BIZMANDU
www.bizmandu.com

डेढ वर्षयता एउटै लयमा सेयर बजार, १८०० र २२०० कै बीचमा किन रुमल्लिइरहेको छ?

२०८० माघ २५

डेढ वर्षयता एउटै लयमा सेयर बजार, १८०० र २२०० कै बीचमा किन रुमल्लिइरहेको छ?
डेढ वर्षयता एउटै लयमा सेयर बजार, १८०० र २२०० कै बीचमा किन रुमल्लिइरहेको छ?


काठमाडौं। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि बढ्ने छनक देखाएको बजारले पछिल्लो डेढ वर्ष यताकै लय समातेको छ। ३ माघमा २२१५.५४ बिन्दुमा पुगेको बजार हाल निरन्तर घटेर २०७६.२७ बिन्दुमा झरिसकेको छ। मौद्रिक नीतिको समीक्षाको समयमा यस पटक बजार मंसिर ६ गतेयता १८०६ बिन्दुबाट बढ्न सुरु गरेको थियो।

Tata
GBIME
NLIC

यस्तो क्रम यो पटक मात्र होइन पछिल्लो डेढ वर्षमा चारपटक दोहोरिएको छ। २०७८ भदौ ३ गते ३२०० मा पुगेको सेयर बजार परिसूचक २०७९ असार ३ गते १८०६ बिन्दुमा झरेको थियो। त्यसयता लामो समय बजार १८०० र २२०० कै बीचमा रुमल्लिइरहेको छ।

सेयर बजार जानकारहरु नेपाल राष्ट्र बैंकले ल्याएको नीतिगत व्यवस्थाका कारण बजार घटेको र माथि उठ्न नसकेको बताउँछन्। कारोबारीका अनुसार राष्ट्र बैंकले ल्याएको ४/१२ को नीति तथा जोखिम भार बढेका कारण बजार १८०० बिन्दुसम्म पुगेको थियो। राष्ट्र बैंकले सेयर धितो कर्जामा गरेको कडाइका कारण बजारमा पैसा आउन कम भयो।

तरलता अभाव र ब्याजदर बढ्दा त्यसको सिधा असर बजारमा देखियो। २०७८ भदौमा २२ अर्बमाथि कारोबार हुँदै आएको बजारमा केही समयअघि झन्डै ५० करोडभन्दा कममा झरेको थियो। बजार निरन्तर बियरिस भएकाले लगानीकर्ताहरुको सक्रियता नहुँदा कारोबार त्यतिमा आइपुगेको थियो।

तर अहिले राष्ट्र बैंकले ल्याएका केही व्यवस्थाहरु सुधार भइसकेका छन्। ४/१२ को नीति संशोधन गरेर व्यक्तिले सेयर धितो कर्जामा १५ करोड र संस्थाले २० करोड रुपैयाँ पाउने व्यवस्था गरिएको छ।

कर्जा जोखिमभार ५० करोडसम्मको १०० प्रतिशतमा झारिएको छ भने सो भन्दा बढीको हकमा भने चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीतिको समीक्षामार्फत १५० बाट १२५ प्रतिशतमा झारिएको छ। बिस्तारै बजारमा नीतिगत सुधार हुँदै गएको छ। यद्यपि त्यसको सकारात्मक प्रभावले पनि बजार २२०० बिन्दुभन्दा माथि उठ्न सकेको छैन।

ठूला कम्पनी चलेनन्

अहिले सेयर बजारमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको पुँजीकरण हिस्सा ६६.३ प्रतिशत छ। तर यी कम्पनीहरु पछिल्लो समयमा बजारमा चल्न सकेनन्। पुँजीसहित आधारभूत अवस्था राम्रो भएका कम्पनीको कारोबार अहिले निकै कम हुन्छ।

अहिले बजारमा लगानीकर्ताहरुले भर्खरै आइपीओ आएका तथा कम क्यापिटल भएका कम्पनीहरु मात्र चलाइरहेका छन्। जसका कारण पनि बजार अघि बढ्न नसकेको अनलाइन सेक्युरिटिजका अध्यक्ष अनन्तकुमार पौडेलको विश्लेषण छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको डेटा हेर्ने हो भने सबैजसो बैंकहरुको बेस रेट एकल अंकमा झरेको छ। तथापि बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण भने झन बिग्रिँदो छ।

