BIZMANDU
www.bizmandu.com

नेपाली होटलका गुणस्तर सुधार्न किम र कोविदको कोसिस, ‘नेपालकै रिब्रान्डिङ नगरी ग्रोथ हुन्न’

२०८० फागुन २३

नेपाली होटलका गुणस्तर सुधार्न किम र कोविदको कोसिस, ‘नेपालकै रिब्रान्डिङ नगरी ग्रोथ हुन्न’
नेपाली होटलका गुणस्तर सुधार्न किम र कोविदको कोसिस, ‘नेपालकै रिब्रान्डिङ नगरी ग्रोथ हुन्न’


काठमाडौं। जर्मनीका किम जे बाडेन नेपालसँग जोडिएको २० वर्षभन्दा बढी भयो। पीएचडीका लागि नेपाल रोजेका किमका लागि पढाइ पूरा नहुनु नै यतिका वर्षसम्म नेपालसँग जोड्ने मेसो बन्यो।

Vigo
GBIME
Tata

उनी बेला बेलामा जन्मभूमि जर्मनी तिर हानिन्छन् तर ‘कर्मभूमि’ भने नेपाललाई नै बनाएका छन्। विज्ञान विषयमा स्नातकोत्तर गरेका उनले विद्यावारिधिका लागि रोजेको नेपालसँग अहिले उनको व्यावसायिक सम्बन्ध जोडिएको छ।

वनसँग जोडिएको स्रोतको व्यवस्थापनमा विज्ञता हासिल गर्ने सुरले पीएचडीका लागि नेपाल रोजेका किम ३० वर्षको उमेरमा नेपाल आएका थिए। पहिलोपटक आउँदा नेपालमा द्वन्द्वको चर्को रापताप थियो। हिंसात्मक द्वन्द्वले नेपाल प्रभावित हुँदा किमको पढाइ पनि अघि बढ्न सकेन। नेपाल आउजाउको क्रम चलि नै रह्यो।  

‘माओवादी द्वन्द्वका कारण मैले पीएचडी पूरा गर्न सकिन,’ किमले सुनाए, ‘त्यसपछि मैले प्राथमिकता फेरेँ। मेरो ध्यान व्यवसायतर्फ मोडियो।’

व्यावसायिक सोच बनाएपछि किमले नेतृत्व विकास र उद्यमशीलताका बारेमा पढ्न थाले। सयौं अनुसन्धानात्मक सामाग्रीहरु पढेपछि उनलाई लाग्यो नेपालमा उद्यमशीलताका विषयका फरक किसिमको ‘लिडरसिप एसेसमेन्ट’ जरुरी छ। यसका लागि उनले ‘ह्‍युमन भ्यालु एसेसमेन्ट’को पाटोलाई केन्द्रमा राखेर अध्ययन गर्न थाले।  

किम न्यूरो साइन्सका क्षेत्रमा हुने गरेका उपलब्धिहरुबारे जानकारी राख्छन्। उनको न्यूरो साइन्सप्रतिको रुचिकै कारण उनले ‘प्याक्टोमिक्स प्रोफाइलिङ टुल्स’बारे गहिरो अध्ययन गरे। प्याक्टोमिक्स आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले संचालन हुने यस्तो रिसर्च बेस्ड प्लाटफर्म हो, जसको मद्दतले कुनै पनि व्यावसायिक व्यक्तिले सही ढंगले आफू र अरुलाई बुझ्ने शैलीको विकास गर्न सक्छ। किमका अनुसार यसले प्रोफेसनालिज्म, टिम वर्क र वर्कप्लेस स्याटिस्फ्याक्सनलाई वृद्धि गर्न सघाउँछ। किम प्याक्टोमिक्सको अवधारणाबारे चाँडै नै पुस्तक निकाल्न लागेको बताउँछन्।

किम जे बाडेन

हाल किम नेपालसँग हस्पिटालिटी र कर्पोरेट क्षेत्रको माध्यमबाट जोडिएका छन्। नेपाली युवक कोविद पन्थीसँगको साझेदारीमा प्लस लिडर प्रा.लि खोलेका छन्, जसले अमेरिकी कम्पनी इम्प्याक्ट एससँग सहकार्य गर्छ। हस्पिटालिटी र कर्पोरेट क्षेत्रलाई इम्प्याक्ट एसले उपलब्ध गराउने पाठ्यक्रम अनुसारकै तालिम यो संस्थाले नेपालमा उपलब्ध गराउँछ।

५० माथिका किमले नेपालमा रोजेका व्यवसायिक साझेदार कुनै पाका व्यावसायी भने होइनन्। उमेरले उनी त भर्खर २० वर्षका भए। कम उमेरमै ‘कोडिङ’मा राम्रो छाप छोड्न सफल कोविद उमेरले जति कलिला देखिन्छन्, व्यावसायिक क्षेत्रमा उनको उपस्थिति दमदार छ। १५ वर्षकै उमेरमा कोविदले सूचना प्रविधि सम्बन्धी कम्पनी टेक समाज वेब प्रा.लि सुरु गरेका थिए।

