काठमाडौं। भारतमा उत्पादन कम भएपछि अस्वाभाविक रुपमा बढेको जिराको मूल्य किलोमै ६५० रुपैयाँसम्म घटेको छ। माघसम्म किलोको १४ सय रुपैयाँ रहेको जिराको मूल्य ७ सय ५० रुपैयाँमा आइपुगेको छ।
‘हामीले फागुन लागेपछि जिरा किलोको ७ सय ५० रुपैयाँमा बिक्री गरिरहेका छौं। हामीलाई डिलरले किलोको ६ सय ८० रुपैयाँमा दिन थालेका छन्,’ सामाखुशीमा रहेको गोर्खाली स्टोरका संचालक कृष्ण भट्टले बिजमाण्डूसँग भने, ‘माघसम्म हामीले किलोको १४ सय रुपैयाँसम्म जिरा बेचिरहेका थियौं।’
उनले जिराको भाउ अझै घट्ने देखिएकाले कम परिमाण मात्रै ल्याएको जानकारी दिए। ‘मूल्य घटिरहेका बेला धेरै किनेर ल्याउँदा फसिन्छ। त्यही भएर कम परिमाण ल्याएर बिक्री गरिरहेको छु,’ उनले भने।
मूल्य आधा घटेपनि केही डिपार्टमेन्टल स्टोर र किराना पसलले भने पूरानै मूल्यमा बिक्री गरिरहेको भेटिएको छ।
राजधानीकै ठूला डिपार्टमेन्टल स्टोरमा किलोको १४ सय रुपैयाँको ट्याग भएका जिरा बिक्रीमा राखिएका छन्। पहिले नै खरिद गरेको भन्दै ती स्टोरले पूरानै मूल्यमा जिरा बेचिरहेका हुन्। जिराको मूल्य एक वर्षअघि किलोको पाँच सय रुपैयाँ हाराहारी थियो।
भारतमा उत्पादन कम भएपछि एकाएक भाउ बढ्न थालेको थियो। नेपालमा खपत हुने ९० प्रतिशत जिरा भारतबाट आयात हुन्छ। बाँकी १० प्रतिशत टर्की र बेल्जियमबाट आयात हुने गरेको छ।
मोरङ व्यापार संघका पूर्वअध्यक्ष खेमचन्द जैनले भारतमा जिराको उत्पादन बढेपछि मूल्य एकाएक घटेको बताए। ‘हामी जिरामा भारतमा निर्भर छौं। गत वर्ष भारतमा उत्पादन कम भएपछि मूल्य अकासियो,’ उनले भने, ‘यो वर्ष उत्पादन राम्रो भयो। त्यही कारण मूल्य घट्न थालेको हो।’
भारतमा आपूर्ति बढ्ने देखिएपछि केही महिनाअघि कमोडिटी बजारमा ५० प्रतिशतले मूल्य घटेर कारोबार भएको थियो। नेसनल कमोडिटी तथा डेरिभेटिभ एक्सचेन्जमा अगस्टमा क्विन्टलको साढे ३२ हजार भारुमा कारोबार भएको थियो। त्यही एक्सचेन्जमा केही समयअघि क्विन्टलको ६५ हजार भारुमा जिरा कारोबार भएको थियो।
गत वर्ष अप्रत्यासित रुपमा वर्षात भइ उत्पादन घटेपछि त्यसको असर मूल्यमा परेको थियो। विश्वमा खपत हुनेमध्ये ७० प्रतिशत जिरा भारतमा उत्पादन हुन्छ।
उत्पादन कम भएको जानकारी पाउनेबित्तिकै आयातकर्ता देशले एग्रेसिभ रुपमा जिरा आयात गरे। केही खाडी मुलुक र चीनले अस्वाभाविक रुपमा आयात गरेपछि भारतसमेत जिराको मूल्य अत्यधिक बढेको थियो।
व्यापारी जैनले गतवर्ष उत्पादन कम हुँदा भारतमै जिराको मूल्य साढे ८ सय भारुसम्म पुगेको र त्यही मूल्य देखेर खेती विस्तार हुँदा अहिले सस्तो हुन पुगेको बताए। ‘गत वर्षको मूल्य देखेर भारतमा जिराको खेती बढ्यो। त्यसले उत्पादन पनि बढायो,’ उनले भने, ‘उत्पादन बढेसँगै मूल्य घट्न थालेको हो। यो मूल्य पहिलाकै अवस्थामा आउनसक्ने देखिएको छ।’