काठमाडौं। नेपालमा बढ्दो विद्युतीय कार, जीप र भ्यानको आयातमा ‘ब्रेक’ लागेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुनमा इभी गाडी आयात कम भएको हो।
सो महिना २७६ युनिट मात्र विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्। चीनबाट मात्रै २५८ युनिट इभटी गाडी आयात भएको छ। भारतबाट भने एक युनिट पनि इभी गाडी आयात भएका छैन।
माघ महिना १ हजार १०० युनिटभन्दा बढी विद्युतीय कार, जीप र भ्यान आयात भएको थियो। फागुन महिना भने इभी गाडी आयातमा ह्वात्तै ‘ब्रेक’ लागेको हो। माघ महिनामा १ हजार १४२ युनिट विद्युतीय गाडी आयात भएका थिए।
फागुन महिनामा ७७ करोड ८८ लाख रुपैयाँ बराबरको २७६ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएको तथ्यांकमा उल्लेख छ। चालु आर्थिक वर्षमा हालसम्म १५ अर्ब ८१ करोड रुपैयाँ बराबरको ६ हजार १५९ युनिट विद्युतीय गाडी आयात भएका छन्। यसबाट सरकारले ६ अर्ब ९९ करोड रुपैयाँ राजश्व संकलन गरेको छ।
इन्धन सवारी तर्फ फागुनसम्म ५ अर्ब ९५ करोड रुपैयाँ बराबरको ४ हजार ६६३ युनिट कार, जीप, भ्यान र बसहरु आयात भएका छन्। जसबाट सरकारले १० अर्ब २४ करोड रुपैयाँ राजश्व संकलन गरेको छ। फागुनमा मात्रै इन्धन सवारी तर्फ ९०५ युनिट गाडी आयात भएको देखिन्छ।
यसैगरि, फागुनसम्म ९ अर्ब ५५ करोड रुपैयाँ बराबरको ८१ हजार ७२९ एसेम्बल र अनएसेम्बल बाइक तथा स्कुटरहरु आयात भएका छन्। यसबाट सरकारले ९ अर्ब ८९ करोड रुपैयाँ राजश्व संकलन गरेको छ। फागुन महिना ११ हजार ७६३ युनिट बाइक तथा स्कुटरहरु आयात भएको विभागले जनाएको छ।