हरेक वर्ष ३१ डिसेम्बरका दिन विश्वले चिनियाँ राष्ट्रपति सी जिनपिङको अफिस देख्ने मौका पाउँछ जहाँबाट उनी नयाँ वर्षको शुभकामना दिन्छन्।
सन् २०१८ को डिसेम्बर ३१ मा सबैभन्दा बढी ध्यान खिच्यो सीको वर्किङ डेस्क पछाडि रहेको किताबको दराजले, जहाँ आर्टिफिसियल इन्टेलिजेन्सबारे दुई किताबहरु राखिएका थिए।
एक थियो कम्प्युटर साइन्सका प्रोफेसर पेद्रो डोमिन्गोको किताब ‘द मास्टर अल्गोरिदम’ अनि अर्को अष्ट्रेलियन भविष्यवादी लेखक ब्रेट किङको ‘अग्मेन्टेड: लाइफ इन द स्मार्ट लेन’।
सन् २०१५ मा प्रकाशित डोमिन्गोको किताब मेसिन लर्निङ र त्यसले मानिसको दैनिक जीवनमा पार्ने प्रभावसँग जोडिएको छ। युनिभर्सिटी अफ वासिङ्टनमा कम्प्युटर साइन्सका प्रोफेसरको उक्त किताबलाई बिल गेट्सले पनि पढ्नुपर्ने किताबका रुपमा रेकमेन्ड गरेका थिए।
यस्तै ब्रेट किङको किताब अग्मेन्टेडमा २० वर्षपछिको विश्वको परिकल्पना गर्दै त्यसबेला मानिसले प्रविधिहरुसँग जोडिएर कसरी जीवन सहज बनाउन सक्छन् भन्नेबारे वर्णन गरिएको छ।
यी दुबै किताब सीको लाइब्रेरीमा अट्नु केबल संयोग मात्र थिएन। त्यसको जम्मा दुई महिना अघि सीले आफ्नो भाषणमा सन् २०३० सम्ममा चीनलाई आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा विश्वकै लिडर बनाउने योजना अघि सारेका थिए।
चीनले आफ्नो कोर एआई उद्योगबाट वार्षिक १५० अर्ब डलर र त्यसँग सम्बन्धित अन्य उद्योगबाट १.५ ट्रिलियन अमेरिकी डलर आर्जन गर्ने लक्ष्य राखेको छ।
वास्तविक अर्थतन्त्रलाई अझ बढी गतिशील बनाउन अत्याधुनिक प्रविधिहरु इन्टरनेट, बिग डेटा तथा आर्टिफिसियल इन्टेलिजेन्सलाई एकआपसमा गहिरोसँग जोड्नुपर्ने आवश्यकता सीको भाषणको सार थियो। जब ती दुई किताब सीको सेल्फमा देखियो तब अनुमान लगाउन त्यति गाह्रो भएन, उनले यसबारे थप जानकारी बटुल्न यीनै किताबको अध्ययन गरेका थिए।
चिनियाँ राष्ट्रपति सि किताब पढ्न असाध्यै उत्सुक छन्। उनले आफ्ना भाषणमा चार्ल्स डिकेन्स, भिक्टर हुगो र पाउलो कोहेलोजस्ता लेखकको भनाई उद्धृत गर्ने गर्छन्। उनका किताब राख्ने दराजमा विश्वप्रसिद्ध लेखकका यस्तै धेरै किताब छन्।
सीको सेल्फमा देखिएका आर्टिफिसियल इन्टेलिजेन्समाथिका यी दुई किताबका कारण यसका लेखकप्रति विश्वभर थप जिज्ञासा पैदा भयो।
