‘पैसा जोगाऔं भविष्य सुरक्षित बनाऔं’ भन्ने मुख्य नाराका साथ वित्तीय साक्षरता प्रवर्धनका लागि यही चैत ५ देखि ११ गतेसम्म विश्वव्यापीरुपमा विभिन्न कार्यक्रम गर्दै ग्लोबल मनी सप्ताहको नयाँ संस्करण मनाइँदै छ। विश्वमा प्रत्येक तीन वयस्कमध्ये करिब एक जनामात्रै वित्तीयरुपमा साक्षर रहँदा ३५ प्रतिशत पुरुष तथा ३० प्रतिशत महिलामात्रै वित्तीयरुपमा साक्षर रहेको प्रकाशित प्रतिवेदनहरु हेर्दा प्रष्ट हुन्छ।
नेपालमा भने कुल जनसंख्याको करिब ५७.९ प्रतिशत वित्तीयरुपमा साक्षर रहेको प्रतिवेदनले देखाउँछ। जसमा ५४.३ प्रतिशत महिला र ६१.८ प्रतिशत पुरुष जनसंख्या वित्तीयरुपमा साक्षर रहेको तथ्यसमेत समेटिएको छ। वैश्विक वित्तीय साक्षरताको औसत आँकडा भन्दा नेपालको आँकडा अधिक हुनु अवश्य पनि राम्रो पक्ष हो। तैपनि नेपालमा जनसंख्याको अधिक हिस्सा ओगट्ने महिलाहरुमा वित्तीय साक्षरता कम हुनु पक्कै पनि सुखद संकेत होइन।
क्षेत्र एवं भेगगत हिसाबमा हेर्दा सहरी क्षेत्र बाहिर नेपालमा अझै पनि वित्तीय साक्षरताको अवस्था सबल हुन सकेको छैन भन्ने कुरा त मिटरब्याजी, सहकारीका क्रियाकलाप लगायतका विभिन्न वित्तीय अपराधहरुलाई हेर्दा नै स्पष्ट हुन्छ। सिमान्तकृत समुदाय, विपन्न वर्ग लगायतका प्रसंगमा त साक्षरताको अवस्था झनै भयावह नै छ भनेर सजिलै अड्कल गर्न सकिन्छ। कतिपय अवस्थामा विशिष्टिकृत साक्षरता आर्जन गरेका व्यक्तिहरुमा समेत कमजोर वित्तीय साक्षरता रहेको देखिन्छ। त्यसैले शैक्षिक साक्षरता र वित्तीय साक्षरता नितान्तरुपमा फरक प्रसंग हुन् भनेर बुझ्न पनि अत्यन्तै जरुरी छ।
वित्तीय साक्षरताको अवस्था विभिन्न पक्ष एवं तरिकाबाट आकलन गर्न सकिने भए तापनि विशेषतः पैसा र पैसासँग सम्बन्धित विभिन्न पक्षहरुको चेत तथा व्यक्तिगत आय, बचत, खर्च, लगानी, सापटी, उधारो आदि जस्ता विविध विषयहरुको ज्ञान नै यसका आधारभूत पक्ष हो।
वित्तीय लक्ष्य प्राप्तिका लागि आवश्यक कार्ययोजना, रणनीति तथा जोखिम व्यवस्थापनका अनेकन उपायहरु अवलम्बन गर्दै आर्जित वित्तीय ज्ञानलाई व्यवहारमा रुपान्तरण गर्न गरिने अनेकन वित्तीय कलाहरुलाई वित्तीय साक्षरता मापनको अर्को कडीका रुपमा लिन सकिन्छ। आर्जित वित्तीय ज्ञान तथा सीपलाई कार्यान्वयनमा ल्याउन आफ्ना संसाधनहरु खर्च गर्ने तत्परतासहितको मनोवृत्तिले वित्तीय साक्षरता प्रवर्धनमा अत्यन्तै ठूलो भूमिका खेलेको हुन्छ। ज्ञान, सीप तथा त्यस्ता मनोवृत्तिहरुको दैनन्दिन उपयोग एवं अन्तरक्रियाबाट सबल वित्तीय व्यवहार निर्माण भइरहेको हुन्छ, जसबाट चलनचल्तीमा वास्तविक वित्तीय साक्षरताको अवस्थाको मापन गन मद्दत पुग्ने गर्दछ।
वित्तीय साक्षरताको अवस्था परिवर्तित परिस्थिति अनुरुप अद्यावधिक भइ नराख्ने हो भने साक्षरता दरमा सिमान्त ह्राससमेत देखिन सक्छ। जस्तै परम्परागत बैंकिङमा पारंगत व्यक्तिले पछिल्ला समयमा देखिएका विभिन्न विद्युतीय भुक्तानीका विकल्पहरु सम्बन्धी ज्ञान, सीप एवं व्यवहारलाई अद्यावधिक नगर्ने हो भने पक्कै पनि विभिन्न प्रकारका कठिनाइ तथा जोखिमहरु झेल्नुपर्ने हुन्छ। त्यसैले विद्युतीय भुक्तानीका माध्यम अन्तर्गतका विभिन्न सेवा तथा सुविधाहरु बुझ्न, सञ्चालन, अनि जोखिम व्यवस्थापनको ज्ञान तथा सीप विकासका लागि वित्तीय साक्षरताको एक महत्त्वपूर्ण पक्षका रुपमा विद्युतीय वित्तीय साक्षरताको आवश्यकता क्रमिकरुपमा बढ्दो छ।
