काठमाडौं। पछिल्लो १५ वर्षमा नभएको पुँजी बजारको विस्तार पछिल्लो तीन वर्षमा व्यापक भएको तथ्यांकले देखाएको छ। पछिल्लो तीन वर्ष र त्यसअघिका वर्षलाई विश्लेषण गर्दा बजारको पुँजीकरण मात्र होइन, दायरा र कारोबार नै व्यापक रुपमा बढेको देखिन्छ।
विश्लेषकहरु यसलाई पुँजी बजार विस्तारको ‘स्वर्णिम काल’ भन्छन्। वित्तीय क्षेत्रको दबदबा रहेको बजारमा यो अवधिमा वास्तविक क्षेत्रले पनि विस्तार हुने मौका पाए भने नयाँ-नयाँ औजार र नियमले आम सर्वसाधारणको हातमा सेयर पुर्याएको छ।
बैंक तथा वित्तीय संस्थाको भिड भएको बजारमा जलविद्युत कम्पनी ह्वात्तै थपिएका छन्। होटल तथा पर्यटनका साथै उत्पादनमूलक उद्योगहरु समेत पुँजी बजारमा भित्रिएका छन्। सीमित समूहमा रहेको दोस्रो बजारमा कलेज पढ्दै गरेका विद्यार्थीदेखि गृहिणीसम्मको पहुँचमा पुगेको छ। यसबाहेक ‘बुक बिल्डिङ’ ले परिचय बनाउने मौका पाएको छ।
पछिल्लो साढे तीन वर्षमा सवा ५३ अर्ब रुपैयाँको साधारण सेयर (आइपीओ) निष्कासन भएको छ।
आर्थिक वर्ष २०७७/७८ देखि यो आर्थिक वर्ष पुससम्म ९७ कम्पनीले २७ करोड ४८ लाख ८७ हजार रुपैयाँको आइपीओ जारी गरिएको हो। यो अवधिमा ४० करोड ७९ लाख ५९ हजार ९०६ कित्ता आइपीओ जारी गरिएको छ।
गत आर्थिक वर्ष सबैभन्दा धेरै २२ अर्ब ३७ करोड ८६ लाख १२ हजार रुपैयाँको आइपीओ जारी गरिएको थियो। यो इतिहासमै सबैभन्दा बढी रकमको आइपीओ जारी भएको वर्ष हो। त्यो वर्ष ४२ कम्पनीले १३ करोड ५२ लाख ३९ हजार ९९४ कित्ता आइपीओ जारी गरेका हुन्। यो वर्ष ५ कम्पनीले मात्र ४ करोड ८९ लाख २०० कित्ता आइपीओबाट ८ अर्ब ५० करोड ६१ लाख ८९ हजार रुपैयाँ उठाएका छन्।
आर्थिक वर्ष २०७७/७८ मा २२ कम्पनीले १५ करोड १७ लाख ८३ हजार २८७ कित्ता आइपीओबाट १५ अर्ब १८ करोड ६४ लाख ८२ हजार ७०० र २०७८/७९ मा २८ कम्पनीले ७ करोड २० लाख ३६ हजार ४२५ कित्ताबाट ७ अर्ब २० करोड ३६ लाख ४२ हजार ५०० रुपैयाँ उठाएको नेपाल धितोपत्र बोर्डको तथ्यांक छ।
एक नेपाली एक डिम्याट खाता अभियानलाई प्रभावकारी बनाउन भन्दै बोर्डले २०७५ चैत २७ गतेदेखि न्यूनतम १० कित्तामा आवेदन दिन पाउने व्यवस्था गरेपछि आईपीओमा लगानी गर्नेको संख्या पनि बढेको देखिन्छ।
बोर्डले विद्यार्थी, गृहिणी तथा सानो पुँजी भएका वर्गको सेयर बजारमा पहुँच बढाउने नीति लिएपछि प्राथमिक बजारमा लगानीकर्ता बढेका हुन्। न्यूनतम १० कित्ताका लागि आवेदन दिन पाउनुका साथै अनलाइनबाटै आवेदन भर्न पाउने तथा रकम पनि खातामै फिर्ता हुने सुविधाले पनि आइपीओले आकर्षित गरेको हो।
१० कित्ते नीतिका कारण सानो पुँजी भएका लगानीकर्ताको बजारमा प्रवेश बढेको एनआईसी एसिया क्यापिटलका सीईओ रमेन्द्र रायमाझीले बताए। धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ (सातौं संशोधन) को दफा ३० अनुसार धितोपत्र न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्नु पर्ने व्यवस्था छ। १० कित्ता सबै आवेदकलाई नपुग्ने अवस्थामा गोला प्रथाबाट बाँडफाँट गर्नुपर्छ।
साढे ३ वर्षमै थपियो ४४ लाख डिम्याट खाता