‘पछिल्लो समय मार्केट क्यापिटलाइजेसन बढी भएका कम्पनीहरु चल्न सकेनन्। अहिले बजारमा आइपीओ आएका नयाँ कम्पनी मात्र चले, जसको मूल्यलाई माथि लान सकिन्छ। यस्ता कम्पनीको सेयर राखेर बैंकले लोन पनि दिँदैन। ठूला कम्पनी नचल्दा पनि बजार २२०० माथि जान नसकेको हो,’ उनले भने।

अहिले बैंक तथा वित्तीय संस्थाहरुसँग मनग्य तरलता छ। सबैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको डेटा हेर्ने हो भने सबैजसो बैंकहरुको बेस रेट एकल अंकमा झरेको छ। तथापि बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण भने झन बिग्रिँदो छ।

चालु वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा नै नेप्सेमा सूचीकृत भएका १६ बैंकहरुको नाफामा भारी गिरावट आएको छ। ऋणको किस्ता उठ्न नसकेर ९ वटा वाणिज्य बैंकको एनपीएल बढेर ४ प्रतिशत माथि पुगेको छ।

गत वर्षको नाफाबाट धेरै बैंक तथा वित्तीय संस्थाहरुले लाभांश वितरण नगरिररहेको समयमा यस वर्ष पनि दिन नसक्ने अवस्था देखिएपछि लगानीकर्ताहरुले यस्ता कम्पनीहरुमा लगानी गरिरहेका छैनन्।

बैंकहरुमा मात्र होइन, अहिले लघुवित्त, जलविद्युत, वित्तीय संस्था लगायत धेरैजसो कम्पनीको वित्तीय विवरण कमजोर आएको छ।

लगानीकर्तालाई कर्जाको क्यापमै समस्या

नेपाल राष्ट्र बैंकले ४/१२ को नीति संशोधन गरेर नयाँ व्यवस्था लागू गरिसकेको छ। अहिलेको व्यवस्था अनुसार व्यक्तिले सेयर धितो कर्जामा १५ करोड र संस्थाले २० करोड लगानी गर्न पाउँछन्। यद्यपि यो क्याप पनि ठूला लगानीकर्ताहरुलाई समस्या भइरहेको एक लगानीकर्ताले बताए।

‘१५/२० करोड रकमले कारोबार गर्न ठूला लगानीकर्ताहरुमा खासै त्यो खालको एट्रेक्सन देखिएको छैन। ब्याजदर घट्दो क्रममा छ। तर ठूलो रकम बजारमा आउन सकेको छैन। पहिले १/२ अर्ब लिएर कारोबार गर्नेहरु अहिले १५/२० करोडमा खुम्चिनु परेको छ। यसले पनि मार्केटमा असर गरेको हो,’ एक लगानीकर्ताले भने।

यस्तै सेयर बजार विश्लेषक तथा लगानीकर्ता सुवासचन्द्र ढुंगानाले पनि कर्जाको क्यापले बजारमा समस्या भइरहेको बताए।

‘अहिले बजारमा सेयर धितो कर्जाको क्यापले पनि मार्केटलाइ निकै असर गरेको छ। संस्थागत लगानीकर्ताहरुलाई २० करोडको क्याप हटाइदिए पनि यसले मार्केटमा राम्रो खालको सेन्टिमेन्ट क्रिएट गर्थ्यो,’ उनले भने, ‘हामीले बुलको समयमा हेर्ने हो भने एक अर्बसम्म पनि कर्जा लिने लगानीकर्ताहरु थिए मार्केटमा। मार्केटमा मुभ ल्याउने भनेको त्यस्तै लगानीकर्ताहरु नै हुन्। यस्ता लगानीकर्ताहरुका लागि फन्डामेन्टली राम्रा र लङ टर्म होल्ड गर्ने खालका बैंकहरु जस्ता कम्पनीको सेयर एउटा अवसर हो। तर त्यसलाई पनि सदुपयोग गर्न नसक्नु भनेको त उनीहरुसँग फन्ड नै छैन।’

साथै उनले बैंकहरु जस्ता फन्डामेन्टली र लङ टर्म होल्ड गर्न सक्ने कम्पनीहरुममा चाम देखिएमात्र अरु क्षेत्र पनि सँगसँगै रन गर्न सक्ने बताउँछन्।

