BIZMANDU
www.bizmandu.com

डिम्याट खाता धेरै हुनेलाई सेयर ट्रान्सफर सजिलो बनाइँदै, मेरो सेयरमा थपिंदैछ फिचर्स

२०८० फागुन ११

डिम्याट खाता धेरै हुनेलाई सेयर ट्रान्सफर सजिलो बनाइँदै, मेरो सेयरमा थपिंदैछ फिचर्स
डिम्याट खाता धेरै हुनेलाई सेयर ट्रान्सफर सजिलो बनाइँदै, मेरो सेयरमा थपिंदैछ फिचर्स


काठमाडौं। तपाईं हामीमध्ये कतिपय लगानीकर्ताको एकभन्दा धेरै डिम्याट खाता छ। तर, कुन खातामा कुन कम्पनीको कति कित्ता सेयर छ भन्ने याद भइरहँदैन।

Tata
GBIME
NLIC

आफ्ना नामका सबै डिम्याट खातामा भएका सेयरलाई एउटै खातामा समायोजन गर्न सकिन्छ। यसलाई ‘बीओ टु बीओ’ भनिन्छ। सिडियस एण्ड क्लियरिङ लिमिटेड(सीडीयससी) का अनुसार अहिले ‘बीओ टु बीओ’ का लागि भौतिकरुपमा तीन ठाउँमा उपस्थित हुनुपर्छ।

सीडीयससीले अब सेयर ट्रान्सफरका लागि भौतिक रुपमा उपस्थित हुनुपर्ने झन्झट हटाउन लागेको छ। कम्पनीले ‘बीओ टु बीओ सेयर ट्रान्सफर’का लागि भौतिकरुपमा उपस्थित हुनै पर्ने झन्झट हटाउन मेरो सेयरमा एउटा फिचर्स थप्न लागेको छ।

‘हामीले एकै जनाको डिम्याट खाता धेरै भएको अवस्थामा एउटा खातामा भएको सेयर अर्को खातामा ट्रान्सफर गर्न मिल्ने फिचर्स मेरो सेयरमा थप्न लागेका हौं। जतिसक्दो चाँडै यो सेवा संचालनमा ल्याउने तयारी छ,’ सीडीयसका सूचना अधिकारी सुरेश न्यौपानेले बिजमाण्डूसँग भने।

पछिल्लो समय अंशबन्डा तथा घरायसी धितोपत्रको ट्रान्सफर पनि बढ्दो छ। सफ्टवेयरले घरायसी नामसारीलाई भने समेट्ने छैन।  

‘यो फिचर्समा आफ्नो खातामा भएको सेयर मात्र ट्रान्सफर गर्न मिल्छ। घरायसी/अंशबन्डा लगायत सेयर ट्रान्सफर भने हुँदैन,’ उनले भने।

अहिले धितोपत्र बजारमा ६१ लाख ७७ हजार डिम्याट खाता छन्। सीडीएससीका अनुसार, यसमध्ये करिब ३ लाख दोहोरो खाता हुन्।

अहिलेको प्रक्रिया यस्तो

अहिले कुनै लगानीकर्ताले एउटा खाताको सेयर अर्कोमा जम्मा पार्नु पर्‍यो भने सम्पूर्ण प्रकृया भौतिक हुन्छ। त्यसका लागि सर्वप्रथम डिम्याट खोलेको डीपी(निक्षेप सदस्य)कहाँ गइ ‘बीओ टु बीओ ट्रान्सफर’ फारम लिनु पर्छ।

स्थानान्तरण गर्ने डीपीबाट ट्रेड आईडी मागेर फारममा लेख्नु पर्छ। फारम डीपीबाट रुजु गराउनु पर्छ। त्यसपछि जुन डीपीमा स्थानान्तरण गर्ने हो त्यहीं भएको डिम्याट खाताको ‘डिम्याट खाता एक्नलेजमेन्ट लेटर’ संलग्न गर्नुपर्छ।

प्राप्त गर्ने डीपीको स्वीकृति लिनुपर्छ। त्यसपश्‍चात सीडीयससीको खातामा आवश्यक शुल्क बुझाउनु पर्छ। यसरी सेयर ट्रान्सफर गर्न एउटा खाता भए १०० रुपैयाँ र २ वटा भए २०० रुपैयाँ सीडीयससीलाई बुझाउनु पर्ने व्यवस्था छ।

यसबाहेक ट्रान्सफर गर्ने डीपीलाई लगानीकर्ताले डिम्याटमा भएको सेयर अनुसार प्रति कम्पनीको २५ रुपैयाँ बुझाउनु पर्छ।   

सीडीयससीलाई बीओ टु बीओ ट्रान्सफर फारम, डिम्याट खाता एक्नलेजमेन्ट लेटर र शुल्क जम्मा गरेको भौचर बुझाएपछि बल्ल सेयर ट्रान्सफर हुन्छ।

सेयर ट्रान्सफरका लागि सीडीयससीमा अहिले दैनिक ५० देखि ६० वटा निवेदन पर्ने गरेको छ।

‘ट्रेड आईडी एक दिनको मात्र हुने भएकाले यो सम्पूर्ण काम एकै दिनमा हुनुपर्छ। नभए सबै रद्द हुन्छ,’ अनलाइन सेक्युरिटिजका अध्यक्ष अनन्तकुमार पौडेलले भने, ‘त्यसैले बजारमा नयाँ प्रविधि एकदमै आवश्यक छ।’