काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल टी-२० आई वरीयतामा विश्वका उत्कृष्ट खेलाडीलाई पछि पार्दै ५४औं स्थानमा उक्लिएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ वरीयता अनुसार रोहित ४८६ अंकसहित ५४औं स्थानमा उक्लिएका उक्लिएका हुन्।
उनले भारतका इशन किसन, शुभमन गिल, हार्दिक पाण्डे र श्रेयर ऐयरलाई पछि पारेका छन्। इशन ५५, शुभमन ६५, हार्दिक ८५ र श्रेयस ऐयर ८६औं स्थानमा छन्। टी-२० आई वरीयताको ब्याटिङतर्फ रोहितले एकै पटक ३६ स्थान सुधार गरेका हुन्। उनीभन्दा भारतका कप्तान रोहित शर्मा ४ र विराट कोहली ७ स्थान अगाडि छन्।
भारतका सुर्यकुमार यादव पहिलो स्थानमा कायम छन्।
टी-२० आई वरीयताको ब्याटिङतर्फ उत्कृष्ट १०० जनाको सूचीमा दीपेन्द्रसिंह ऐरी पनि परेका छन्। उनी ३१ स्थान सुधार गर्दै ७० औं स्थानमा परेका हुन्।
दीपेन्द्रले अलराउन्डरतर्फ ठूलो छलाङ मारेका छन्। उनी एकै पटक ४८ स्थान सुधार गर्दै २७ औं स्थानमा परेका छन्। आइसीसीले तीन दिनअघि सार्वजनिक गरेको सूची अनुसार उत्कृष्ट १०० अलराउण्डरको सूचीमा दीपेन्द्रसँगै नेपालबाट कुशल मल्ल, गुल्सन झा, करण केसी र रोहित परेका छन्।
कुशल २७ स्थान सुधार गर्दै ३५, गुल्सन २२ स्थान सुधार गर्दै ७२, करण २४ स्थान सुधार गर्दै ८१ र रोहित ८८ स्थान सुधार गर्दै ९२ औं स्थानमा परेका छन्।
बंगलादेशका शकिब अलहसन पहिलो स्थानमा कायमै छन्।
बलिङतर्फ शीर्ष १०० जनाको सूचीमा भने नेपाली खेलाडी छैनन्। टी-२० आई वरीयतामा नेपाल १६ औं स्थानमा यथावत छ।