काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं संस्करण आजबाट सुरु हुँदैछ। १० टोलीको प्रतिस्पर्धा रहने यो प्रतियोगताको उद्घाटन खेलमा आज चेन्नइ सुपर किंग्स र रोयल च्यालेन्जर बेङ्ग्लुरु भिड्दैछन्।
उद्घाटन खेल चेन्नइस्थित एमए चिदम्बरम स्टेडियममा नेपाल समय अनुसार सवा ८ बजे सुरु हुनेछ। भारतीय टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनी र विराट कोहली क्रमश: चेन्नइ र बेङ्ग्लोरमा रहे पनि यी दुबैले आफ्नो टोलीको कप्तानी भने गर्नेछैनन्। चेन्नइको कप्तानी ऋतुराज गाइक्वडले सम्हाल्ने छन् भने बेङ्ग्लोरको कप्तानीमा फाफ डुप्लिसिसले निरन्तरता पाउनेछन्।
धोनीको कप्तानी बिना चेन्नई पहिलोपटक आइपीएलमा उत्रिन लागेको हो। यसअघि आइपीका केही खेलमा धोनीले कप्तानी नगरे पनि आधिकारिक रुपमा नै कुनै सिजनमा कप्तानी नगरेको यो पहिलो सिजन हुनेछ।
खेलअघि उद्घाटन समारोहमा अक्षय कुमार, रामाचरन, सूर्या टाइगर श्रफजस्ता सेलिब्रेटीले पर्फमेन्स दिनेछन्। उनीहरुले चर्चित ‘नाटू नाटू’ गीतमा पर्फमेन्स दिने टाइम्सअफ इण्डियाले जनाएको छ। त्यस्तै एआर रहमान, सोनु निगम उद्घाटन समारोहको आकर्षणका रुपमा रहनेछन्।
प्रतियोगिताका लागि विभिन्न ५० वटा शहरहरुमा फ्यानपार्क बनाइएको छ। त्यस्तै डीजे अक्सवेलले ‘मिड इनिङ् सो’ प्रस्तुत गर्नेछन्।
चेन्नइ आईपीएलको पाँच पटकको च्याम्पियन हो। बेङ्ग्लोरले भने हालसम्म उपाधि जित्न सकेको छैन। आईपीएलमा यी दुई टोली ३१ पटक आमनेसामने हुँदा चेन्नइले २० र बेङ्ग्लुरुले १० पटक जितेका छन्। एक खेल नतिजाविहीन भएको थियो।
हालै वुमेन्स प्रिमियर लिग बेङ्ग्लोले जितेको थियो। त्यसैले पनि आइपीएलमा उपाधी जित्न बेङ्ग्लोरको टोलीलाई दबाब छ।
टिम आरसीबी
ब्याटिङ लाइनअपको कुरा गर्दा बेङ्ग्लोर सँधैझै बलियो देखिन्छ। फाफ डुप्लिसिस, बिराट कोहली, ग्लेन म्याक्सवेल, क्यामरन ग्रीन, दीनेश कार्तिकजस्ता ब्याटरले कुनै पनि समयमा खेलको मोमेन्टमलाई उल्टाउन सक्छन्। त्यस्तै बलिङमा अल्जारी जोसेफ, यस डायल, लकी फर्ग्युसनलगायतको उपस्थितिले प्रभावशाली प्रदर्शन बेङ्ग्लोरको रहन सक्छ।
चेन्नइको पिचमा स्पीनरहरुले प्रभावशाली प्रदर्शन गर्दै आएका छन्।
टिम मेम्बर: फाफ डुप्लिसिस (कप्तान), आकाश दीप, अनुज रावत, मनोज भंगडे, सौरभ चौहान, टम करन, मयंक डागर, लकी फर्ग्युसन, क्यामरुन ग्रीन, विल ज्याक्स, अल्जारी जोसेफ, दिनेश कार्तिक, विराट कोहली, महिपाल लोमरोर, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, रजत पटिदार, सुयस प्रभु देशाइ, रजन कुमार, हिमांशु शर्मा, कर्ण शर्मा, स्वप्निल सिंह, रीस टोप्ली, विजयकुमार व्यासक, यस डायल
टिम चेन्नइ सुपर किंग
चेन्नइसँग यसपटक बलियो ब्याटिङ लाइनअप छ। ओपनर गायक्वडले अघिल्लो सिजन १ शतक र ११ अर्धशतकको सहायतामा १ हजार ५९३ रन बनाएका थिए। उनलाई रचिन रवीन्द्र सहयोग गर्न सक्छन्। तेस्रो नम्बरमा अजिन्क्य रहाणे आउन सक्छन्। त्यस्तै मिडल अर्डरमा मोइन अली, रवीन्द्र जडेजा, महेन्द्रसिंह धोनी जस्ता खेलाडी हुनेछन्। तल्लो क्रममा पनि शार्दुल ठाकुर, शिवम दुवेलगायत छन्।
बलिङमा मुस्तफिजुर रहमान र ठाकुरको उपस्थितिले डेथ ओभरमा चेन्नइ बलियो देखिन्छ। यसबाहेक रवीन्द्र जडेजा, मोइन अली, महीन थिक्सनाको बलियो प्रभाव हुनेछ।
टिम मेम्बर: रुतुराज गाइक्वड (कप्तान), मोइन अली, अराभेली अविनास, दीपक चाहर, डेभोन कोन्वे, तुषार देशपाण्डे, महेन्द्र सिंह धोनी, शिवम दुबे, राजवर्धन हंगरगेकर, रवीन्द्र जडेजा, अजय मण्डल, डेरिल मिचेल, मुकेश चौधरी, मुस्ताफिजुर रहमान, मथिसा पथिराना, अजिंक्य रहाणे, शेख रशीद, रचिन रवीन्द्र, समीर रिजवी, मिचेल सेन्टनर, सिमरजीत सिंह, निशान्त सिन्धु, प्रशान्त सोलङ्की, शार्दुल ठाकुर, महिश थिक्सेना