काठमाडौं। नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्रमा उडानका लागि नयाँ जहाज किन्न सुरु गरेको आवेदन प्रक्रियाको पुनः अध्ययन सुरु गरेको छ। आवेदन पेस गरेका तीन जहाज निर्माता कम्पनी प्राविधिक रूपमा असफल देखिएपछि निगमले पुनः अध्ययन सुरु गरेको हो।
व्यवस्थापनले प्राविधिक टोलीमार्फत तीनवटै कम्पनीको प्राविधिक अध्ययन सुरु गरेको निगमका एक कर्मचारीले बताए।
‘साना जहाज ल्याउनका लागि प्राविधिक रूपमा तीन वटा आवेदक कम्पनीको प्रस्ताव-पत्र भायबल नरहेको पाइएको छ।हामीले पुनः अध्ययनका लागि एउटा प्राविधिक टोली गठन गरेका छौँ,’ ती कर्मचारीले बिजमाण्डूसँग भने,’यो प्राविधिक अध्ययनबाट पनि प्रक्रिया रोकिएको अवस्थामा रिटेण्डर बाहेकको विकल्प छैन।’
आवेदन पेस गरेका तीन कम्पनीमध्ये एउटा मात्र योग्य देखिएपछि सार्वजनिक खरिद ऐन अनुसार प्रक्रिया नै अगाडि नबढ्ने देखिएको छ। ट्विनअटर, डर्नियर र लेट-४१० मध्ये लेट-४१० मात्र खरिद योग्य देखिएको थियो।
तर लेट-४१० सिरिजको जहाजमार्फत उडान गर्दा निगमलाई चिनियाँ जहाज जत्तिकै आर्थिक दायित्व पर्ने प्रारम्भिक अध्ययनले देखाएको छ।
खरिद ऐन अनुसार आवेदकबीच कुनै प्रतिस्पर्धा नहुने भएपछि सञ्चालक समितिले जहाज खरिद उपसमितिलाई नै पुनः प्राविधिक मूल्याङ्कन लागि निर्देशन दिएको थियो। १५ दिनको समय सीमा दिइएको उपसमितिले प्रतिवेदन नबुझाएपछि पुनः प्राविधिक टोली परिचालन गरिएको हो।
निगमले आफूसँग भएको जनशक्तिका आधारमा ट्विनअटर जहाजलाई बढी प्राथमिकता दिँदै आएको छ।