BIZMANDU
www.bizmandu.com

मलेसिया-काठमाडौं उडानमा एयर एसियाको कमब्याक, युनिभर्सलले राख्यो २५ करोड बैंक ग्यारेन्टी

२०८० चैत्र ४

मलेसिया-काठमाडौं उडानमा एयर एसियाको कमब्याक, युनिभर्सलले राख्यो २५ करोड बैंक ग्यारेन्टी
मलेसिया-काठमाडौं उडानमा एयर एसियाको कमब्याक, युनिभर्सलले राख्यो २५ करोड बैंक ग्यारेन्टी

काठमाडौं। मलेसियाको लो कस्ट बजेट एयरलाइन्स एयर एसियाले पाँच वर्षपछि काठमाडौंमा पुनः उडान गर्ने भएको छ।यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सेवा प्रयोग गरेबापतको बक्यौता नतिरी उडान बन्द गरेको एयर एसियाले पुनः उडान थाल्न बक्यौताको किस्ता तिर्न थालिसकेको छ।

Tata
GBIME
Nepal Life

यो वायुसेवाको नाममा जरिवानासहित २५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेकामा १ करोड २५ लाख रुपैयाँ तिरेको छ।कम्पनीको जीएसएले २५ करोड रुपैयाँ बैंक ग्यारेन्टी राखेर क्वालालाम्पुर-काठमाडौं पुनः उडान गर्ने तयारी गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीले जानकारी दिए।

‘एयर एसियाले बैंक ग्यारेन्टी राखेर इन्स्टलमेन्ट तिर्न सुरु गरेको छ। जरिवानाबाहेक १८ करोड रुपैयाँ बक्यौता रहेको वायुसेवाले गत फेब्रुअरी अन्तिम साता १ करोड २५ लाख रुपैयाँ तिरिसकेको छ,’ उनले भने, ‘उसले २४ किस्तामा बक्यौता तिर्ने प्रतिवद्धता जनाएको छ।’

एयर एसियाले पुनः नियमित उडान गर्न युनिभर्सल टुर्स एण्ड ट्राभललाई जेनरल सेल्स एजेन्ट ‘जीएसए’ नियुक्त गरेको छ। ४७ वर्षअघि स्थापना भएको ट्राभल एजेन्सीका संचालक परासर प्रसाईं हुन्।    

एयर एसियाले २०६९ सालबाट काठमाडौंमा व्यावसायिक उडान सुरु गरेको थियो। सातामा पाँच वटा उडान गर्दै आएको कम्पनीको उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ल्याण्डिङ, पार्किङ, नेभिगेसन लगायत सेवाको बक्यौता नतिरेपछि ५ वर्षअघि बन्द भएको थियो।

उडान बन्दअघि इन्सेन्टिभ ट्राभल उसको जीएसए थियो। इन्सेन्टिभका संचालक हरिमान लामाले एयर एसियालाई नेपाल ल्याएका थिए। उनले चार्टर्ड उडान सुरु गरेका थिए।

सुरुवातमा अकुपेन्सी राम्रो हुँदा कमाएको पैसा हरिमानले घरजग्गामा लगानी गरे। विस्तारै मलेसिया जाने नेपाली घट्न थाले भने त्यो रुटमा अरु वायु सेवा कम्पनी पनि थपिए। बजेट एयरलाइन्स मालिन्दो एयर, नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्ससँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आयो।

अकुपेन्सी घट्नुका साथै चार्टर्डमार्फत महँगो भाडामा आएको जहाजको नोक्सानी बढ्दै गएपछि हरिमान समस्यामा परे। बक्यौता बढेपछि एयरलाइन्सको उडान बन्द भयो। हरिमान देश छाडेर हिंडे।

एयर एसियाको उडान बन्द भएपनि यो ब्राण्डलाई नेपाल फिर्ता ल्याउन ठूला व्यावसायिक घराना लागेका थिए। कुनै समयमा विशाल समूहले पनि एयर एसिया ल्याउन मेहनत गरेको थियो। र, अन्तिममा अहिले कोरियन, फ्लाई दुबई लगायतको जीएसए रहेको युनिभर्सलको पोल्टामा यो एयरलाइन्स पुगेको छ।

मलेसियाले कामदार नलिने घोषणाले के हुन्छ?

मलेसियाले आगामी जेठ १८ गतेदेखि आप्रवासी कामदार नलिने घोषणा गरेको छ। मलेसियाले अर्को आदेश नभएसम्म औपचारिक क्षेत्रमा आप्रवासी कामदार रोक्ने निर्णयले यो गन्तव्यको उडानमा प्रत्यक्ष प्रभाव पर्नेछ।

मलेसियामा अहिले झण्डै पाँच लाख नेपाली कामदार कार्यरत छन्। वैदेशिक रोजगारीलाई लक्षित गरेर भएका उडानले यो गन्तव्यमा असर पक्कै गर्नेछ।

मलेसियामा नेपाली कामदार जाने क्रम घट्न थालेको छ। जसका कारण उडान गरिरहेका जहाजको अकुपेन्सी पनि ७० प्रतिशत मात्रै छ। व्यवसायीका अनुसार मलेसियाको निर्णयले एयर एसियाको व्यवसायमा प्रभाव पार्नेछ। ‘कामदारलाई मात्रै हेर्दा यो निर्णयले असर गर्छ। तर जीएसए लिएको युनिभर्सलले कनेक्टिङ् फ्लाइटमार्फत जोड्नसक्ने भएकाले अकुपेन्सी राम्रो हुनसक्ने सम्भावना पनि छ,’ ती व्यवसायीले भने।