BIZMANDU
www.bizmandu.com

चौंथो मञ्जुश्री ट्रेल रेसमा ३२४ धावक, विजेता एसिया ट्रेल मास्टर्समा छनोट हुने

२०८० चैत्र २३

चौंथो मञ्जुश्री ट्रेल रेसमा ३२४ धावक, विजेता एसिया ट्रेल मास्टर्समा छनोट हुने
चौंथो मञ्जुश्री ट्रेल रेसमा ३२४ धावक, विजेता एसिया ट्रेल मास्टर्समा छनोट हुने


काठमाडौं। खेल पर्यटन अन्तर्गत चौंथो मन्जुश्री ट्रेल रेस सुरू भएको छ। शुक्रबार सुरु भएको १०० माइल दूरीको दौडमा ४० विदेशीसहित ३२४ धावक सहभागी छन्।

Tata
GBIME
NLIC

दुई दिन विभिन्न चरणमा हुने दौड प्रतियोगितामा सहभागी धावकमध्ये २८९ जना महिला हुन्।

आयोजक संस्थाका अध्यक्ष सुवास थापाका अनुसार दौडमा प्रिया राई, मसफुमी यमाटो, मनकुमार रोका मगर, अर्जुन कुलुङ राई, निक पिलापिल, सोफी सरन्या महाकनोक लगायत चर्चित धावक पनि सहभागी छन्।

धावकहरु शिवपुरी, नगरकोट, फूल्चोकी, चम्पादेवी, भस्मासुर र चन्द्रागिरि पुग्नेछन्। धावकलाई सहज बनाउन १९ वटा चेक प्वाइन्ट राखिएका छन्। जहाँ खानेकुरा र आधारभूत औषधिको व्यवस्था रहेको आयोजकले जनाएको छ।

‘यो सगरमाथाको भन्दा बढी उचाइ गेन गरिने रेस हो,’ एसिया ट्रेल मास्टर च्याम्पियन रशिला तामाङले भनिन् ‘सय माइलको मञ्जुश्री ट्रेल रेस पार गर्दा विभिन्न चुचुरा चढ्ने र झर्ने गर्दा १२ हजार ६९५ मिटरको उचाई गेन गरिन्छ।’

१०० किलोमिटरको दौड शुक्रबार राति ८ बजे झुलेबाट, ५० किलोमिटरको दौड शनिबार बिहान ७ बजे बडिखेलबाट र ३० किलोमिटरको केभीआर स्टेज रेस शनिबार बिहान ८ बजे फर्पिङबाट सुरू हुने छ।

चौंथो मन्जुश्री ट्रेल रेसका धावक

अध्यक्ष थापाका अनुसार, यो संस्करणले एसिया ट्रेल मास्टर्सको छनोट खेलको मान्यता पाएको छ। १०० माइल, १०० किलोमिटर र ५० किलोमिटर दौडमा पाँचौं स्थानभित्र आउने खेलाडी एसिया ट्रेल मास्टर्समा छनोट हुनेछन्।

दौडका विजेताले दूरी अनुसार १० हजारदेखि ६० हजार रुपैयाँसम्म पुरस्कार पाउनेछन्।