BIZMANDU
www.bizmandu.com

खर्बौं रकम उठाएर अपचलन, ‘क्रिप्टो किङ’ बैंकम्यान फ्राइडलाई २५ वर्ष जेल सजाय

२०८० चैत्र १६

खर्बौं रकम उठाएर अपचलन, ‘क्रिप्टो किङ’ बैंकम्यान फ्राइडलाई २५ वर्ष जेल सजाय
खर्बौं रकम उठाएर अपचलन, ‘क्रिप्टो किङ’ बैंकम्यान फ्राइडलाई २५ वर्ष जेल सजाय

असफल भएको क्रिप्टो एक्सचेन्ज ‘एफटीएक्स’ का सहसंस्थापक स्याम बैंकम्यान फ्राइडलाई २५ वर्षको जेल सजाय सुनाइएको छ। कुनै बेला विश्वकै ठूलो क्रिप्टो करेन्सी एक्सचेन्ज संचालन गरेका बैंकम्यानलाई आर्थिक धोखाधडीको आरोपमा सजाय सुनाइएको हो।

Tata
GBIME
Nepal Life

गत कार्तिकमा उनी आर्थिक धोखाधडी र सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर भएका थिए। बिहीबार अमेरिकी अदालतले ‘क्रिप्टो किङ’ भनेर चिनिने फ्राइडलाई सजाय सुनाएको हो।

३२ वर्षीय पूर्व बिलिनियर फ्राइडलाई उनको कम्पनी एफटीएक्स ‘बैंकरप्ट’ भएपछि सन् २०२२ मा पक्राउ गरिएको थियो।

बैंकम्यान फ्राइडले एफटीएक्सलाई ३२ बिलियन अमेरिकी डलर (करिब ४३ खर्ब रुपैयाँ) को कम्पनी बनाएका थिए। पछि उनले जानीजानी ‘क्लाइन्ट’को रकम हिनामिना गरेको ठहर अदालतको छ। उनले १० खर्बभन्दा बढी रकम अपचलन गरेको ठहर गरिएको छ।

फ्राइडले अमेरिकाको इतिहासमा नै ठूलो आर्थिक धोकाधडी गरेको स्थानीय समाचारमाध्यमले उल्लेख गरेका छन्। उनले आफैलाई क्रिप्टो किङ बनाउन मल्टी बिलियन डलर स्किम डिजाइन गरेका थिए।

बैंकम्यान फ्राइड माथि लगानीकर्तासँग झुटो बोलेको, क्रिप्टो करेन्सी एक्सचेन्ज एफटीएक्सबाट बिलियन डलर रकम चोरी गरेको, कम्पनी डुबाउन साजिश गरेकोसहित धोकाधडी र सम्पत्ति शुद्धीकरणमा ‘७ काउन्ट’ मुद्दा दर्ता गरिएको थियो।

बैंकम्यान फ्राइडले भने आफूमाथि लगाइएका सबै आरोपको खण्डन गरेका थिए। उनले आफूले गल्ती गरे पनि राम्रो मनसायले काम गरेको दाबी गरेका थिए।

अदालतका न्यायाधीश लुइस कप्लानले सजाय सुनाउनु अघि बैंकम्यानले जानीजानी सो अपराध गरेको बताएका थिए।

काननी रुपमा यसअघि बैंकम्यान फ्राइडले १०० वर्षसम्म जेल सजाय पाउने अनुमान गरिएको थियो। तर त्यति लामो जेल सजाय आवश्यक नपर्ने भन्दै सरकारी वकिलले ४० वर्ष जेल सजाय माग गरेका थिए।

बैंकम्यान फ्राइडका वकिलले भने सजायविरुद्ध पुनरावेदन दिने तयारी गरेका छन्।