काठमाडौं। नेपाली क्रिकेट टोलीले नामिबिया सामू सामान्य चुनौती प्रस्तुत गरेको छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गत कीर्तिपुरमा जारी त्रिकोणात्मक सिरिजको आज जारी खेलमा नेपाल ३७.१ ओभरमा १६८ रन बनाएर अलआउट भएको हो।
नामिबियालाई १६९ रनको लक्ष्य दिने क्रममा नेपालका तीन मुख्य ब्याटर अनिल कुमार साह, रोहित पौडेल र देव खनाल डकआउट भए।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेख पहिलो विकेटका ३८ रनको साझेदारी गर्दै औशत सुरुवात दिलाए। ६.२ ओभरमा १८ रन बनाएका भुर्तेल बर्नार्ड स्कोल्चको बलमा बोल्ड आउट हुन पुगे।
उनी पछि आएका अनिल कुमार साह र देव खनाल डकआउट हुँदा ७.६ ओभरमा नेपाल ४३-३ को खराब अवस्थामा पुगेको थियो। त्यसपछि आएका कुशल मल्लसँग मिलेर आशिफले साझेदारी अघि बढाए। मल्लसँग ५७ रनको साझेदारी गरेका आशिफले नेपालका लागि सर्वाधिक ५८ रन बनाएर बर्नार्डकै बलमा बोल्डआउट हुन पुगे।
आशिफ पछि आएका कप्तान रोहित पौडेल डकआउट हुन पुगे। उनी जन निकोलको बलमा खराब सट खेल्दै २३.२ ओभरमा पभेलियन फर्किए।
नियमित भन्दा पछिल्लो अर्डरमा आएका भीम सार्कीले संयमित ब्याटिङ गर्दै नेपालको इनिङ्स सम्हाल्ने कोशिष गरे पनि उनीसँग अन्य ब्याटरले ठूलो साझेदारी बनाउन सकेनन्।
कुशल मल्ल २६.३ ओभरमा ३६ रन बनाएर पभेलियन फर्किएपछि क्रिज अस्थिर रह्यो। उनी नामिबियाका कप्तान जेरार्ड इरास्मसको बलमा ज्याक ब्रासेलबाट क्याचआउट भए। उनीपछि आएका दीपेन्द्रसिंह ऐरी ६ र सोमपाल कामी ४ रन बनाएर पभेलियन फर्किए।
भीम २६ रन बनाएर ३४.६ ओभरमा बर्नाडकै बलमा बोल्डआउट हुन पुगे। उनी पछि करण केसीले १२ रन बनाए।
बलिङतर्फ नामिबियाका बर्नार्ड स्कल्च र जन निकोलले समान ४ विकेट लिए। त्यस्तै ज्याक ब्रासेल र कप्तान जेरार्ड इरास्मसले समान १ विकेट लिए।
नामिबिया केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।