BIZMANDU
www.bizmandu.com

संस्थापक सेयर बिक्री हुनै छाड्यो, खरिदकर्ता पाउनै मुस्किल, लगानीकर्ताको अरुचि किन?

२०८० माघ १९

संस्थापक सेयर बिक्री हुनै छाड्यो, खरिदकर्ता पाउनै मुस्किल, लगानीकर्ताको अरुचि किन?
संस्थापक सेयर बिक्री हुनै छाड्यो, खरिदकर्ता पाउनै मुस्किल, लगानीकर्ताको अरुचि किन?


काठमाडौं। कुमारी बैंकले गत पुस ११ गतेबाट १९ गते सम्मका लागि साढे ५ लाख कित्ता संस्थापक सेयर बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गर्‍यो। बैंकले संस्थापकसहित जोकोही व्यक्ति/ कम्पनी तथा संघसंस्थाले आवेदन दिन मिल्ने गरी बोलपत्र आह्वान गरेको थियो।

Tata
GBIME
NLIC

५ लाख ४९ हजार ६२६ कित्ता सेयर खरिदका लागि शिलबन्दी बोपलत्र आह्वान गर्दा प्रति कित्ता मूल्य न्यूनतम १०० रुपैयाँ मात्र तोकिएको थियो। तर, पूरै सेयर बिकेन। बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले दिएको जानकारी अनुसार अन्तिम दिनसम्म ३ लाख ४९ हजार ६२६ कित्ता सेयरका लागि मात्र आवेदन पर्‍यो।

पुस ११ देखि १९ गते सम्म नै प्रभु बैंकको ६८ हजार ७२९ कित्ता संस्थापक सेयर बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरिएको थियो। न्यूनतम मूल्य ११० रुपैयाँ तोकेर बोलपत्र आह्वान गर्दा ५ हजार कित्ताभन्दा बिकेन।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको पनि संस्थापक सेयर बिक्री हुन सकेन। कुमारी र प्रभुकै मितिमा २ लाख ४ हजार ५३७ कित्ता संस्थापक सेयर बिक्रीका लागि बोलकबोल आह्वान गरिएको थियो। न्यूनतम मूल्य प्रति कित्ता १२० थियो। तर बैंकको १ लाख ६९ हजार ५३७ कित्ता सेयर मात्र बिक्री भयो।

एनआईसी एसिया बैंकले नागरिक लगानी कोषमा आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि प्रति कित्ता न्यूनतम ७८० रुपैयाँ तोकेर माघ ७ गते शिलबन्दी बोलपत्र आह्वान गर्‍यो। आवेदन बुझाउन माघ १५ गतेसम्मको समय थियो। तर एक कित्ता सेयरका लागि पनि आवेदन परेन।

संस्थापक सेयर बिक्री नभएको बैंक, विकास बैंक र नागरिक लगानी कोषको मात्र होइन, लघुवित्तको अवस्था पनि फरक छैन।

२ वर्षअघिसम्म लगानीकर्ताहरु लघुवित्त कम्पनीको सेयरमा झुम्मिने गरेकामा अहिले प्रस्ताव माग्दा आवेदन नै पर्न छोडेको छ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ७५ हजार ३०५ कित्ता संस्थापक सेयर बिक्रीका माघ ७ गतेबाट १५ गतेसम्म आवेदन खुलाइएको थियो। न्यूनतम मूल्य प्रति कित्ता २५० रुपैयाँ तोकिएकामा एउटा पनि आवेदन परेन।

अहिले बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राख्ने क्रम बढेको छ। संस्थापक सेयरधनीले धमाधम बाहिरिन खोजेपनि खरिदकर्ता भेटाउन भने मुस्किल परिरहेको छ।

‘संस्थापक सेयर अलि बढी मात्रामा बजारमा आइरहेको छ। जुन हिसाबले खरिदकर्ता र बिक्रेताको म्याच हुनुपर्ने थियो, त्यहाँ ग्याप देखिन्छ। सेलर अलि हावी भएको देखिन्छ,’ कुमारी क्यापिटलका सीइओ पुष्प शर्माले भने।

के हुन् त बिक्री नहुनुका कारण?

फ्री ट्रेडेवल नहुनु

नेप्सेमा सूचीकृत सबैजसो बैंक तथा वित्तीय संस्थाको साधारण सेयर दोस्रो बजारमा मजाले कारोबार गर्न मिल्छ। तर, संस्थापक सेयर फ्री ट्रेडेवल छैन। यसले पनि आवेदन माग्दा सेयर बिक्री हुन नसकेको हो।

‘संस्थापक सेयर फ्रिलि ट्रेडेवल नहुँदा बिक्री हुन समस्या भइरहेको छ। यसले गर्दा मूल्य कम हुने/खरिदकर्ता नपाउने जस्ता समस्या देखिरहेका छन्। मानौं कुनै लगानीकर्तासँग १० लाख कित्ता सेयर छ, उसले २० रुपैयाँ घटाएर बेच्छु भन्दा पनि खरिदकर्ता नपाइरहेको अवस्था छ,’ एनआईसी एसिया क्यापिटलका मर्चेन्ट बैंकर हेड दामोदर रायमाझीले बिजमाण्डूसँग भने, ‘चाहेको समयमा किन्न पनि सकिंदैन, बिक्री गर्नका लागि विभिन्न प्रकृया पूरा गर्न झन ३/४ महिना लाग्छ। त्यसपछि पनि बिक्री नहुने अवस्था छ।’