यिनै चर्चित लेखकमध्येका एक ब्रेट किङ नेपालमा छन्। बेस्टसेलर लेखकको परिचय बनाएका उनले शुक्रबार नेपालका टप सीइओ तथा बैंकरहरुलाई २१औं शताब्दीमा वित्तीय सेवाका क्षेत्रमा कसरी लिडर बन्न सकिन्छ भनेर बैंकरहरुलाई प्रवचन दिनेछन्। फिनटेकका गडफादर भनेर चिनिने किङले फिनटेक र यससँग जोडिएका विभिन्न विविध आयामबारे आफ्नो अनुभव काठमाडौंमा साझा गर्दैछन्।
‘फिनटेकमा काम गर्नेहरुका लागि ब्रेट किङसँग साक्षात्कार गर्न पाउनु अद्वितीय नै हुन्छ। हामीले गत वर्ष पनि उहाँलाई नेपाल ल्याउन प्रयत्न गरेका थियौं, तर सकेनौं, भाग्य भनौं यसपटक त्यो असम्भव काम सम्भव भएको छ,’ एफवान सफ्ट समूहका निर्देशक सुवास शर्मा भन्छन्, ‘ब्रेट किङ एक घण्टा प्रवचन दिंदा झण्डै ४० हजार डलर (नेपाली ५० लाख रुपैयाँ) लिन्छन्। त्यसवाहेक उनको आउने जाने बस्ने सम्पूर्ण व्यवस्था आयोजकले नै गर्नुपर्छ। संयोग यसपटक हामीले नेपालमा हाम्रो बजेटमा ल्याउन सफल भएका छौं।’
निर्देशक शर्माले भने- ‘किङका लागि नेपाल नयाँ ठाउँ थियो, घुम्न चाहेको ठाउँ, त्यस्तो बेला हाम्रो एप्रोच पुगेपछि उहाँ तीन दिनका लागि नेपाल आउनु भएको हो।’ नेपाल आएको अवसरमा किङको प्रवचन राख्ने गरी बैंकर्स मिटअप कार्यक्रम डिजाइन गरिएको पनि उनले जानकारी दिए।
‘एफवान सफ्टको सिग्नेचर कार्यक्रम बैंकर्स मिटअपलाई अर्को लेभलमा लैजाने चुनौती रहेको बताउँदै उनले ब्रेट किङको आगमनले सबैको उत्सुकता बढेको बताए।

अमेरिकी राष्ट्रपति बाराक ओबामाको ‘फिनटेक नीति’ सल्लाहकार रहिसकेका लेखक ब्रेट किङको किताब अग्मेन्टेडले अबको २० वर्षमा जुन हिसाबले विश्व परिवर्तन हुनेछ त्यो विश्वमा मानिसले आफ्नो जीवनलाई कसरी सहज रुपमा अघि बढाउन सक्छ भन्नेबारे भविष्यवादी दृष्टिकोण प्रस्तुत गरेको छ।
ब्रेटले नयाँ युग चारवटा ‘थिम’ वरपर घुम्ने बताएका छन्। उनका अनुसार अबको विश्व आर्टिफिसियल इन्टेलिजेन्स, एक्सपेरियन्स, डिजाइन, स्मार्ट इन्फ्रास्ट्रक्चर तथा हेल्थकेयर टेक्नोलोजीमा आधारित हुनेछ।
किताबमा उनले लेखेका छन् –’जो मानिससँग डिजिटल परिचय हुने छैन त्यो मानिस नयाँ विश्वमा कम विश्वसनीय मानिनेछ।’
किङ बेस्टसेलर लेखक मात्र होइनन् विश्वकै पहिलो मोबाइल डाउनलोडेबल बैंक अकाउन्ट मुभनका सहसंस्थापक पनि हुन्। न्यूयोर्कमा मुख्यालय रहेको मुभन सफल मोबाइल बैंकिङ स्टार्टअपका रुपमा परिचित छ। मुभन यस्तो एप हो जसले डेबिट कार्डबाट हुने किनमेलको रियलटाइम अपडेट दिने गर्छ।
