सांघाइ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरी छिमेकी चीनबाट सीधा हवाई उडान गर्नुपर्ने प्रस्ताव गरिएको छ।
नेपालमा सत्ता समीकरण फेरिएकै दिन चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) को १४ औं राष्ट्रिय समितिको दोस्रो अधिवेशनमा चीनबाट लुम्बिनीमा सीधा हवाई उडानको प्रस्ताव पेस भएको हो।
बेइजिङको ग्रेट हल अफ द पिपुलमा सोमबार सुरु भएको अधिवेशनमा बुद्धिष्ट एसोसिएसन अफ चाइनाका उपाध्यक्ष एवं सेन्जेन होङ्फा बिहारका मठाधीश यीन सुनले यस्तो प्रस्ताव राखेका हुन्।
उनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई सुदृढ गराउन एयर सिल्क रोड निर्माणलाई सुदृढ बनाउनुपर्ने बताए।त्यसका लागि बौद्ध धर्मको पवित्र भूमि लुम्बिनीमा सीधा उडान सञ्चालन गर्नुपर्ने उनको प्रस्ताव छ।
प्रस्तावमा नेपालको लुम्बिनीमा सीधा उडानले एयर सिल्क रोड निर्माणलाई गति दिने, पारवहनको लागत घटाउने, ‘बेल्ट एण्ड रोड’ देशहरूमा जनस्तरको आदानप्रदानलाई अझ छिटो र सुविधाजनक रूपमा बढाउने उल्लेख छ।
चीन र नेपालबीच पर्यटन प्रवर्धन गर्न, सभ्यताहरूबीच धार्मिक सद्भाव र पारस्परिक शिक्षालाई बढावा दिन सीधा उडानले अनुकूल हुने प्रस्तावमा उल्लेख छ।
‘नेपालको लुम्बिनी विश्वप्रसिद्ध बौद्ध सांस्कृतिक पवित्रस्थल बुद्ध शाक्यमुनिको जन्मस्थल हो। जहाँ चिनियाँ मुख्य भूमिबाट उडान गर्न सकिन्छ,’ प्रस्तावमा भनिएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एसियाली विकास बैंकको ऋण सहयोगमा बनाइएको हो। चिनियाँ निर्माण कम्पनीले बनाएको विमानस्थल संचालनमा आएको करिब दुई वर्ष हुन लागेको छ। तर नेपाल वायुसेवा निगम बाहेकले यो विमानस्थलबाट उडान गरेका छैनन्। निगमले पनि सातामा जम्मा एउटा मात्र उडान गर्दै आएको छ।
सन् २०२४ जनवरी १७ का दिन शाक्यमुनि बुद्धको प्रबोधन दिवसको अवसर पारेर हाइनान र सेन्जेनका बौद्ध सर्कलका प्रतिनिधि चार्टर्ड उडानमार्फत लुम्बिनी पुगेका थिए।
चीन र नेपालबीच सांस्कृतिक आदानप्रदानलाई अझ प्रगाढ बनाउन, अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो ‘बेल्ट एण्ड रोड’ मञ्चको भावनालाई कार्यान्वयन गर्न र स्थानान्तरणको लागत घटाउन चीनबाट लुम्बिनीमा सीधा उडानको प्रस्ताव गरिएको छ।
बुद्धिष्ट एसोसिएसन अफ चाइनाका उपाध्यक्ष एवं सीपीपीसीसीका सदस्य यीनले बौद्ध धर्मावलम्बीको पवित्र स्थल लुम्बिनीमा सीधा उडानलाई उच्च गुणस्तरको बेल्ट एण्ड रोड इनिसिएटिभ्सका सान्दर्भिक परियोजनामा समावेश गर्नुपर्ने बताएका छन्।
‘सिल्क रोड टुरिज्म सिटीज एलायन्स सिस्टममा समावेश गरी बौद्ध पवित्र स्थलहरूको दर्शन गर्न र नेपालसँगको सञ्चारलाई थप मजबुत तुल्याउनका लागि चीनबाट लुम्बिनीमा यथाशीघ्र सीधा नियमित उडान गर्न आवश्यक छ,’ उनले भनेका छन्।