विद्युतीय वित्तीय साक्षरताको प्रवर्धनले समावेशिताको अपेक्षित लक्ष्य हासिलमा समेत टेवा पुर्याउने भएकाले यसको अपरिहार्यता अझै बढाएको देखिन्छ। प्रविधि केन्द्रित उदीयमान विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध डेविट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर कोड, अनलाइन भुक्तानी लगायतका अनेकौं उपकरणहरुको प्रयोगमा देखिएको सेवाग्राहीहरुको आकर्षणलाई यथावत राख्दै उत्पन्न हुने जोखिमहरु न्यूनीकरणमा अपनाउनुपर्ने पूर्व सावधानीको सञ्चार गर्न समेत विद्युतीय साक्षरताको अवश्यकता बढेको देखिन्छ।
अनधिकृतरुपमा वित्तीय कारोबार गरी आपराधिक क्रियाकलापहरु गर्ने व्यक्ति तथा संस्थाहरुले विभिन्न किसिमका धोखाघडीहरु गरि डिजिटल बैंकिङ सेवा प्रयोगकर्ताहरुका सूचना प्राप्त गर्न अभ्यासरत रहेका हुन सक्छन्। जसबाट सेवाग्राहीको नगद तथा सूचनाहरु अविच्छिनरुपमा जोखिममा पर्ने खतरा हुन्छ। त्यसैले सेवाग्राहीमा विद्युतीय कारोबारलाई निसाना बनाइ वित्तीय अपराधमा संलग्न व्यक्ति तथा संस्थाहरुले निर्माण गर्न सक्ने विभिन्न प्रकारका सम्भावित पासोहरुका बारेमा जानकारी हुनु अत्यन्तै आवश्यक देखिन्छ। पछिल्लो समयमा अधिक प्रयोगमा ल्याइएका केही वित्तीय पासोहरु यस प्रकार छन्।
वर्तमान समयमा प्रयोगकर्ता एवं कारोबारको आकारमा उच्च गतिमा विस्तारित डिजिटल बैंकिङ कारोबारलाई विश्वासनीय, भरपर्दो तथा दिगो विकासको पथमा लैजानु अत्यन्तै आवश्यक छ। जसका लागि नियामक निकाय, बैंक तथा वित्तीय संस्थाहरु तथा सम्बन्धित सेवा प्रदायकले निरन्तररुपमा विभिन्न ऐन, नियम, निर्देशनहरु, मार्गदर्शन, प्रयोगमुखी जानकारी आदि जारी गर्दै गतिविधिहरुलाई विभिन्न प्रकारले अनुगमन गर्ने गरि नै रहेका हुन्छन्।
सेवा प्रयोगकर्ताहरुले पनि समय सापेक्ष आआफ्ना तहबाट पूर्वसर्तकता अपनाउन सके मात्रै मौलाउदा जोखिमहरु निष्प्रभावी हुने देखिन्छ। उपयोगकर्ताहरुले अवलम्बन गर्नैपर्ने केही प्रमुख पूर्व सावधानीहरु यस्ता हुन सक्छन्।
नवप्रर्वतन तथा विश्वव्यापीकरणको उर्लदो लहरमा समाहित विद्युतीय भुक्तानी प्रणालीमा केन्द्रित बैंकिङ व्यावसायिकता निरन्तररुपमा परम्परागत पद्धतिबाट प्रविधिमैत्री पद्धतिउन्मुख बन्दै गर्दा एकातिर विभिन्न किसिमका जीवनशैलीमुखी तथा समय सापेक्ष सेवा सुविधाहरु उपलब्ध भइरहेका छन्, अर्कोतिर विभिन्न किसिमका जोखिमहरु पनि मौलाउदै छन्।
त्यसैले अबको दिनमा स्मार्ट बैंकिङ सेवा लिनका लागि सेवाग्राहीहरु पनि आफ्नो ज्ञान, सीप, मनोवृत्ति एवं व्यवहारलाई समयसापेक्ष अद्यावधिक गर्दै लैजानुपर्ने देखिन्छ। अन्यथाः विभिन्न प्रकारका वित्तीय अपराधका सिकार हुने परिवेश सृजना हुन सक्छ। जसका लागि समय समयमा नियामक निकाय, बैंक तथा वित्तीय संस्था लगायत अन्य विभिन्न संस्थाहरुबाट प्रदान गरिने वित्तीय साक्षरता केन्द्रित सूचना, प्रकाशन वा क्रियाकलापमा नियमितरुपमा अद्यावधिक भइराख्नु वा सहभागिता जनाउनु नै जोखिम कम गर्ने एक मात्र रणनैतिक अस्त्र हुन सक्छ।
(उल्लिखित विचारहरु लेखकका निजी भएकाले आबद्ध संस्थाको प्रतिनिधित्व गर्दैनन्)