विकास समिति र दरबार विकास बोर्डले आज पत्रकार सम्मेलन गरेर ठमेल र दरबारमार्गमा पूर्णकालिन सेवा सुरु हुनेबारे जानकारी दिएको हो। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नयाँ वर्षका दिन साँझ ६ ठेमल र दरबारमार्ग पूर्णकाली संचालनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ।

यससँगै थप रोजगारी सिर्जना हुने र अर्थतन्त्र पनि चलायमान भएर थप टेवा पुग्ने ठमेल पर्यटन विकास समितिका अध्यक्ष भविश्वर शर्माले बताए।

‘आन्तरिक र विदेशी पर्यटकले पूर्ण सुरक्षाको अनुभूति गर्दै सेवा लिन सक्नु गरि तयारी गरेका छौं,’ उनले भने।

मानिसको बसोबास रहेको ठमेलको भगवान बहाल क्षेत्रमा भने राति १० बजे पछि व्यावसायिक क्रियाकलाप बन्द हुनेछ। स्थानीयले स्वीकृति दिएसँगै निकट भविष्यमा सो क्षेत्रमा पनि सेवा दिने तयारी रहेको उनले बताए।

शर्माका अनुसार हाल ठमेल क्षेत्रमा ६० हजार जनाले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगार पाउँदै आएका छन्। यस्तै, प्रति दुई वर्ग किलोमिटर क्षेत्रमा ८ हजार ५०० व्यवसायी छन्।

दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जयराज अधिकारीले पनि पूर्णकालिन सेवाले रोजगारी सिर्जनामा विशेष टेवा पुर्‍याउने बताए।

हाल महानगरले दरबारमार्गको सडक छेउमा पार्किङ निषेध गरेको छ। पार्किङको समस्यालाई मध्यनजर गर्दै रात्रीकालीन व्यवसायलाई असर नहुने व्यवस्थापन गर्ने तयारी रहेको पनि उनले बताए।

हाल दरबारमार्गमा करिब दुई सय जना व्यवसायीले व्यवसाय संचालन गरिरहेका छन्। यस्तै करिब ७ हजार जनाले त्यहाँ रोजगार पाएका छन्।

यी दुई क्षेत्रमा पूर्णकालीन सेवा सुरु भएसँगै देशका अन्य सम्भावित गन्तव्य पनि २४ घण्टा नै खुला गर्ने तयारी व्यवसायीको छ।