काठमाडौं। भुक्तानी प्रदायक माई-पे डिजिटल वालेट कम्पनीले नयाँ कम्पनी खडा गरेर गैरकानुनी रुपमा सुनचाँदीको कारोबार गरेको पाइएको छ।
वालेट कम्पनीले ‘माई-पे गोल्ड प्राइभेट लिमिटेड’ कम्पनी खडा गरेर सुनचाँदीको भर्चुअल कारोबार गर्दै आएको खुलेको हो। माई-पे डिजिटलका अध्यक्ष जयप्रसाद भट्टराई हुन्। अष्ट्रेलिया बसेका भट्टराईले केही वर्षअघि यो वालेट किनेका थिए। वालेटको कारोबार राम्रो नभएपछि अर्को कम्पनी खडा गरेर सुनचाँदीको कारोबार गर्न थालेको स्रोतले बतायो। सुनचाँदीको भर्चुअल कारोबारका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनुपर्छ।
अहिले कमोडिटी कारोबारका लागि चार वटा कम्पनीले आवेदन दिएका छन्। तर अहिलेसम्म अनुमति भने पाएका छैनन्। कमोडिटी कारोबारका लागि बोर्डमा यो कम्पनीले आवेदन दिएको छैन। तर कम्पनीले नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डमा पत्र पठाएर कारोबार गरेको जिकिर गरेको छ। कम्पनीले कात्तिक १३ गते पत्र पठाएको दाबी गर्छ।
‘वस्तु विनिमय बजार अन्तर्गत अहिलेसम्म बोर्डले कसैलाई अनुमति दिएको छैन। अनुमतिविना कुनै पनि कम्पनीले कारोबार गर्न पाउँदैन,’ बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले बिजमाण्डूसँग भने।
कम्पनीका अनुसार माई-पे गोल्डमार्फत कारोबारका लागि हालसम्म ११ हजार लगानीकर्ताले रजिष्ट्रेसन गराएका छन्। तीमध्ये करिब ३ हजार लगानीकर्ताले सक्रियरुपमा कारोबार गर्दै आएका छन्।
कसरी हुन्छ कारोबार ?
कम्पनीले करिब एक वर्षदेखि सुनचाँदीको कारोबार गराउँदै आएको छ। कारोबारका लागि सबैभन्दा पहिला माई-पे गोल्ड एप डाउनलोड गर्नु पर्छ। त्यसपछि साइन इनमा गएर आफ्नो पूरा नाम र इमेल राख्नु पर्छ। साइन इन गरेपछि इमेलमा पासवर्ड आउँछ। त्यसैका आधारमा खाता खोल्न सकिन्छ।
खाता खोलिसकेपछि दैनिक सुनचाँदी खरिद बिक्री गर्न सकिन्छ। कम्पनीले नेपाली मूल्य अनुसार कारोबार गराउने गरेको छ। खरिद गरेको भुक्तानी माई-पे वालेटबाट मात्र तिर्न मिल्छ।
न्यूनतम १०० रुपैयाँदेखि सुनचाँदी खरिद गर्न मिल्छ। तर बिक्रीका लागि भने १,००० रुपैयाँ बराबरको सुनचाँदी खातामा हुनु पर्छ। बिक्री गरेको रकम भने कम्पनीले बैंक खातामा जम्मा गरिदिन्छ।
यसरी खरिदबिक्री गर्दा कम्पनीलाई तोकिएको प्रतिशत कमिसन बुझाउनु पर्छ। कम्पनीका अनुसार एक वर्षभन्दा कम होल्डिङ रहेको सुनचाँदी बिक्री गर्दा नाफाको ३ प्रतिशत र एक वर्षभन्दा बढी समयको भए नाफाको २ प्रतिशत लाभकर कम्पनीलाई बुझाउनु पर्छ।
कम्पनीले बैंकमा पैसा पठाएबापत पनि निश्चित शुल्क काट्ने गरेको छ। ५०० रुपैयाँसम्म ट्रान्सफर गर्दा २ रुपैयाँ, ५०१ देखि ५ हजारसम्म ४ रुपैयाँ र सो भन्दा माथि ८ रुपैयाँ शुल्क लिने गरेको छ। माई-पे गोल्डमार्फत कारोबार गराइने सुनचाँदी भौतिक रुपमा भने प्राप्त गर्न सकिदैन।
‘हामीले सुरु गर्दा डेरिभेटिभ/ कमोडिटीमा पर्छ कि भनेर अध्ययन गरेका थियौं। हामीले सेबोनलाई पनि जानकारी गराएका छौं’ माइपे गोल्डका प्रतिनिधि आकाश दाहालले भने,’बोर्डले मार्जिनमा सेटलमेन्ट नहुने र सामान खरिद बिक्री भर्चुअल हुने रहेछ। त्यसमा पनि विद्युतीय भूक्तानी भएकाले डेरिभेटिभ र कमोडिटी कुनैमा पनि नपर्ने जानकारी दिएको थियो। बोर्डले सर्वसाधारणबाट पैसा उठाएमा मात्रै नियमन हुन्छ भनिएकाले कारोबार थालेका हौं।’