काठमाडौं। बुक बिल्डिङमार्फत मूल्य तय गरेको रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणलाई सेयर जारी गर्दैछ। कम्पनीको सेयरको न्यूनतम मूल्य ८२१ रुपैयाँ तय भएको छ, जुन मूल्यका हिसाबले अहिलेसम्मकै महँगो हो।
कम्पनीले केही दिनअघि नै योग्य संस्थागत लगानीकर्ताहरुलाई ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६४० कित्ता साधारण सेयर बिक्री गरिसकेको छ। योग्य संस्थागत लगानीकर्ताले दिएको आवेदनका आधारमा सोमबार नेप्सेले बाँडफाँट गरि कटअफ मूल्य निर्धारण गरिसकेको छ।
नेप्सेका अनुसार कटअफ मूल्य ९१२ रुपैयाँ मूल्य आएको छ। कम्पनीले सर्वसाधारणलाई बिक्री गर्ने सेयरको मूल्यांकन उक्त मूल्यमा १० प्रतिशत घटाएर तय हुन्छ। जसअनुसार सर्वसाधारणले एक कित्ताका लागि ८२०.८० रुपैयाँ बुझाउनुपर्ने हुन्छ।
न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने भएकाले रिलायन्सको आइपीओ भर्नका लागि एक जनालाई कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिन्छ। सर्वसाधरणका लागि बिक्री गर्ने भनिएको सेयर नबिकेमा प्रत्यभूतिकर्ताले खरिद गर्नुपर्छ। अहिलेसम्म कम्पनीको सेयर लिने प्रत्याभूतिकर्ता चयन भएका छैनन्।
अहिले बजारमा उत्पादनमूलक क्षेत्रतर्फ तीन सिमेन्ट उद्योग सूचीकृत छन्। एक मदिरा उद्योग पनि सूचीकृत छ। घोराहीको मूल्य ५२० रुपैयाँ, शिवम् सिमेन्टको ५१७ र सोनापुर मिनरल्सको ४८३ रुपैयाँ छ। सर्वोत्तम सिमेन्टले भर्खरै वैदेशिक रोजगारीमा गएकाहरुलाई सेयर बिक्री गरेको छ। उसले प्रति कित्ता ३६१ रुपैयाँका दरले सेयर बिक्री गरेको हो।
यस हिसाबले रिलायन्सको सेयर मूल्य निक्कै महँगो भएन? लगानीकर्ताले प्रश्न उठाएका छन्।
खासगरी विद्युत प्राधिकरणको बिजुलीको बक्यौता र कम्पनीको सम्पत्तिको पुनर्मूल्यांकनलाई लिएर। किनभने यसमा बक्यौतालाई समेटिएको छैन भने पुनर्मूल्यांकन गरिएको छ।
कम्पनीले प्राधिकरणलाई १ अर्ब ९४ करोड रुपैयाँभन्दा बढी महसुल भुक्तानी गर्न बाँकी रहेको भन्दै धितोपत्र बोर्डलाई जानकारी गराइसकेको छ। कम्पनीले यो विषय आफ्नो वासलातमा कतै देखाएको छैन।
कम्पनीलाई प्राधिकरणले १ अर्ब ९४ करोड रुपैयाँभन्दा बढी महसुलको प्रिमियम भुक्तानीका लागि पत्राचार गरेको छ। डेडिकेटेड लाइनबाट चौबिसै घण्टा बिजुली लिएको रेकर्ड रहेकाले उक्त रकम कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने नै पुष्टि हुन्छ।
यद्यपि कम्पनीले सार्वजनिक गरेको प्रोसपेक्टिभमा महसुल बक्यौता शुल्क कम लेखिएको छ। प्राधिकरणको पत्राचारअनुसार कम्पनीले १ अर्ब ९४ करोड बुझाउनुपर्ने भए पनि प्रोसपेक्टिभ (पेज न. ४८)मा ७३ करोड ४७ लाख ८ हजार भुक्तानीका लागि पत्राचार गरेको कुरा उल्लेख गरेको छ। जुन स्वतः गलत हो।
‘हामीले विवरणमा नै बक्यौता रकम देखाउन भनेका थियौं तर लगानीकर्ताले मान्नु भएन। त्यसका लागि कम्पनीले प्रोभिजन छुट्याउन पनि मानेन,’ बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल स्रोतले भन्यो। भविष्यमा यो रकम भुक्तानी गर्नु नै पर्ने अवस्था आएमा उसले देखाएको आम्दानी घट्ने छ।
यसबाहेक कम्पनीले पुनर्मूल्यांकनमार्फत सम्पत्ति बढाएको छ। यसले गर्दा उसको नेटवर्थ बढेको देखिन्छ। जुन स्वाभाविक नभएको लगानीकर्ताहरु नै बताउँछन्।
