BIZMANDU
www.bizmandu.com

यू-१९ क्रिकेट विश्वकपमा तेस्रो पटक भारतलाई चुनौती दिँदै नेपाल, यस्तो छ हालसम्मको इतिहास

२०८० माघ १९

यू-१९ क्रिकेट विश्वकपमा तेस्रो पटक भारतलाई चुनौती दिँदै नेपाल, यस्तो छ हालसम्मको इतिहास
यू-१९ क्रिकेट विश्वकपमा तेस्रो पटक भारतलाई चुनौती दिँदै नेपाल, यस्तो छ हालसम्मको इतिहास

काठमाडौं। यू-१९ क्रिकेट विश्‍वकप अन्तर्गत सुपर सिक्सको खेलमा आज नेपाल र भारत आमनेसामने हुँदैछन्। खेल दिउँसो पौने २ बजे दक्षिण अफ्रिकास्थित ब्लुमफोन्टेइनमा हुनेछ।

Tata
GBIME
Nepal Life

भारत जारी प्रतियोगितामा अपराजित टोलीमध्ये एक हो। समूह चरणमा सबै खेल जितेर समूह ‘ए’को विजेता बन्दै सुपरसिक्स पुगेको भारतले समूह ‘डी’को उपविजेता न्युजिल्याण्डलाई हराउँदै सुपरसिक्समा सुखद सुरुवात गरिसकेको छ।

नेपाल भने समूह ‘डी’मा न्युजिल्याण्ड र पाकिस्तानसँग हार ब्यहोरे पनि अर्को टेस्ट टोली अफगानिस्तानलाई हराएर तेस्रो बन्दै सुपरसिक्समा पुगेको थियो। सुपरसिक्समा साविक विश्‍वकप विजेता बंगलादेशले नेपाललाई हराएको थियो।

जारी विश्‍वकपमा भारतको दबदबा कति छ भन्‍ने तथ्यांकले पनि देखाउँदा भारतका मुसीर खान ४ इनिङ्समा दुई शतकको सहायतामा ३२५ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा सबैभन्दा अगाडि छन्। बलिङतर्फ पनि भारतकै सौम्य पाण्डे १२ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा सबैभन्दा माथि छन्। नेपालका लागि सर्वाधिक १५२ रन बनाएका देव खनाल ब्याटिङको सूचीमा १७ औँ स्थानमा छन् भने बलिङमा ९ विकेट लिएका सुवास भण्डारी पाँचौँ स्थानमा छन्।

नेपालको ब्याटिङ खास गरी देव खनाल र तल्लो क्रमको ब्याट्सम्यानमा निर्भर रहँदा ठूलो स्कोर बनाउन नेपालले संघर्ष गरिरहेको छ। टोलीका सबैभन्दा अनुभवी अलराउण्डर गुल्सन झाले बलिङ र ब्याटिङ दुवैमा योगदान गर्न नसक्दा नेपाली टोलीले दबाब सिर्जना गर्न सकिरहेको छैन। जारी प्रतियोगितामा नेपालको सबैभन्दा सकारात्मक पक्ष भनेको सुरुवाती ब्याटिङ गरेका सबै खेलहरुमा अन्तिम ओभरसम्म खेल्दै आएको छ।

नेपाल र भारत यसअघि विश्‍वकपमा दुईपटक आमनेसामने भइसकेका छन्। पछिल्लो पटक सन् २०१६ मा आमनेसामने हुँदा भारतले नेपाललाई ७ विकेटले हराएको थियो। त्यसअघि सन् २००२ मा ८ विकेटले हराएको थियो। एसिया कपमा भने नेपालले पनि भारतलाई हराएको इतिहास छ। तर अघिल्लो महिना सम्पन्‍न एसिया कपमा भने भारतले नेपालमाथि १० विकेटको जित निकालेको थियो।