काठमाडौं। ज्योति समूहले भारतको हिरो मोटोकर्पविरुद्ध हालेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ। अदालतले अन्तरिम आदेश दिने/नदिने विषयमा छलफल गर्न दुवै पक्षलाई छलफलमा बोलाएको छ।
सो छलफलपछि मात्रै सर्वोच्चले उक्त मुद्दामा अन्तरिम आदेश दिने नदिने निर्णय गर्नेछ। सर्वोच्चले उक्त मुद्दाको विषयमा काठमाडौं जिल्ला अदालतबाटसमेत फाइल झिकाउन आदेश दिएको छ।
अर्बौंको सामान खरिद गर्न लगाएर आधिकारिक बिक्रेता तोड्ने काम गरेको भन्दै ज्योति समूहको एनजीएम इन्जिनियरिङ एण्ड सेल्स प्रालिले काठमाडौं जिल्ला अदालतमा हिरो मोटोकर्पविरुद्ध मुद्धा हालेको थियो। एनजीएमले हालेको मुद्दामा काठमाडौं जिल्ला अदालतले आधिकारिक बिक्रेताबाट टर्मिनेटे गर्ने निर्णयमा रोक लगाउँदै एनजीएमको पक्षमा फैसला सुनाएको थियो।
उक्त फैसलामा चित्त नबुझेपछि जिल्ला अदालतको आदेश बदर हुनुपर्ने रिट निवेदन लिएर हिरो उच्च अदालत पाटन पुगेको थियो। उच्च अदालत पाटनले पनि हिरोले बदर गर्न हालेको मुद्दामा हिरोको पक्षमा फैसला सुनाएर जिल्ला अदालतले एनजीएमको पक्षमा गरेको फैसला बदर भएको थियो।
त्यसपछि हिरोलाई नेपालका लागि नयाँ आधिकारिक बिक्रेता छनोट गर्न बाटो खुल्यो। केही समय अगाडि हिरो मोटोकर्पले सीजी मोटर्सलाई हिरोको नयाँ बिक्रेताका रुपमा नियुक्त समेत गरिसकेको छ।