काठमाडौं। सरकारले एक दर्जन सचिव सरुवा गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा जलस्रोत तथा सिंचाइ लगायत मन्त्रालयमा सचिवहरु हेरफेर गरेको हो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका दुवै सचिव मुकुन्द निरौला र नारायणप्रसाद शर्मा दुवाडीलाई अन्यत्र सरुवा गरी उनीहरुको स्थानमा कृष्णबहादुर राउत र दिनेशकुमार घिमिरेलाई ल्याइएको छ।
राउत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र घिमिरे मधेश प्रदेशमा कार्यरत थिए। घिमिरे गत भदौमा सचिवमा बढुवा भएका हुन्। निरौलालाई उपराष्ट्रपतिको कार्यालयमा पठाएर त्यहाँ कार्यरत मधुसुदन बुर्लाकोटीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ।
सचिव देवकुमारी गुरागाईंले फागुन अन्तिम साता अवकाश पाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवको पद खालि थियो।
२०७८ असारमा सचिव भएका बुर्लाकोटीले बढुवापछि पहिलोपटक मन्त्रालयमा काम गर्ने अवसर पाएका हुन्। दुवाडीलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा यसअघि कार्यरत दीपक काफ्लेको स्थानमा ल्याइएको छ।
यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा घनश्याम उपाध्यायको सरुवा भएको छ। बागमती प्रदेशको मुख्य सचिवबाट मन्त्रालयमा सरुवा भएका उपाध्याय गत असारमा बढुवा भएका हुन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा केवलप्रसाद भण्डारीले चैत पहिलो साता अवकाश पाएपछि सचिव पद खालि थियो।
श्रममन्त्री डीपी अर्यालको रोजाइमा उपाध्यायको सरुवा गरिएको हो। रास्वपाका सभापति रवि लामिछानेले २०७९ पुसमा नेपाली नागरिकता लिंदा उपाध्याय काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए।
लामिछानेको चाहनामा यसअघि गृहसचिव हेरफेर गरिएको थियो। उनको चाहनामा प्रधानमन्त्री कार्यालयमा कार्यरत एकनारायण अर्याललाई गृह लगेर त्यहाँ कार्यरत दिनेश भट्टराईलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको चाहना अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गोपालप्रसाद सिग्देलको सरुवा गरिएको छ। सिग्देल यसअघि ऊर्जा मन्त्रालयमा थिए।
केशवकुमार शर्मालाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी आयोगमा कार्यरत सरिता दवाडीलाई ऊर्जा मन्त्रालयमा लगिएको छ। दवाडीलाई ऊर्जा मन्त्रालयमा सिंचाइतर्फको जिम्मेवारी दिइएको छ। सिंचाइतर्फका सचिव शुशीलचन्द्र तिवारीलाई ऊर्जाको जिम्मेवारी दिइएको छ।
शर्मा २०७९ माघमा सिंचाइ मन्त्रालयबाट भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा भएका थिए। त्यतिखेर सिग्देललाई भौतिक मन्त्रालयबाट ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा सरुवा गरिएको थियो।
मन्त्रिपरिषद्को चैत १५ गते बसेको बैठकले सचिव सरुवाको निर्णय गरेपनि सरकारकी प्रवक्ता रेखा शर्माले १६ गते सार्वजनिक गरेको निर्णय सूचीमा भने यो विषय समावेश छैन।