BIZMANDU
www.bizmandu.com

ग्लोबलसहितका कलेज चलाउने प्रोफेसनल एजुकेटर्सले गर्‍यो एकैवर्ष ६३.६० करोडको व्यापार

२०८० फागुन १६

ग्लोबलसहितका कलेज चलाउने प्रोफेसनल एजुकेटर्सले गर्‍यो एकैवर्ष ६३.६० करोडको व्यापार
ग्लोबलसहितका कलेज चलाउने प्रोफेसनल एजुकेटर्सले गर्‍यो एकैवर्ष ६३.६० करोडको व्यापार

काठमाडौं। नाम चलेका शैक्षिक संस्था सञ्चालन गर्ने प्रोफेसनल एजुकेटर्स लिमिटेडको व्यापार १० करोड ८० लाख रुपैयाँले बढेको छ।

Tata
GBIME
NLIC

प्रोफेसनल एजुकेटर्सले भ्याली भ्यू इंग्लिस स्कुल, ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल कलेज इन्टरनेसनल, ग्लोबल कलेज अफ साइन्स, लिबर्टी कलेज, ग्लोबल कलेज अफ सोसल साइन्स एण्ड टेक्नोलोजी र युनिग्लोब कलेज सञ्चालन गरिरहेको छ। यी कलेजहरुले विज्ञान, व्यवस्थापन, कानून र प्रविधि संकायको पढाई गराउँछन्।

कम्पनीले सन् २०२२/२३ मा ६३ करोड ६० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ। अघिल्लो वर्ष २०२१/२२ मा ५२ करोड ८० लाख रुपैयाँ र २०२०/२१ मा ३६ करोड ३० लाख रुपैयाँको व्यापार कम्पनीले गरेको थियो।

पछिल्लो समय कम्पनीले सञ्चालन गरिरहेका कलेजहरुमा विद्यार्थी भर्नाको दर बढिरहेको छ। सन् २०२२/२३ मा विज्ञान संकायको भर्ना दर २० प्रतिशत व्यवस्थापन संकायको १५ प्रतिशतले बढेको छ। ११ र १२ कक्षामा प्रोफेसनल एजुकेटर्सले सञ्चालन गरिरहेका कलेजहरुमा विद्यार्थीको संख्या ३ हजार हाराहारी छ। जबकि सन् २०१८/१९ मा विद्यार्थी संख्या २१०३ थियो।

व्यापार बढ्नुको पछाडि विद्यार्थी संख्यासँगै शुल्क वृद्धि मानिएको छ।

त्यसैगरी, कम्पनीले भ्याली भ्यू इंग्लिस स्कुलमा १ करोड ६० लाख, लिबर्टी एकेडेमिक नेटवर्क प्रालिमा २ करोड ५० लाख, ग्लोबल कलेज इन्टरनेसनलमा ४ करोड रुपैयाँ लगानी गरेको छ। ११ र १२ कक्षा सञ्चालनका लागि आवश्यक भवन निर्माणमा उक्त लगानी गरिएको हो। सेयर एड्भान्सको रुपमा कम्पनीले ग्लोबल कलेज अफ म्यानेजमेन्टमा ४ करोड ८० लाख र ग्लोबल कलेज अफ बिजनेस एण्ड इकोनोमिक्स लिमिटेडमा ७० लाख रुपैयाँ खर्चिएको छ। यो सबै बैंकबाट ऋण लिएर लगानी गरिएको बताइएको छ।

सन् २०२२/२३ मा कम्पनीको ऋण १ अर्ब ५६ करोड ३० लाख रुपैयाँ पुगेको छ।

कम्पनीको बोर्ड सात सदस्यीय छ। जसको अध्यक्षता डा. खगेन्द्रप्रसाद ओझाले गरिरहेका छन्। यस्तै, प्रधानाध्यापकको जिम्मेवारी अम्बदत्त जोशीले सम्हालिरहेका छन्।

कम्पनीले १ अर्ब ३१ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि इन्फोमेरिक्स नेपालबाट रेटिङ पाएको छ। १ अर्ब २५ करोड रुपैयाँ दीर्घकालीन कर्जाका लागि आइआरएन डबल बी र ५ करोड ९३ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन ए फोर रेटिङ पाएको छ।