BIZMANDU
www.bizmandu.com

अर्थतन्त्रमा संकट कायमै रहेको चेम्बर अध्यक्ष मल्लको जिकिर, श्रेष्ठले भने: सँगै बसेर काम गरौं

२०८० चैत्र २७

अर्थतन्त्रमा संकट कायमै रहेको चेम्बर अध्यक्ष मल्लको जिकिर, श्रेष्ठले भने: सँगै बसेर काम गरौं
अर्थतन्त्रमा संकट कायमै रहेको चेम्बर अध्यक्ष मल्लको जिकिर, श्रेष्ठले भने: सँगै बसेर काम गरौं

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र सुधारका संकेत देखिए पनि संकट कायम नै रहेको बताएका छन्।

Tata
GBIME

आज राजधानीमा आयोजित ७३ औं साधारण सभामा उनले राजश्व लक्ष्य अनुसार नभएको भन्दै संकट कायम नै रहेको बताएका हुन्।

‘बैंक तथा वित्तीय संस्थामा अधिक तरलता छ।  पूँजीगत खर्च ३० प्रतिशत मात्र छ। आर्थिक लक्ष्य हासिल गर्न विभिन्न कारणले भएको छैन,’ उनले भने।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल

सो कार्यक्रममा उनले  अर्थतन्त्र आयातमुखी रहेको भन्दै तुलनात्मक लाभ भएका प्रविधि क्षेत्रमा विदेशी लगानी भित्र्याउन जरुरी रहेको विचार राखे। उनले लगानी भित्र्याउन संसदमा विचाराधीन कानुन तत्काल पारित गर्नुपर्नेमा जोडसमेत दिए।

उनले किसानलाई कर्जा दिनेबारे भने, ‘कर्जा खेत किन्नेलाई होइन खेती गर्नेलाई दिनुपर्छ। कार्यान्वयन गर्न सकिने कुरा मात्र ल्याउनु पर्छ। बजेट कनिका छर्ने खालको हुनु हुन्न।’

सो कार्यक्रममा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठले सरकारको अहिलेको मुख्य कार्यभार आर्थिक कार्यभार रहेको बताएका थिए। उनले पुँजी र व्यापार घाटालाई केन्द्रमा राखेर काम गर्नुपर्ने भन्दै परम्परागत ढंगले सोचेर आर्थिक सामाजिक रुपान्तरण गर्न नसकिने बताए।

उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ

‘रेमिटेन्स, भन्सार र विदेशी सहयोगको अपेक्षा गरेर देश चलाउन सकिँदैन। पुँजी निर्माण र व्यापार घाटा नैं कम गर्नु पर्छ,’ उनले भने।

उनले सरकार र निजी क्षेत्रसँगै बसेर काम गर्नुपर्ने भन्दै भने ‘कानुन के संशोधन गर्ने बजेटमा के के प्राथमिकता निर्धारण गरेर जाउँ। जे आवश्यक छ त्यही गरेर अघि बढौ भन्ने मेरो प्रस्ताव छ।’

श्रेष्ठले त्यस अवसरमा लगानी सम्मेलन सफल सबैलाई आह्वान गरिरहेको भन्दै कानुन संशोधनका लागि तयार नै रहेको दोहोर्‍याएका थिए।