सिडिएससीले उपलब्ध गराएको तथ्यांक हेर्ने हो भने कोभिडपछि सेयर बजारमा आइपीओ लगानीकर्ता बढेको देखिन्छ। आर्थिक वर्ष २०७६/७७ सम्म कुल डिम्याट खाता संख्या १७ लाख ६ हजार ८१५ थियो। त्यसयता यो संख्या २८९ प्रतिशतले बढेको छ। साढे ३ वर्षमा डिम्याट खाता ४४ लाख भन्दा बढी थपिएपछि ६१ लाख ४१ हजार पुगेको छ।
पछिल्लो पटक हिमालयन रि इन्स्योरेन्सको सेयरमा १५ लाख ७३ हजारले आवेदन दिएकामा १५ लाख ६४ हजार ५६४ व्यक्ति/संस्थाले आइपीओ पाएका थिए। ८ हजार ६५५ आवेदन भने रद्द भएको थियो।
सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई आइपीओमा १० प्रतिशत कोटा आरक्षण गरेपछि डिम्याट खाता झनै बढेको हो। २०७९ भदौ २१ मा बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र तथा निष्कासन नियामवली २०७२ संशोधन गरी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीलाई आइपीओमा १० प्रतिशत कोटा आरक्षणको निर्णय गरेको थियो।
महिला सहभागिता बढ्दो
सेयर ब्रोकरहरुका अनुसार अहिले धितोपत्र बजारमा महिला लगानीकर्ताको सक्रियता पहिलाको तुलनामा निकै बढेको छ। यसलाई डिम्याट खाताको संख्याले पनि पुष्टि गर्छ।
आर्थिक वर्ष २०७६/७७ मा डिम्याट खाता खोल्ने महिलाको संख्या ६ लाख ५९ हजार १६२ थियो। त्यो वर्ष पुरुषको तुलनामा महिला ३७ प्रतिशत कम थिए। तर त्यसयता यो अन्तर २६ प्रतिशतमा साँघुरिएको छ। अहिले डिम्याट खाता खोल्ने महिलाको संख्या २६ लाख नाघिसकेको छ।
थपिए मल्टिपल क्षेत्रका कम्पनी
आर्थिक वर्ष २०७५/७६ मा २८ वटा कम्पनीले आइपीओ जारी गरे। ती कम्पनी जम्मा दुई क्षेत्रका मात्र थिए। बोर्डका अनुसार, १२ वटा लघुवित्त र १६ वटा जलविद्युत कम्पनी थिए। आर्थिक वर्ष २०७६/०७७ मा आइपीओ जारी गर्न ९ कम्पनीले अनुमति पाएकामा ४ वटा जलविद्युत, २ वटा लघुवित्त, २ वटा बीमा र एउटा अन्य क्षेत्रका थिए।
तर, अहिले प्राइमरी मार्केटमा यो सिनारियो परिवर्तन भएको छ। मल्टिपल क्षेत्रका कम्पनी बढ्दै गएका छन्। उत्पादन तथा प्रशोधन, अन्न भण्डारण, कृषि, मिडिया, धागो उद्योग, सिमेन्ट उद्योग तथा पुनर्बिमा कम्पनीले आइपीओ जारी गरेका छन्।आइपीओ भर्नेको संख्या बढेपछि यसले विभिन्न क्षेत्रका कम्पनीलाई बजारमा आउन प्रोत्साहित गरेको हो।
‘धितोपत्र बोर्डले बुक बिल्डिङ र प्रिमियम मूल्यमा सेयर ल्याउनका लागि जुन खालको नीतिगत व्यवस्था गर्यो यसले राम्रा कम्पनी बजारमा आउन थाले। कम्पनीहरुलाई आफ्नो वित्तीय अवस्था राम्रो भए बजारले प्रिमियम/बुक बिल्डिङका रुपमा रिवार्ड गर्दो रहेछ भन्ने भयो। उनीहरुलाई बजारमा आउन उत्साहित बनायो,’ कुमारी क्यापिटलका सीईओ पुष्प शर्माले बिजमाण्डूसँग भने।
अस्पताल, फार्मेसी, रेमिटेन्स, क्याम्पस, टेलिभिजन लगायत विभिन्न क्षेत्रका २९ कम्पनी बोर्डबाट आइपीओ स्वीकृतिको पर्खाइमा छन्।
बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको एकछत्रजस्तो रहेको बजारमा अहिले जलविद्युत र अरु क्षेत्रका कम्पनी लगानीकर्ताको प्राथमकितामा पर्न थालेका छन्। लगानीकर्ताका लागि लगानीको क्षेत्र फराकिलो भएको छ।