काठमाडौं। भुकम्पपछि नयाँ अपार्मेन्टहरु बन्न ठप्प भएका बेला राजधानीको विशालनगरमा प्रिमियम अपार्टमेन्ट निर्माण हुने भएको छ। जग्गासहित ३ अर्ब रुपैयाँ लगानीमा केसी र कयाल ग्रुपको संयुक्त लगानीमा प्रिमियम अपार्टमेन्ट बन्ने भएको हो।
एउटै युनिटको २२ करोड रुपैयाँसम्म पर्ने गरी डीएलएफ ग्रिन्स् अपार्टमेन्ट निर्माण गर्न लागेको हो।
घरजग्गा बजार शिथिल बनिरहेको स्थितिमा अपार्टमेन्ट निर्माणका लागि केसी र क्याल समूहले डीएलएफ नेपाल बिल्डर्स प्रालि नामक होल्डिङ कम्पनी स्थापना गर्ने काम अघि बढाउन लागेका हुन्। डेढ वर्षयता काठमाडौं रिङरोडभित्र ठूलो लगानीको अपार्टमेन्ट परियोजना आएका छैनन्।
जग्गासहित डीएलएफ ग्रिन्स् अपार्टमेन्टको अनुमानित लागत ३ अर्ब रुपैयाँ रहेको केसी समूहका निर्देशक रोशन केसीले जानकारी दिए।
दुईवटा टावर रहने अपार्टमेन्टमा कुल ४६ युनिट हुनेछन्। ८ रोपनी क्षेत्रफलमा निर्माण हुने अपार्टमेन्टको दुईवटा टावरमा २३/२३ वटा युनिट बन्दैछन्।
८ रोपनीको २० प्रतिशतलाई ग्रीन स्पेस र ४० प्रतिशतलाई ओपन स्पेस बनाउने गरी डिजाइन तयार गरिएको केसीले जानकारी दिए। अर्थात् अपार्टमेन्ट परियोजनाको ६० प्रतिशत क्षेत्रफल खुला छोडिनेछ।
हरेक युनिट न्यूनतम ३ हजार वर्गफिटमा बनाइनेछ। डुप्लेक्स पेन्टहाउसको कार्पेट एरिया नै झण्डै ६ हजार वर्गफिट छ। अपार्टमेन्ट निर्माण ३ वर्षमा सकेर हस्तान्तरण गर्ने योजना कम्पनीको छ। सुरुवाती बुकिङ गर्नेहरुका लागि अपार्टमेन्टको मूल्य प्रति वर्गफिट २५ हजार रुपैयाँ तोकिएको केसीले बताए।
केही समयपछि मूल्य प्रति वर्गफिट २९ हजार रुपैयाँ पर्नेछ। यस हिसाबले अपार्टमेन्टको न्यूनतम मूल्य ७ करोड रुपैयाँदेखि अधिकतम २२ करोड रुपैयाँसम्म पर्ने केसीले जानकारी दिए।
अपार्टमेन्टको आर्किटेक्चर, स्ट्रक्चर र एमईपी डिजाइन सिंगापुरको मेनहार्डट सिंगापुर (पीटीई) लिमिटेडले गरेको हो।
अपार्टमेन्टमा निर्माण हुने युनिटहरु विभिन्न १० प्रकारका हुनेछन्। अपार्टमेन्टमा तीन, चार र पाँच बेडरुमसहित पेन्टहाउसका युनिट रहनेछन्। कम्पनीले केही दिनभित्रै भूमि पुजा गरेर निर्माण कार्य अघि बढाउँदैछ।
अपार्टमेन्टमा रहने पेन्टहाउस विभिन्न चार प्रकारका हुने कम्पनीले जनाएको छ। जसमध्ये दुईवटा डुप्लेक्स र बाँकी दुईवटा सिंगल युनिट रहने छन्। कम्पनीका अनुसार, पेन्टहाउस अपार्टमेन्टकै सबैभन्दा ठूलो युनिट हुनेछ। अपार्टमेन्ट वास्तुअनुसार निर्माण गरने तयारी छ।
