BIZMANDU
www.bizmandu.com

त्रिदेशीय टी-२० सिरिजमा नेपालको पहिलो जित, नामिबिया ३ रनले पराजित

२०८० फागुन १८

त्रिदेशीय टी-२० सिरिजमा नेपालको पहिलो जित, नामिबिया ३ रनले पराजित
तस्बिर : क्यान

काठमाडौं। त्रिदेशीय टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ। आज भएको खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको हो।

Tata
GBIME
Nepal Life

सिरिजमा नेपाल, नेदरल्याण्डस र नामिबिया छन्। नेपाललाई फाइनल प्रवेशका लागि आजको खेल जित्नै पर्ने दबाब थियो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएका थिए। पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रनको स्कोर खडा गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्रै बनाउन सक्यो।

नामिबिया इनिङ्स

दोस्रो ओभरमै विकेट लिएर नेपालले नामिबियामाथि दबाब सिर्जना गरेको थियो। दोस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले ३ रन बनाएका मलान क्रगरको विकेट लिएका थिए।

त्यस्तै, छैटौँ ओभरमा नेपाललाई दोस्रो सफलता मिलेको थियो। तेस्रो बलमा करण केसीले माइकल भान लिंगेनलाई १० रन बनाएको अवस्थामा बोल्ड गरिदिएका थिए।

आठौँ ओभरमा सोमपालले नेपाललाई अर्को सफलता दिलाए। उनले जेपी कोच्जेलाई आसिफ शेखको हातबाट क्याच आउट गराए। काच्जे २५ रन बनाएर पेबिलियन फर्किए।

तस्बिर : क्यान

त्यसपछि जेन फ्राइलिंक र कप्तान स्मिथले नामिबियाको इनिङ्स उकास्ने प्रयास गरेका थिए। यद्यपि, १६औँ ओभरमा दीपेन्द्र सिंह ऐरीले ब्याक-टू-ब्याक विकेट लिएर नामिबियामाथि पुनः दबाब सिर्जना गरे। उनले उक्त ओभरको पहिलो बलमा ५० रन बनाएका स्मिथलाई अनिल साहको हातबाट क्याच आउट गराए भने दोस्रो बलमा जन निकोल लफ्टीलाई शून्य रनमा पेबिलियन फर्काए।

लगत्तै १७औँ ओभरमा अबिनाश बोहोराले अर्को विकेट लिए। उनले ३७ रन बनाएका फ्राइलिंकलाई बोल्ड गरेका थिए।

अन्तिम ओभरमा रुबेन ट्रम्पलमेन १४ रन बनाएर आउट भए। करणको बलमा उनी सन्दीप जोराको हातबाट क्याचआउट भए।

त्यस्तै, जेन ग्रीनले २३ र बर्नार्ड शोल्चले ४ रन जोडे।

नेपालका लागि करण, सोमपाल र ऐरीले सामान २ तथा अबिनाशले १ विकेट लिए।

नेपालको इनिङ्स

१.१ ओभरमा ओपनर आशिफ शेख १ रन बनाएर लफ्टी इटनको बलमा आउट हुन पुगे। त्यस्तै कप्तान रोहितकुमार पौडेल पनि ३.४ ओभरमा १० रन बनाएर आउट हुँदा स्कोरबोर्डमा नेपाल ३०-२ को अवस्थामा थियो।

१७ बलमा ३ छक्काको सहायतामा २३ रन बनाएका ओपनर अनिल साहलाई ६.६ ओभरमा बेन सिकोन्गोले बोल्ड आउट गरे।

त्यसपछि आएका गुल्सन झाले आक्रामक इनिङ्स खेले। १६ बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गर्दै २६ रन बनाएर बर्नाड स्कल्चको बलमा बोल्ड आउट भए।

तस्बिर : क्यान

७.२ ओभरमा ४ विकेट गुमाएर मात्र ६४ रन बनाएको नेपालको स्कोर उकास्ने काम कुशल मल्ल र आरिफ शेखले गरे। यी दुईले ८५ रनको साझेदारी गर्दै नेपालको स्कोरलाई उकासे।

आरिफ १६.३ ओभरमा ३१ रन बनाएर ज्याक ब्रसेलको बलमा जन फ्राइलिंकबाट क्याचआउट भए।

त्यसपछि आएका करण दीपेन्द्रसिंह ऐरीले १६ तथा करण केसीले ७ रन बनाउँदा सोमपाल कामीले २ रन बनाए।

त्यस्तै कुशल मल्ल ३७ बलमा १ चौका र ४ छक्काको सहायतामा ५५ रन बनाउँदै अविजित रहे।

बलिङतर्फ नामिबियाका बेन सिकोन्गोले सर्वाधिक ३ विकेट लिँदा ज्याक ब्रसेलले २ तथा रुबेन ट्रम्पलमेन, जन निकोल लफ्टी र बर्नार्ड स्कल्चले समान १ विकेट लिए।