सन् २०१७ मा खुलेको यो संस्थाले सूचना प्रविधिको क्षेत्रलाई आवश्यक सेवा उपलब्ध गराउँछ। हाल टेक समाजमा ३५ जना कार्यरत छन्। सूचना प्रविधिको क्षेत्रमा सेवाको गुणस्तर बढाउन उनले दिने ‘ट्रिक्स’ लाई बजारले रुचाएको पनि छ।

उनै कोविदको साथ लिएर किमले थालेको कम्पनी प्लस लिडरले नेपालका पाँचतारे होटलका जनशक्तिलाई कर्पोरेट तालिम दिने गरेको छ। कोविद सानै भए पनि किम र उनको दोस्ती जमेको छ।

‘मैले कोविदलाई भेटेको समयमा उसको उमेरबारे मलाई थाहै थिएन। ३०-४० वर्षको होला भन्ने थियो। उसको प्रोफाइल एकदमै प्रोफेसनल थियो। ऊसँग २० वर्षको अनुभव होला भन्ने मलाई लागेको थियो। तर, भेट्दा त जम्मा १५ वर्षको मात्रै! मैले अगाडि भेट्दा पत्याउनै सकिन,’ किमले भने, ‘तर कुराकानी गर्दै जाँदा लाग्यो हाम्रो धेरै कुरा मिल्ने रहेछ। केही समयको संगतपछि हामीले सँगै व्यवसाय सुरु गर्ने निधो गर्‍यौं।’

सन् २०२१ मा कोविद र किमले प्लस लिडर कम्पनी सुरु गरेका थिए।  इम्प्याक्ट एस एलएलसीको ब्राण्डलाई साथ लिएर उनीहरुले कर्पोरेट तालिम दिन थालेका हुन्।

कोविद कोडिङसँगै मार्केटिङमा दख्खल राख्छन् भने किम लिडरसीपमा।

कम्पनी सुरु गरेसँगै दुवैजना डेटा सूक्ष्मरुपमा अध्ययन गर्न लागे। अध्ययनका क्रममा उनीहरुले कुनै पनि संस्थाका लागि बनाउने वा बिगार्ने गम्भीर कारण भनेकै तीन तत्व नेतृत्व, बजारीकरण र उद्यमशीलता भएको मनन गरे।

कोविद भन्छन्,’सुरु गरेको पहिलो ५ वर्षमा ८० प्रतिशत बिजनेस यी तीनमध्ये कुनै पनि कारणले डुब्न सक्छ। त्यसैले हामीले यही तीनवटा विषयलाई केन्द्रमा राखेर सेमिनार संचालन गर्न थाल्यौं।’

यो सेमिनार रिसर्च र अभ्यासको अवधारणामा आधारित छ। बजारमा अरु कम्पनीहरुले पनि यस्ता किसिमको तालिम दिने भएपनि आफूहरुले थप अध्ययन र पृथक विशेषतासहित यसका मोड्युलहरु विकास गरेको उनले बताए।

‘नेपालमा उद्यमशीलता विकासका क्षेत्रमा धेरै बढी सम्भावनाहरु छ। यहाँ धेरै काम गर्न सकिन्छ। परिवर्तन र प्रभाव दुवै एकैसाथ नेपालमा देखिन्छ जस्तो लागेरै म यहाँ काम गर्न लालायित भएको हुँ,’ किमले भने।

नेपालमा संचालित पाँचतारे होटलहरुमा एकअर्काबीच राम्रो सेवा सुविधा दिने बारे प्रतिस्पर्धा हुँदा जनशक्तिलाई चुस्त राख्नु र स्तर कायम गर्न मेहनत गर्नका लागि यो तालिमले मद्दत पुर्‍याएको उनीहरुको भनाइ छ।

होटलको संख्या थपिँदै जाँदा चुनौतीहरु पनि थपिइरहेको भन्दै उनीहरु चर्को प्रतिस्पर्धामा नयाँ सोच, आविष्कार र सिर्जनशीलताविना टिक्न गाह्रो पर्ने बताउँछन्।

‘हरेक होटलले आफ्नो शैलीमा काम गर्छन्। तर पर्यटक धेरै आउँदैमा नाफा बढ्छ भन्ने अवस्था अहिले छैन। अरुभन्दा पृथक प्रोडक्ट ल्याइएन भने डुबिन्छ। त्यसैले रणनीति महत्त्वपूर्ण कुरा हो,’ कोविदले भने।

कोविद पन्थी

किन नेपालका होटलहरुले प्रिमियम पर्यटक तान्न सकेन?

