BIZMANDU
www.bizmandu.com

अमरपुर-ढुंगेसाँघु १३२ केभी प्रसारण लाइन निर्माण सुरु, २०० मेगावाट प्रवाह गर्न सकिने

२०८० माघ २३

अमरपुर-ढुंगेसाँघु १३२ केभी प्रसारण लाइन निर्माण सुरु, २०० मेगावाट प्रवाह गर्न सकिने
अमरपुर-ढुंगेसाँघु १३२ केभी प्रसारण लाइन निर्माण सुरु, २०० मेगावाट प्रवाह गर्न सकिने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुंगेसाँघु सबस्टेसनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

झापाको दमक सबस्टेसनदेखि अमरपुर सबस्टेसनसम्मको काबेली करिडोर १३२ केभी प्रसारण लाइन र सुनसरीको इनरुवा सबस्टेसनदेखि सङ्खुवासभाको बसन्तपुर हुँदै ढुंगेसाँघुसम्मको कोशी करिडोर २२० केभी प्रसारण लाइनलाई एक आपसमा आवद्ध गर्न अमरपुर-ढुङ्गेसाँघु लाइन निर्माण सुरु गरिएको हो।

आयोजनाअन्तर्गत अमरपुर तथा ढुङ्गेसाँघु सबस्टेसनमा दुई/दुईवटा लाइन वे निर्माण गरिने छ। यसका अतिरिक्त स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ढुंगेसाँघु सबस्टेसनमा ११ केभीको संरचना निर्माण गरिने छ। आगामी आर्थिक वर्षमा काम सक्ने लक्ष्य छ।

प्रसारण लाइन निर्माणमा करिब १ अर्ब २० करोड रुपैयाँ खर्च हुने अनुमान छ। प्रसारण लाइनबाट २०० मेगावाट विद्युत् प्रबाह गर्न सकिने छ।

कोशी करिडोरअन्तर्गत बसन्तपुर-इनरुवा खण्ड सञ्चालनमा आइसकेको छ। बसन्तपुर-ढुंगेसाँघु खण्ड निर्माण अन्तिम चरणमा छ। काबेली करिडोर सञ्चालनमा छ।

हिलिहाङ गाउँपालिकाका जनप्रतिनिधिको उपस्थितिमा सोमबार अमरपुर-ढुंगेसाँघु १३२ केभी प्रसारण लाइनको टावर निर्माण शिलान्यास गरिएको छ। करिब १९ किलोमिटर लामो प्रसारण लाइनमा ६७ वटा टावर निर्माण गर्नु पर्नेछ।

काबेली नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत आयोजनाको बिजुलीलाई प्रभावकारी रुपमा प्रवाह गर्न अमरपुर-ढुंगेसाँघु १३२ केभी प्रसारण लाइन निर्माण गर्न सुरु गरेको आयोजना प्रमुख अनुप गौतमले बताए।

उनका अनुसार, कोशी र काबेली करिडोर प्रसारण लाइन एक आपसमा आवद्ध हुने भएकाले कुनै कारणले काबेली करिडोरमा समस्या आए उक्त लाइनमा जोडिएको विद्युत् कोशी करिडोरतर्फ पठाउन सकिन्छ। यसले पूर्वी नेपालको राष्ट्रिय प्रसारण ग्रिडको विश्वसनीयता बढ्नुका साथै स्थानीय विद्युत् आपूर्ति पनि विश्वसनीय बन्नेछ।

तमोर नदी जलाधार क्षेत्रमा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् ढुंगेसाँघु सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित हुने छ।