काठमाडौं। आर्थिक शिथिलताका कारण पोलिसी सरेन्डर बढ्दै गएपछि बीमा कम्पनीहरुले नयाँ योजना अघि सारेका छन्।कम्पनीहरुले निष्क्रिय रहेका बीमा पोलिसी नवीकरण गर्दा लाग्ने बिलम्ब शुल्कमा छुट दिएर पुनर्जागरणको योजना ल्याएका हुन्।
बीमितले नियमित प्रिमियम तिर्न नसकेर निष्क्रिय राखेका पोलिसी छुट दिएर पुन: सक्रिय बनाउने बीमा कम्पनीहरुको रणनीति छ। कम्पनीहरुले बीमा पोलिसी सरेन्डर हुनबाट जोगाउन यस्तो योजना अघि सारेका हुन्।
नियमित प्रिमियम तिर्न नसकेर समर्पणको अवस्थामा बीमालेख नवीकरण गर्दा लाग्ने बिलम्ब शुल्कमा छुटको प्याकेज ल्याउन अधिकांश कम्पनी अघि सरेका छन्।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले नवीकरण गर्नुपर्ने बीमालेख पुनर्जागरण गर्न सकिने योजना ल्याएको छ। कम्पनीले यस्तो पोलिसी नवीकरण गरेमा चैत १५ गतेसम्म बिलम्ब शुल्कमा ६० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।
एसियन लाइफ इन्स्योरेन्सले ६ महिना नाघेका बीमालेख चैत २५ गतेभित्र पुनर्जागरण गराएमा ब्याजमा ५० प्रतिशतसम्म छुट दिने जनाएको छ। कम्पनीले पोलिसी परिपक्व हुन २ देखि ५ वर्ष बाँकी भएका बीमालेखमा २५ प्रतिशत र परिपक्व हुन पाँच वर्ष बढीका बीमा लेखमा ५० प्रतिशत ब्याज छुट दिने घोषणा गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्सले ६ महिनाभन्दा बढी अवधि व्यतित भएका बीमालेख चैत ६ गतेसम्म बिलम्ब शुल्क भुक्तानी गरी पुन: सक्रिय गरेमा छुट दिने भएको छ।
कम्पनीले ३ वर्षसम्म व्यतित भएका बीमा लेखमा ३०, ३ देखि ५ वर्षसम्म व्यतीत भएका बीमालेखमा २५ र ५ वर्षमाथि व्यतित भएका बीमा लेखमा बिलम्ब शुल्क २० प्रतिशत छुट दिने योजना ल्याएको छ।
हिमालयन लाइफ र सूर्यज्योति लाइफ इन्योरेन्सले बीमा पोलिसी पुन: सक्रिय गराउन यसअघि नै बिलम्ब शुल्कमा छुट योजना ल्याइसकेका छन्।
पोलिसी सरेन्डर व्यावसायिक चुनौती बनेपछि त्यसलाई रोक्न छुटको अफर ल्याएको बीमकहरुको भनाइ छ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अपरेटिङ प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं बीमा कम्पनीहरुले ल्याएको पुनर्जागरण योजनाले पोलिसी सरेन्डर गर्ने अवस्थामा पुगेका बीमितलाई निरन्तरता दिन सहयोग पुर्याउने बताउँछन्।
‘मानिसले पैसा तिर्न नसकिरहेको अवस्थामा कम्पनीले छुट दिंदा बीमितले पोलिसी रन गर्नसक्छ,’ उनले भने।
मेटलाइफ इन्स्योरेन्सका जनरल म्यानेजर निर्मलकाजी श्रेष्ठ नियमित प्रिमियम तिर्न नसकेर निष्क्रिय रहेका बीमा पोलिसी सक्रिय गराउन नवीकरणमा छुट दिएर बीमितलाई आकर्षित गरिरहेको बताउँछन्।
‘बीमितले नियमित प्रिमियम नतिरी रोकेर राखेका तर समर्पण नगरेका बीमालेख सक्रिय गराउन सबैजसो कम्पनी लागिरहेका छन्,’ उनले भने ।
पोलिसी त्याग्ने बीमितको संख्या वृद्धि हुँदा कम्पनीहरुको व्यवसायमा धक्का लागेको छ। कम्पनीहरुले एकातिर नयाँ पोलिसीको बिक्री बढाउन सकिरहेका छैनन् भने अर्कातिर पुरानै पोलिसी त्याग्ने क्रम बढेको छ। जसले गर्दा व्यवसायमा संकुचन आएको कम्पनीहरुको भनाइ छ।
पछिल्लो समय पोलिसी सरेन्डर बढेको जनरल म्यानेजर श्रेष्ठले बताए। ‘अर्थतन्त्रमा सबैतिर समस्या छ। त्यहीकारण पोलिसी सरेन्डर बढेको छ। कम्पनीहरुले अपेक्षित रुपमा व्यवसाय बढाउन सकेका छैनन्,’ उनले भने।
पोलिसी सरेन्डरले कम्पनीको बिजनेसमा असर पारिरहेको प्रसाईंको भनाइ छ। ‘१० देखि १५ प्रतिशत बीमा पोलिसी सरेन्डर संसारभरि नै हुन्छ। तर, पोलिसी सरेन्डर गर्दा कम्पनीको बिजनेसमा एक लेभलको असर पर्छ,’ उनले भने।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले पोलिसी त्याग्ने बढ्दा त्यसको असर बीमा कम्पनीको व्यवसायमा देखिएको बताए।
‘पोलिसी सरेन्डर धेरै बढ्नुको मुख्य कारण भनेकै अहिलेको आर्थिक अवस्था हो,’ उनले भने, ‘पोलिसी त्याग्ने बढेपछि बीमा कम्पनीको व्यवसायमा असर गर्ने नै भयो।’
प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको ७ महिनासम्म कुल सक्रिय बीमा पोलिसी संख्या १ करोड ३७ लाख ९४ हजार १३७ छ। पोहोर ७ महिनाको तुलनामा यो संख्या ३.२६ प्रतिशत कम हो। पोहोर ७ महिनामा कुल सक्रिय पोलिसीको संख्या १ करोड ४२ लाख ६० हजार १३९ थियो।
पछिल्लो एक वर्षमा ४ लाख ६६ हजार बीमा पोलिसी सरेन्डर भएका छन्। पोलिसी सरेन्डर मात्र भएको होइन, कम्पनीको नयाँ व्यवसायमा पनि संकुचन आएको छ। चालु वर्षको माघसम्म कम्पनीको प्रथम बीमा शुल्क आर्जन १.८४ प्रतिशतले घटेको छ।