BIZMANDU
www.bizmandu.com

१३ वर्षीया बालिकाको चलाखीबाट आनन्द महिन्द्रा प्रभावित, दिए जागिरको अफर

२०८० चैत्र २६

१३ वर्षीया बालिकाको चलाखीबाट आनन्द महिन्द्रा प्रभावित, दिए जागिरको अफर
Photo: ANI

भारतको उत्तर प्रदेश राज्यकी १३ वर्षीया बालिकाको चलाखीपनको धेरैले तारिफ गरिरहेका छन्। अमेजोन एलेक्सा डिभाइसको प्रयोग गरेर उनले आफ्नो घरमा छिरेका बाँदरहरूलाई धपाएपछि उनी इन्टरनेटमा छाएकी छन्

Tata
GBIME
Nepal Life

इन्टरनेटमा भाइरल भएको भिडियोमा निकिताले आफूले कसरी बाँदरहरू धपाउन सफल भइन् भनेर बताएकी छन्। केही पाहुनाहरू आउँदा गेट खुला भएको मौका छोपेर बाँदरको एक बथान उनको घरमा छिरेका थिए। घरमा उनी र १५ महिनाकी भतिजी थिए।

‘बाँदरहरू भान्साकोठामा पसे र यताउता भाँडाहरू फाल्न थाले। नानी डराएकी थिइ र म पनि। तर मैले एलेक्सालाई देखेँ र कुकुरको आवाज बजाउन भनेँ। डिभाइसबाट कुकुर भुकेको आवाज आउन थालेपछि बाँदरहरू डराए र भागे,’ एएनआईलाई उनले भनेकी छन्।

निकिताको चलाखीपनबाट महिन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्रा प्रभावित भएका छन्। उनले भनेका छन्, ‘यी किशोरीको कथाले टेक्नोलोजी सधैं मानव चलाखीपनको पक्षमा हुनेछ भने दर्शाउँछ।’

उनले भविष्यमा निकिता महिन्द्रा राइजमा सामेल हुनेछिन् भन्ने आशा व्यक्त गरेका छन्।

महिन्द्राले भनेका छन्, ‘उनको क्विक थिंकिङ असाधारण थियो। उनले जे देखाइन् त्यो पूर्णतया अप्रत्याशित संसारमा नेतृत्वको सम्भावना थियो। आफ्नो शिक्षा पूरा गरेपछि यदि उनले कर्पोरेटमा काम गर्ने निर्णय गरिन् भने हामी @MahindraRise मा उनलाई सामेल गराउन प्रयत्न गर्नेछौं!!’

निकिताले आनन्द महिन्द्राको प्रस्तावमा खुशी व्यक्त गरेकी छन् भने उनीसँग काम गर्ने इच्छा पनि व्यक्त गरेकी छन्। उनले भर्खरै कक्षा १० को परीक्षा दिएकी छन्।

मोबाइल मर्मत गर्ने पसल चलाउने निकिताका बाबु धीरेन्द्र पाण्डे आफ्नी छोरी र परिवारले पाएको चर्चाप्रति चकित छन्। निकिताका भिनाजु पंकज ओझाले एलेक्सा डिभाइस आफूले दुई वर्षअघि उपहार दिएको खुलासा गरे। एलेक्सा अमेजनको होम कन्ट्रोल डिजिटल ग्याजेट हो।

अमेजोनको क्लाउडमा आधारित भ्वाइस इन्टरएक्टिभ स्मार्ट स्पीकरका रूपमा परिचित एलेक्सा यस परिस्थितिमा अत्यन्त महत्त्वपूर्ण साबित भएको छ।