संस्थागत लगानीकर्ताहरुको अभाव

नेपाली सेयर बजारमा अहिले संस्थागत लगानीकर्ताहरुको निकै अभाव देखिन्छ। सेयर बजारमा संस्थागत लगानीकर्ताहरुले लिने निर्णय र व्यक्तिगत लगानीकर्ताहरुले गर्ने निर्णयमा निकै फरक हुन्छ। संस्थागत लगानीकर्ताहरुले ठूलो परिमाणमा कारोबार गर्ने गर्छन्।

संस्थाप्रति उत्तरदायी भएर कारोबार गर्नुपर्ने भएकाले विभिन्‍न अध्ययनका आधारमा राम्रो, धेरै सेयरधनी भएका तथा सजिलै सेयर कारोबार गर्न सक्ने कम्पनीहरुमा संस्थागत लगानीकर्ताहरुले लगानी गर्ने गरेको ब्रोकरहरु बताउँछन्।

एक त बजार स्थिर नहुनु र संस्थागत लगानीकर्तामैत्री नीति अभावले पनि संस्थागत लगानीकर्ताहरुको सक्रियता बजारमा बढ्न नसकेको ब्रोकरहरु बताउँछन्।

share market

साथै संस्थागत लगानीकर्ताहरुले रिटर्न दिन सक्ने क्षमता भएका कम्पनीहरुको कारोबार गर्छन। व्यक्तिगत लगानीकर्ताहरुले कम पुँजी भएका तथा रिटर्नबाट भन्दा पनि बजारबाट कमाउनेगरि कारोबार गर्ने गर्छन्।

यद्यपि नेपाली बजारमा संस्थागत लगानीकर्ताहरुको सहभागिता निकै न्यून देखिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार हालसम्म ७ हजार ५ सय ६९ मात्र कर्पोरेट लगानीकर्ता छन् भने व्यक्तिगत १९ लाख २ हजार ४४७ जना लगानीकर्ता छन्।

एक त बजार स्थिर नहुनु र संस्थागत लगानीकर्तामैत्री नीति अभावले पनि संस्थागत लगानीकर्ताहरुको सक्रियता बजारमा बढ्न नसकेको ब्रोकरहरु बताउँछन्।

सर्ट टर्म लगानीकर्ता हाबी

अहिले नेपाली सेयर बजारमा छोटो समयमै नाफा लिन चाहने लगानीकर्ताहरु हाबी देखिन्छन्। बजार सामान्य बढ्नासाथ सर्टटर्म लगानीकर्ताहरु हाबी हुने र केही प्रतिशत नाफा बुक गरेर निस्किने प्रवृत्तिले पनि बजारले टेवा पाउन सकेको छैन। जसलाई पुँजीगत लाभकरको विवरणले पनि पुष्टि गर्छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म दीर्घकालीन लगानीकर्ताले जम्माजम्मी ५० करोड पुँजीगत लाभकर सरकारलाई बुझाएका छन्। जबकी अल्पकालीन लगानीकर्ताहरुले दोब्बरभन्दा बढी अर्थात १ अर्ब १६ करोड माथि राजस्व बुझाएका छन्। यसले बजारमा सर्ट टर्म लगानीकर्ताहरुको दह्रो सहभागिता रहेको पुष्टि गर्छ।

‘अहिले बजारमा लङ टर्म लगानीकर्ताहरु भन्दा पनि ट्रेडरहरुको हलचल बढी देखिन्छ। लगानीकर्ताहरुले २५ प्रतिशत रकम तिरेर ७५ प्रतिशत ब्रोकरहरुले हालिदिएपछि समयमा नै पेमेन्ट नगर्ने प्रवृत्ति छ। धेरै दिनको ग्याप भइसकेपछि ब्रोक्ररको दबाबमा उधारो तिर्न फोर्सफुल सेयर घाटामा नै भए पनि बिक्री गर्नुपर्छ। यसले पनि बजार बढ्नलाई हेम्पर गरेको छ,’ एक ब्रोकरले भने।

साथै दोस्रो बजारमा जुन किसिमले सप्लाइ बढेको छ त्यसैअनुसार लगानीकर्ताहरु बढ्न सकेका छैनन्। बजारमा बढी सप्लाइ आउँदा त्यसलाई बढाउन सक्ने लगानीकर्ताहरुको उपस्थिति नहुँदा पनि बजार बढ्न नसकेको ब्रोकरहरुको बुझाइ छ।