मोटिभेसनल स्पिकर पनि रहेका उनले फिनटेक तथा बैकिङबारे विश्वका ५० देशहरुमा प्रवचन दिइसकेका छन्। उनले नियमित रुपमा विश्वका ठूला बैंकका बोर्ड तथा नियामकहरुलाई ‘टेक ट्रान्फर्मेसन’ बारे सरसल्लाह पनि दिँदै आएका छन्।
उनले एचएसबीसी, स्ट्यान्डर्ड चार्टर्ड, सिटी बैंक तथा अमेरिकी एक्सप्रेसका लागि डिजिटल रणनीतिहरु तयार पार्ने काम गरेका छन्। उनको परिचय मोटिभेसनल स्पिकर, स्टार्टअप फाउन्डर, बेस्टसेलिङ अथर रेडियो होस्ट टेलिभिजन कमेन्टेटरसम्म छ।
‘ब्रेकिङ बैंक्स’ नामको उनको रेडियो कार्यकक्रम विश्वका १८० देशहरुमा प्रसारण हुन्छ जहाँ उनी बैंकिङ, बिजनेस टेक्नोलोजी र समाजको भविष्यबारे बोल्दै आएका छन्।
किङले अष्ट्रेलियाको मोनास युनिभर्सिटीबाट पढाइ पूरा गरेका उनले हङकङस्थित अष्ट्रेलियन ग्र्याजुयट स्कुल अफ म्यानेजमेन्टको एमबिए प्रोग्राममा पढाएका पनि छन्।
ब्रेट किङ सन् १९६८ मा अष्ट्रेलियामा जन्मिएका हुन्। उनी विश्वभर वित्तीय सेवाको क्षेत्रमा इन्फ्ल्युएन्सका रुपमा परिचित छन्। सन् २०१९ मा उनको किताब बैंक-४.० ले रुसमा पनि अवार्ड पाएको थियो। टप फरेन ल्याङ्ग्वेज बुक अन्तर्गत रुसले उक्त किताबलाई अवार्ड दिएपछि किङको चर्चा थप चुलियो। विश्व फिनटेक उद्योगमा गरेको योगदानको कदर गर्दै उनले सन् २०२० मा ‘फिनटेक हल अफ फेम’ को सम्मान पनि पाइसकेका छन्।
ब्रेट किङले सातभन्दा बढी किताबहरु लेखेका छन् जुन मुख्यगरी सोसल मिडिया, बिजनेस इन्टेलिजेन्स, मोबाइल डिभाइस तथा तिनीहरुको मानवजीवनसँगको अन्तरसम्बन्धसँग जोडिएका छन्। त्यस्तै उनले लेखेको बैंकिङ सम्बन्धित किताबहरु पनि चर्चित छन्।
सन् २०१८ मा प्रकाशित उनको बैंक-४.० किताब सन् २०१९ मा अमेजनको बैंकिङ तर्फको टप सेलिङ बुक बनेको थियो। जुन आजसम्म पनि बैंकिङको टप सेलिङ बुकमै पर्दछ।
किताब २१औं शताब्दीको विश्वमा बैंकहरुको भविष्य कस्तो होला भन्ने थिममा आधारित छ। यस्तै, कोभिड महामारीपछि लेखिएको उनको द राइज अफ टेक्नोसोसियलिज्म चर्चित किताब हो।
बैंक २.०, बैंक ३.० र बैंक ४.० किताब बैंकहरुका लागि भविष्यमा आवश्यक टेक इन्नोभेसनहरुमा आधारित छ। उनले ती किताबहरुबाट भविष्यमा बैंकहरुले सामना गर्न सक्ने समस्याको समाधान खोज्ने प्रयास गरेका छन्। साथै भविष्यमा देखिने प्रविधिगत समस्याहरुले बैंकलाई कसरी परिवर्तन गर्न सक्छ र त्यसलाई कसरी बैंकहरुले ट्याकल गर्ने भन्नेबारे ‘अवेरनेस रेजिङ इफोर्ट’का रुपमा लिइन्छ।