अपार्टमेन्टमा दुईतलाको बेसमेन्ट पार्किङ निर्माण हुनेछ। अप्पर र लोअर बेसमेन्टमा १०७ वटा चार पांग्रे सवारीसाधन पार्किङ गर्न सकिने कम्पनीको भनाइ छ। हरेक युनिटलाई २ वटा गाडी पार्किङ स्पेस प्रदान गरिनेछ। यसका साथै थप १५ वटा स्लट गेस्ट पार्किङका लागि छुट्याउने तयारी डेभलपरको छ। बेसमेन्टमा मेकानिकल कक्षहरुसमेत बनाइनेछ।
सम्भवत नेपालमा निर्माण भएका अपार्टमेन्टहरुमा अहिलेसम्मकै नयाँ प्रविधि ‘गार्बेज स्युट’ जडान हुने केसीले जानकारी दिए। ‘यो नेपालमै पहिलो पटक हुँदैछ। आफ्नो युनिटबाट फोहोर निकालेर हरेक दिन तल लैजान झन्झट हुने भएकाले गार्बेज स्युट जडान हुँदैछ। लिफ्टबाट फोहोर ओहोरदोहोर गराउँदा दुर्गन्ध फैलिन्छ,’ केसीले भने।
त्यसैगरी, सवारी चालकहरुको सुविधाका लागि बेसमेन्टमै आराम कक्ष (सिटिङ स्पेस) निर्माण हुनेछ।
कम्पनीका अनुसार अपार्टमेन्टको भुँइतलामा विभिन्न सेवा सुविधा सहितका संरचना (एम्निटिज) निर्माण हुनेछन्। भुँइतला आवासीय नभएर रिक्रिएसनल क्षेत्रको रुपमा बनाउने योजना कम्पनीको छ। भुँइतलामा लबी, कार्यालय, बैठक कक्ष बन्नेछन्। अपार्टमेन्टको भुँइतलामै स्वीमिङ पुल, जीम हल, स्पा, स्टीम र साउना निर्माण हुनेछ।
यस्तै, अपार्टमेन्टको पहिलोदेखि छैठौं तलासम्म एकै प्रकृतिका युनिट निर्माण हुनेछ। यी तलाहरुमा ३ र ४ बेडरुम सिंगल युनिट अपार्टमेन्ट बन्नेछ। सातौंदेखि बन्ने युनिट र दशौं तलामा निर्माण गरिने पेन्टहाउस भने डुप्लेक्स युनिटमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
केसीका अनुसार, अपार्टमेन्टमा सबै युनिटमा घरेलु कामदारका लागि छुट्टै व्यवस्थासहितको कोठा निर्माण गरिनेछ। अपार्टमेन्टका कुनै पनि युनिट घाम नछेकिने गरी बनाइनेछ। साथै काठमाडौं उपत्यकाको दृष्यसमेत देखिने उनको भनाइ छ।
‘हामीले व्यवहारिक पक्षलाई हेर्यौं। सर्भेन्टका लागि छुट्टै ढोका र बाथरुम बनाउने गरी डिजाइन गरेका छौं। मुल युनिटबाट अलग राख्छौं। घरबाट बाहिर जानुपर्यो भने घरधनीको युनिटलाई नछोइकनै सर्भेन्टले छुट्टै पहुँच पाउन सक्नुहुन्छ,’ केसीले भने।
कम्पनीले कर्पोरेट क्षेत्रका उच्चपदस्थ कर्मचारीदेखि उद्योगी व्यवसायीलाई लक्षित गरेर अपार्टमेन्ट बनाउन लागेको उनले जानकारी दिए। ‘बैंकका सीईओसहित कर्पोरेटको उच्च ओहोदामा रहेका व्यक्तिहरुलाई लक्षित गरेर अपार्टमेन्ट बनाउन लागेका हौं,’ केसीले भने।