एनएमबी क्यापिटलका सम्पति व्यवस्थापन प्रमुख आशिषराज पाण्डेले सेयर लिक्विट सम्पति भएपनि एकदमै इलिक्विट हुँदा समस्या भएको बताए। ‘सेयर त लिक्विट इन्सट्रुमेन्ट हो। तर विशेषगरी बैंक तथा वित्तीय संस्थाको नीतिगत व्यवस्थाले सेयर बिक्री गर्न नै ४/५ महिना लाग्छ। त्यसले गर्दा यसमा एकदमै धेरै इलिक्विट देखियो। रिटर्न कम हुँदै जाँदा पनि यता आकर्षण अलि कम भएको हो कि।’

नीतिगत झन्झट

नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई दिइएको एकीकृत निर्देशन २०८० को व्यवस्था अनुसार संस्थापक सेयर खरिद बिक्री वा नामसारी गर्ने प्रकृया निकै झन्झटिलो छ। सामान्यतया संस्थापकबीच सेयर खरिद बिक्री भएका १५ दिनभित्र राष्ट्र बैंकलाई जानकारी दिनु पर्छ।

तर २ प्रतिशतभन्दा बढी संस्थापक सेयर बिक्रीका लागि बैंक तथा वित्तीय संस्थाले सेयरधनीको सेयर खरिद, बिक्री वा नामसारी गर्नुपूर्व राष्ट्र बैंकबाट स्वीकृति लिनु पर्छ। स्वीकृतिका लागि संचालक समितिको सिफारिससहित राष्ट्र बैंकमा आवेदन दिनु पर्ने व्यवस्था छ।

मृत्यु वा अंशबण्डाको नामसारी बाहेक अन्य अवस्थामा संस्थापक सेयरधनीले आफ्नै संस्थापकहरुमा पहिलो चरणमा सेयर बिक्री गर्न पाउने छन्। मर्चेन्ट बैंकरहरुले यसैका आधारमा संस्थापक सेयरधनीहरुलाई प्राथमिकतामा राखि ३५ दिने सूचना निकाल्ने गरेका छन्।

सो समयसम्म बिक्री हुन नसकेको सेयर मात्र अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने हो। तर अहिले संस्थापकहरुले मात्र होइन, अरुले पनि संस्थापक सेयर रुचाइरहेका छैनन्।

संस्थापक सेयर धितोपत्र दलाल, बजार निर्माता, सहकारी संस्था, इजाजतप्राप्त संस्थाको कानुनी सल्लाकार/आन्तरिक तथा बाह्य लेखापरीक्षक, कर्जा सूचना केन्द्रको कालोसूचीमा परी फुकुवा भएको कम्पनीमा तीन वर्ष नपुगेको व्यक्ति वा संस्थालाई नामसारी वा बिक्री गर्न नपाइने व्यवस्था छ।

विभिन्न किसिमका नीतिगत व्यवस्थाका कारण संस्थापक सेयर बेचेर बाहिरिन चाहनेहरु बढेको मर्चेन्ट बैंकरहरु बताउँछन्।

प्रतिफल नहुनु

लगानीकर्ताले संस्थापक सेयरमा लगानी गर्ने प्रतिफलका लागि हो। तर, अहिले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले पुँजी अनुसार व्यवसाय बढाउन सकेका छैनन्। जसको असर प्रतिफलमा परिरहेको छ। लाभांश दिने क्षमता घटेको छ। गत वर्षको नाफाबाट ८ वटा वाणिज्य बैंकले लाभांश नै दिएनन्। दिएकाहरुले पनि पोहोरभन्दा घटाए।

धेरै लघुवित्त कम्पनीले पनि लाभांश दिएनन्। दिएकाहरुले पनि अघिल्लो वर्षको तुलनामा निकै कम दिए। विकास बैंक तथा बीमा कम्पनी पनि त्यस्तै अवस्थाबाट गुज्रिरहेका छन्।

अहिले झन खराब ऋण बढेर बैंकहरुको वासलात बिग्रिएको छ। मुनाफा पोहोरभन्दा घटेको छ। यसले लाभांशमा असर गर्छ।जसले गर्दा संस्थापक सेयरमा लगानीकर्ताको रुची घटेको हो।

‘प्रमोटर सेयर आज १०० मा किनेर ३०० मा बेच्छु कसैले भन्दैन। यस्तो सेयर डिभिडेन्ड ओरियन्ट हुन्छ। डिभिडेन्डकै आश गर्न नसक्ने स्थिति भएपछि प्रमोटर सेयर नबिक्नु स्वाभाविकै हो,’ एनआईसी एसिया क्यापिटलका रायमाझीले भने।

यस्तै एनएमबी क्यापिटलका सम्पति व्यवस्थापन प्रमुख आशिषराज पाण्डेले पनि पहिला लगानीकर्ताहरुले अपेक्षा गरेअनुसारको रिटर्न आउने तर अहिले रिटर्न पनि सोचे अनुसारको नआउँदा संस्थापक सेयरको सप्लाइ धेरै आउन थालेको बताए।

एनएमबी क्यापिटलका सम्पति व्यवस्थापन प्रमुख पाण्डेले पनि लाभांश घटेकै कारण संस्थापक सेयर आकर्षणविहीन हुन पुगेको बताए। ‘अहिले एक त रिटर्न कम हुँदै गयो, अर्को भनेको प्रोफिट घट्दै गएकाले अब राम्रो रिटर्न आश गर्ने अवस्था छैन। त्यस्तो स्टकमा लगानी गरेर के काम? भन्ने छ,’ उनले भने।