BIZMANDU
www.bizmandu.com

चितवनमा औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला हुने, कम्प्युटर, ल्यापटप र प्रिन्टरको निःशुल्क मर्मत

२०८० चैत्र २७

चितवनमा औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला हुने, कम्प्युटर, ल्यापटप र प्रिन्टरको निःशुल्क मर्मत
Photo : Federation of Computer Association Nepal

चितवन । उद्योग संघ चितवनको आयोजना तथा कम्प्युटर एसोसिएसन नेपाल महासंघको सहआयोजनामा यही बैशाख ७ गतेदेखि औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला २०८० हुने भएको छ।

Tata
GBIME

स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरणमार्फत उद्यमशीलता विकासका लागि मेला गर्न लागिएको हो।

प्रदर्शनीमा १५० कक्ष रहने उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले जानकारी दिए। संघले निर्माण गरेको प्रदर्शनी केन्द्रमा आयोजना गर्न लागिएको प्रदर्शनीमा स्वदेशी तथा विदेशी २५ हजार जनाले अवलोकन गर्ने अपेक्षा लिइएको छ।

आगामी बैशाख ११ गतेसम्म संचालन हुने प्रदर्शनीमा ‘स्टार्ट अप’ सेमिनार र नेपालको वर्तमान औद्योगिक नीतिसम्बन्धी छलफलसमेत हुनेछ।

प्रदर्शनी अवधिमा शून्य प्रतिशत ब्याजदरसहित किस्ताबन्दीमा ल्यापटप खरिद गर्न सकिने महासंघका अध्यक्ष टेकलाल भुसालले जानकारी दिए।

सो मेलामा कम्प्युटर, ल्यापटप तथा प्रिन्टरको निःशुल्क मर्मत गरिने आयोजकले जनाएका छन्।

भरतपुर भ्रमण वर्ष–२०२४ लाई दृष्टिगत गरि आयोजना गर्न लागिएको प्रदर्शनीमा अनलाइनमार्फत रजिष्ट्रेसन गरेर आउने अवलोकनकर्तामध्ये दैनिक तीनजनालाई पुरस्कृत गरिनेछ।

अर्थतन्त्रमा परेका प्रभावका कारण उद्योग व्यापार सुस्ताएको समयमा गर्न लागिएको मेलाले यहाँको अर्थतन्त्र चलायमान बनाउने अपेक्षा आयोजकको छ।