पर्यटक आगमनको संख्या बर्सेनि बढ्दै गए पनि ‘प्रिमियम टुरिस्ट’ अर्थात् बढी खर्च गर्ने पर्यटक नेपाल ल्याउन सकिएको छैन। यहाँ धेरै खर्च गर्ने पर्यटक ल्याउनका लागि विश्व बजारमा गरिने मार्केटिङ महत्त्वपूर्ण हुने किमको भनाइ छ। त्यसैले अन्तर्राष्ट्रिय जगतमा नेपालकै ‘रिब्रान्डिङ’ गर्न अत्यावश्यक भइसकेको उनी बताउँछन्।

उनी भन्छन्,’नेपाललाई विश्व मानचित्रमा प्रकृति, संस्कृति, हिमशृंखलाको देश भनेर चिनाइएको छ। एड्भेन्चरसहित संस्कृति रुचाउने पर्यटक त चारतारे वा पाँचतारे होटलमा गएर बस्दैन। हामी एउटा कुरामा स्पष्ट हुनुपर्छ, नेपालमा रहेका पाँचतारे होटल र विदेशका पाँचतारे होटलको स्तर एउटै छैन। विदेशी पाँचतारेले दिने सेवा, त्यहाँ कार्यरत कर्मचारी, ग्राहकको गुनासो सम्बोधन गर्ने प्रक्रिया नेपालको भन्दा धेरै फरक छ। नेपालले त्यो शैलीतर्फ जानका लागि धेरै सुधार गर्नुपर्ने खाँचो छ।’

यस्ता कमजोरीहरु कहाँ कहाँ छन् र स्तर वृद्धिका लागि के के गर्न सकिन्छ भन्नाकै लागि आफूहरुले सेमिनारहरु आयोजना गर्दै आएको कोविदले जानकारी दिए।

‘जो हिमाल वा संस्कृति हेर्न आउँछन् उनीहरु ब्यागप्याकर्स हुन्। बिजनेस वा तारे होटलका ग्राहक होइनन्। हामीले नेपाली तारे होटललाई नेक्स्ट लेभलमा लैजाने हो भने सेवामा सुधारका साथै नेपालकै रिब्रान्डिङ गर्नैपर्छ,’ उनले भने।  

बिजनेसलाई लेजरसँग मात्र जोडेर हेर्न नहुने दुवैजनाको मत छ। उनीहरुका अनुसार वेलनेसको बजार बढ्दै गएको अवस्थामा आयुर्वेदिक पृष्ठभूमि भएको नेपालले त्यस्ता पर्यटकसमेत तान्न सक्छ।

‘सामान्यतया उपचार गर्न आउनेहरुको उमेर बढी नै हुन्छ। उनीहरुको खर्च गर्ने क्षमता पनि बढी हुन्छ। उनीहरु पाँचतारे होटलमा बस्न रुचाउँछन् किनभने त्यो उनीहरुका लागि एफोर्डेबल र आरामदायी हुन्छ,’ किमले भने।

होटल अपग्रेड गर्ने तालिम

नेपालको हस्पिटालिटी क्षेत्र सुधार्न होटल म्यानेजमेन्ट अध्यापन गराउने संस्थाहरुको गुणस्तर बढाउनुपर्ने उनीहरु बताउँछन्।

उनीहरुका अनुसार होटलमा हुने राजनीति पनि यस क्षेत्रको सुधारको बाधक हो। कुनै पनि बाहानामा होटलमा राजनीति हुँदा समग्र सेवा नै प्रभावित हुने भएकाले यसबाट परै रहनुपर्ने उनीहरुको सुझाव छ।

होटल क्षेत्रका कमीकमजोरीहरु सुधार्नका लागि कम्पनीले संचालन गर्ने तालिम निकै फलदायी भएको प्रतिक्रिया उनीहरुले पाइरहेका छन्। आफूहरुले दिएको तालिम पछि होटलले ‘दुई गुणा ग्रोथ गरेको’ भन्नेसम्मका प्रतिक्रिया पाएपछि उनीहरु दंग छन्। तालिममा होटल व्यवसायसँग सम्बन्धित व्यक्तिहरुको लागि आवश्यक ज्ञानमात्र नभई मनोवैज्ञानिक पक्ष पनि समेटिएको उनीहरुले बताए। 

‘हामीले कुनै पनि संस्थाको सीपमा भएको कमीलाई पहिचान गर्छौं। कहाँ चुकिरहेको छ भन्ने पत्ता लगाउँछौं। त्यो समस्याको जड कार्यकारीमा हो वा कर्मचारीमा हो त्यो पहिल्याउँछौं। त्यसपछि कमजोरी समाधानका लागि काम सुरु गर्छौं,’ कोविदले भने।

तालिम सुरु गर्नुअघि कम्पनीले ‘नीड असेसमेन्ट’ गर्छ। उनीहरु संस्थाको आवश्यकताअनुसार तालिमको डिजाइन गर्छन्। आवश्यकता पहिचान भएपछि समस्या समाधानका लागि कम्पनीले तालिम मोड्युल तथा अवधारणा तयार गर्छन्।  

किम भन्छन्, ‘तालिम हुनुअघि र पछि हामी सीप र क्षमताको जाँच गर्छौं। त्यसले हामीलाई हाम्रो तालिमले कति फरकपन ल्यायो भने तथ्यगत जानकारी दिन्छ। तालिमले गरेको ग्रोथ हुने भनेको यसको सिधा प्रभाव होटलको प्रतिफलमा देखिनु नै हो।’