उनलाई फिनटेकका गडफादरकै रुपमा लिइन्छ। सन् २०१० यता उनका प्रकाशित सबै पुस्तकहरु बैंक तथा वित्तीय सेवा उद्योगसँगै जोडिएका छन्।
करियरको सुरुवातमा डेलोइटमा काम गरेका किङले इ-बिजनेस र कस्टमर एक्सपेरियन्सबारे पनि बलियो सुझबुझ राख्छन्।

बैंकहरुको भविष्यबारे कुरा गर्ने उनी आगामी दशकहरुमा बैंकहरु कसरी परिवर्तन हुँदै जान्छन् भन्ने बारे बलिया तर्कहरु दिएर प्रवचन दिन्छन् भने बैंकहरुको क्षमता र भावी दिनमा गर्नुपर्ने परिवर्तनहरुबारे रेकमेन्ड पनि गर्छन्।
‘बैंकहरुको पुरातन माइन्ड सेट परिवर्तन गर्न जरुरी छ,’ उनी भन्छन्- ‘विगत ६० वर्षदेखि बैंकहरु जसरी चलिरहेका थिए भविष्यमा आउने सिफ्टलाई बैंकहरुले पुरानै अवधारणाका कारण आत्मसाथ गर्न सकिरहेका छैनन्। तर, भविष्यमा उनीहरु डिजिटल स्पेसमा जानुको विकल्प नै छैन। रिटेल ब्रान्चहरुको अवधारणामा चलिरहेको बैंकहरुलाई आफ्नो विद्यमान ‘माइन्ड सेट’ परिवर्तन गर्दै लैजान समय लाग्छ तर त्यो सम्भव छ।’
भविष्यमा फिनटेकको स्कोप के हुन्छ भन्ने बारे उनी भन्छन्- ‘हामीसँग धेरै छनोट हुनेछन्। बैंकलाई यसले नयाँ र फरक किसिमको मापदण्ड तयार गरेर नेक्स्ट लेभलमा लैजानेमात्र छैन, नयाँ प्रविधि र नयाँ आविष्कारसँग जोड्ने पनि छ।’
कोभिडकालपछिको विश्वबारे उनले लेखेको किताब ‘द राइज अफ टेक्नोसोसियलिज्म’ कोभिड-१९ पछि विश्व अर्थतन्त्र कसरी प्रभावित बने भन्नेबारे छ। उनले डा. रिचर्ड पेटीसँग मिलेर लेखेको यो किताब सन् २०२१ मा प्रकाशित भएको थियो। असमानता, आर्टिफिसियल इन्टेलिजेनस तथा जलवायु परिवर्तनले कसरी नयाँ विश्वलाई गाइड गर्छ भन्ने विषयमा उक्त किताब लेखिएको छ।
विश्वमा भइरहेको तीव्र परिवर्तन र उत्पन्न जटिल चुनौतीबारे सोचनीय बनाउने तथ्यहरु यो किताबमा छन्। यस्तै नयाँ सम्भावनाका ढोका खोल्नेतर्फ पनि किताबले केही ‘रेकमेन्डेसन’ दिएको छ। आगामी दिनमा सामाजिक परिवर्तन अवश्यम्भावी छ। त्यसैले ब्रेट किङको चिन्ता हो- कसरी हाम्रा बालबालिकाहरु एआई र जलवायु परिवर्तनका जटिलता झेलेर बाँच्लान्? यो चिन्ता उनको मात्र नभई विश्वकै साझा चिन्ता पनि हो।
त्यसैले उनी भन्छन्- ‘अबको विश्व मानव समुदायले अहिलेसम्मै नदेखेको ‘संक्रामक’ र ‘विध्वंसकारक’ हुनेछ। राजनीतिक, आर्थिक र सामाजिक विचारधाराहरुलाई यसले चुनौती दिनेछ। मानव समुदायले कल्पना समेत गर्न नसकेका परिदृश्य जन्मिनेछन्। त्यसैले भविष्यका लागि ‘स्मार्ट वर्ल्ड’ बनाउन हामी ‘टेक ट्रान्सफर्मेसन’मै जानुको विकल्प छैन।’