उनले सीधा उडान आवश्यक हुनुका चार वटा कारण खुलाएका छन्।
पहिलो, चीन र नेपालबीच धार्मिक र सांस्कृतिक आदानप्रदानलाई सुदृढ तुल्याउन महासचिव सी चिनफिङले दिएको महत्वपूर्ण निर्देशनलाई थप कार्यान्वयन गर्न सीधा उडान आवश्यक रहेको प्रस्तावमा उल्लेख छ।
‘चीन र नेपाल हिमाल र नदीले जोडिएका छन् र पुस्तौंदेखि मित्रवत छन्। चिनियाँ प्रख्यात भिक्षु फासियानर जुआनजाङले लुम्बिनी र नेपाली प्रख्यात भिक्षु बुद्धभद्रले चीन भ्रमणका क्रममा बहुमूल्य रेकर्ड छोडेका छन्,’ प्रस्तावमा भनिएको छ, ‘अक्टोबर २०१९ मा, प्रकाशित महासचिव चिनफिङको हिमालयपार चीन-नेपाल मित्रताको बृहत्तर प्रगतितर्फ लेखमा चीन र नेपाल एक अर्काबाट सिक्ने असल छिमेकी हुन् भनिएको छ। लुम्बिनीमा चीनले निर्माण गरेको चिनियाँ मन्दिर नेपाल र चीनबीचको धार्मिक तथा सांस्कृतिक आदानप्रदानको प्रतीक बनेको छ। महासचिवको महत्वपूर्ण निर्देशनको भावनालाई कार्यान्वयन गर्न, बौद्ध सांस्कृतिक आदानप्रदानलाई सफलताको रूपमा लिन, धर्म मित्रतालाई अझ राम्रो बनाउन लुम्बिनीमा सीधा उडान आवश्यक छ।’
यीनले दोस्रो बुँदामा लुम्बिनीमा सीधा हवाई उडानले चिनियाँ सभ्यता विदेशमा विस्तार गर्न र विश्वका सबै देशहरूमा बौद्ध धर्ममा चिनियाँ बौद्ध धर्मको प्रभाव बढाउन सेतुको काम गर्ने बताएका छन्।
तेस्रो बुँदामा सीधा उडानले उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहयोगलाई समर्थन गर्नका लागि प्रस्ताव गरिएका चीनका आठ वटा कार्य कार्यान्वयन गर्न अनुकूल हुने उल्लेख गरिएको छ।
२०२३ अक्टोबरमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरममा चीनले उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहयोगलाई समर्थन गर्न आठ वटा कार्य प्रस्ताव गरेको थियो।
‘लुम्बिनीमा सीधा उडान एयर सिल्क रोडको निर्माणलाई गति दिनका लागि अनुकूल छ,’ यीनको प्रस्तावमा भनिएको छ, ‘काठमाडौं हुँदै जाँदा लाग्ने लागत कम गर्न तथा बेल्ट र रोड देशका जनता-जनताको आदान-प्रदानलाई अधिक छिटो र सुविधाजनक रूपले बढावा दिन, दुई देशको पर्यटन प्रवर्धन गर्न तथा धार्मिक सद्भाव र पारस्परिक शिक्षामा सहयोग पुग्नेछ।’
चौथो बुँदामा, चिनियाँ बौद्ध धर्मावलम्बीले विदेशीसँग अझ गहिराइमा गैरसरकारी आदानप्रदान गर्न सक्ने भन्दै सीधा उडानको आवश्यकता औंल्याइएको छ।
‘लुम्बिनी विश्वको एक महत्त्वपूर्ण बौद्ध सहर हो। यो चिनियाँ बौद्ध सर्कलका लागि विदेशीहरूसँग जनता-जनताको आदान-प्रदानलाई बलियो बनाउने पहिलो राम्रो क्षेत्र पनि हो, ‘प्रस्तावमा भनिएको छ, ‘लुम्बिनीमा सीधा हवाई उडानले विदेशीहरूसँग बौद्ध गैर-सरकारी आदानप्रदानलाई गहिरो बनाउन र जनता-जनताबीचको सम्बन्धलाई बढावा दिन सहयोग पर्याउनेछ।’