BIZMANDU
www.bizmandu.com

७२ रुपैयाँमा पहिलो कारोबार भएको समाज लघुवित्तको सेयर भाउ ७ महिनामा कसरी पुर्‍याइयो १६३५?

२०८० फागुन ६

७२ रुपैयाँमा पहिलो कारोबार भएको समाज लघुवित्तको सेयर भाउ ७ महिनामा कसरी पुर्‍याइयो १६३५?
७२ रुपैयाँमा पहिलो कारोबार भएको समाज लघुवित्तको सेयर भाउ ७ महिनामा कसरी पुर्‍याइयो १६३५?


काठमाडौं। सेयर बजार परिसूचक आइतबार २७.२१ अंकले घट्दा पनि त्यसको असर समाज लघुवित्तमा परेन। बरु यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। यसको सेयर भाउ प्रति कित्ता १४८.६० रुपैयाँले बढ्यो। समाज लघुवित्तको १ कित्ता सेयरको मूल्य १ हजार ६ सय ३५ रुपैयाँ २० पैसा पुगेको छ।

Tata
GBIME
NLIC

यो कम्पनीको सेयर मूल्य सर्किट लागेर बढेको आइतबार मात्र होइन। मूल्य माघ १८ गतेयता निरन्तर उकालो लागिरहेको छ। त्यसयता १२ दिन सेयर बजार खुलेकामा समाज लघुवित्तको मूल्यमा १० दिन सर्किट लागेको छ।

समग्र बजार घटेको तथा अन्य लघुवित्तको सेयर सस्तिएका बेला समाज लघुवित्तको चाहिँ किन उकालो लागिरहेको हो त? दिनदिनै सर्किट लाग्नुपर्ने गरी कम्पनीले त्यस्तो के छलाङ मार्‍यो? यसका लागि कम्पनीको वित्तीय विवरण हेरौं।

कम्पनीले गत माघ १८ गते चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्‍यो।

कम्पनीको सेयर मूल्य बढ्नुपर्ने कारण केही पनि देखिँदैन। कम्पनी पहिलो त्रैमासदेखि नै नोक्सानीमा छ। दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनी १६ लाख ७० हजार रुपैयाँ नोक्सानीमा छ। गत वर्ष पुससम्म कम्पनीले ३० लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

उसको प्रति सेयर आम्दानी ऋणात्मक छ। पोहोर पुसमा १५.३६ रुपैयाँ रहेको प्रति सेयर आम्दानी अहिले ७.३१ रुपैयाँ ऋणात्मक छ। खराब कर्जा पनि ४ प्रतिशतभन्दा बढी छ।

वित्तीय विवरण जुन दिन सार्वजनिक भयो, त्यही दिनदेखि मूल्य अस्वाभाविक रुपमा बढ्न थालेको हो।

नोक्सानीको विवरण सार्वजनिक हुँदाका दिन बजार खुल्नुअघि कम्पनीको सेयर मूल्य प्रति कित्ता ५४९ रुपैयाँ थियो। त्यो दिन ६.१ प्रतिशतले बढ्यो। भोलिपल्ट ६.२ प्रतिशले उकालो लाग्यो। त्यसयता निरन्तर सर्किट। १२ दिनमै समाज लघुवित्तको सेयर मूल्य करिब २०० प्रतिशत बढिसकेको छ।

कुन दिन कतिका दरले सेयर भाउ महँगियो भन्ने कुरा तलको तालिकाबाट छर्लंग हुन्छ।

कम्पनीले २०७७ भदौ ४ गतेबाट ८ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ जारी गरेको थियो। आइपीओ असोज ८ गते नेप्सेमा सूचीकृत भयो। नेप्सेले पहिलो कारोबारका लागि ७२ रुपैयाँदेखि २०६ रुपैयाँसम्म ओपनिङ रेन्ज प्रदान गर्‍यो।

तर स्वस्तिक लघुवित्तसँग मर्जर प्रक्रियामा गएका कारण लामो समय समाज लघुवित्तको सेयर दोस्रो बजारमा कारोबारमा आएन।

स्वस्तिक लघुवित्तसँग मर्जर भने सफल भएन। मर्जर रद्द भएपछि कम्पनीको सेयर गत साउन १ गतेबाट दोस्रो बजारमा कारोबारमा आएको हो। कम्पनीको पहिलो कारोबार नेटवर्थकै आधारमा प्रति कित्ता ७२.१० रुपैयाँमा भयो।

त्यसयता ७ महिनामा कम्पनीको सेयर मूल्य २१.६७ गुणा बढिसकेको छ।

कम्पनीले २०७८/७९ को नाफाबाट लगानीकर्तालाई १४.२५ प्रतिशत बोनस सेयर वितरण गर्‍यो। बोनस सेयरका लागि मूल्य समायोजन पश्चात कम्पनीको सेयर मूल्य ६४.८० रुपैयाँसम्म झरेको थियो। त्यसबाहेक दोस्रो बजारमा कारोबारमा आएयता यो कम्पनीको सेयर मूल्य एक दिन पनि घटेको देखिँदैन।

पुँजी कम भएकाले म्यानुपुलेसन

सेयर बजार बढ्न नसकेपनि पछिल्लो समय वित्तीय हिसाबले कमजोर देखिएका कम्पनीको सेयर मूल्य भने अस्वाभाविक रुपमा बढाउने काम भइरहेको छ। सेयर ब्रोकर तथा जानकारहरु वित्तीय अवस्था खराब भएको कम्पनीको सेयर मूल्य बढाइनुलाई ‘म्यानुपुलेसन’ भन्छन्। म्यानुपुलेसनको कारण हो, सेयर सप्लाइ कम हुनु।

समाज लघुवित्तको सेयर निकै कम छ। चुक्ता पुँजी नै जम्मा २ करोड २८ लाख ५० हजार रुपैयाँ छ। हाल नेप्सेमा सूचीकृत कम्पनीको २ लाख २८ हजार ५०० कित्ता सेयरमध्ये १ लाख ३० हजार २४५ कित्ता संस्थापकहरुको हो। अर्थात पब्लिकमा ९८ हजार २ सय ५५ कित्ता मात्र छ।

‘यो कम्पनीको सेयर नै भेटिँदैन। सप्लाइ एकदमै कम आउँछ। मूल्य निरन्तर सर्किट लागेर बढेपछि बाइ अर्डरहरु धेरै आइरहेको छ। सप्लाइ एकदमै कम भएकाले जोसँग धेरै छ, उसैले नै सर्किट लगारहेका छन्,’ एक ब्रोकरले भने।

यस्तै एक बजार विश्लेषकले पनि ब्रोकरको भनाइमा सहमति जनाए। ‘कम्पनीको वित्तीय अवस्थाअनुसार अहिलेको मूल्य निकै धेरै हो। तर सप्लाइ निकै कम रहेकाले मूल्य बढाउने काम भइरहेको छ,’ एक विश्लेषकले भने, ‘यस्तो चलखेल रोक्न धितोपत्र बोर्डको सुपरभाइजरी सिस्टम राम्रो बनाउन आवश्यक छ। अन्यथा म्यानुपुलेसन रोकिँदैन।’

नेप्सेका अनुसार पछिल्ला १२ कारोबार दिनमा बजारमा यो कम्पनीको जम्मा २ हजार ६०० कित्ता सेयर किनबेच भएको छ। त्यसमध्ये १ हजार ३०० कित्ता आइतबार किनबेच भएको हो।