कम्पनीको सेयर खरिद गर्न ५ संगठित संस्था पछाडि हटेका छन्। ६०८ रुपैयाँभन्दा माथि मूल्य हाल्छौं भनेका संस्थागत लगानीकर्ताहरुले पैसा नहालेका हुन्।
नेपाल टेलिकम, नागरिक लगानी कोष, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड तथा आकास क्यापिटल लगायत ५ कम्पनीले आशय दिए पनि सेयर किन्न हच्किएका हुन्। नागरिक लगानी कोष र नेपाल टेलिकमजस्ता कम्पनी पछि हट्दा कम्पनीप्रति बजारमा शंका छ।
कम्पनीको वित्तीय विवरण भने खासै सन्तोषजनक देखिएको छैन। विवरणअनुसार, चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी ०.९६ रुपैयाँ छ। यो चालु वर्षको असोजको तथ्यांक हो। गत वर्ष प्रति सेयर मूल्य ५४ रुपैयाँमाथि थियो।
कम्पनीको वास्तविक मूल्य अर्थात प्रति सेयर नेटवर्थ २४९.४८ रुपैयाँ छ। यो असोजको मूल्यांकन हो। गत वर्षको २४८.६७ रुपैयाँ थियो।
हालसम्म बुक बिल्डिङको सेयर नेप्सेमा सूचीकृत नभएकाले कम्पनीको ओपनिङ रेञ्ज कसरी निर्धारण गर्ने भन्ने प्रष्ट छैन। यद्यपि हालको व्यवस्थाअनुसार नेप्सेले दोस्रो बजारमा कारोबारमा लागि नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज प्रदान गर्छ। यसो भयो भने कम्पनीको पहिलो कारोबार अधिकतम २४८.६७ देखि ७४६.०१ रुपैयाँसम्म हुन्छ।
‘अहिलेसम्म भएको व्यवस्थाअनुसार नेटवर्थको ३ गुणासम्म मात्र ओपनिङ रेञ्ज प्रदान गरिन्छ। बुक बिल्डिङ तथा प्रिमियम मूल्यको सेयरका लागि आइपीओकै भाउमा दोस्रो बजारमा कारोबार खुलाउन दिने प्रस्ताव बोर्डमा पुगेपनि अघि बढेको छैन।नयाँ व्यवस्था नभएसम्म नेटवर्थको तीन गुणासम्म नै दिइन्छ ओपनिङ रेञ्ज,’ नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले भने।
कम्पनीले चालु आर्थिक वर्षको अन्तिमसम्म प्रति सेयर आम्दानी ३२.९० रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ। कम्पनीको अधिकृत पुँजी २ अर्ब ६० करोड छ भने जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँ छ। अहिलेको चुक्ता पुँजी १ अर्ब ७० करोड रुपैयाँ छ। सर्वसाधारणलाई आइपीओ जारी गरेपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड पुग्ने छ।
असोज मसान्तसम्म कम्पनीको संचालन आम्दानी २ अर्ब ५६ करोड छ। संचालन नाफाबापत कम्पनीले १३ करोड कमाएको छ भने खुद नाफा ४१ लाख ६७ हजार छ। २०५१ सालमा स्थापना भएको कम्पनीको उत्पादन क्षमता वार्षिक ४८ हजार ९६० टन छ।
कम्पनीले उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थमा पनि परनिर्भर नै छ। उद्योगलाई चाहिने कच्चा पदार्थमध्ये नेपालमै पाउन सकिने अल्लो उद्योगले सम्भावित परीक्षण उत्पादन गरेपनि पर्याप्त मात्रामा उपलब्ध भएको छैन। जसकारण यस प्रयोजनका लागि ल्याइएका उपकरणहरु प्रयोगविहीन भएर बसेका छन्।
साथै उद्योगले स्थापनाकालदेखि नै आवश्यक सम्पूर्ण कच्चा पदार्थहरु दोस्रो तथा तेस्रो विभिन्न मुलुकहरुबाट आयात गर्ने गरेको छ। कम्पनीले विशेषगरि भारत, चीन, थाइल्याण्ड, इन्डोनेसिया, कोरिया, अष्ट्रिया लगायत देशहरुबाट कच्चा पदार्थ आयात गरेर धागो उत्पादन गर्दै आइरहेको छ।
२७ वर्ष पुरानो रिलायन्स देशकै ठूलो धागो उत्पादक हो। आन्तरिक आर्थिक मन्दी र बाहिर पनि विभिन्न कोटाका कारण माग नभएपछि व्यापार खस्किएको छ। कम्पनी आफैंले यो कुरा आफ्नो विवरणपत्रमा उल्लेख गरेको छ।
कम्पनीले कुल उत्पादनको २५ देखि ३० प्रतिशत मात्र स्वदेशमा खपत हुन्छ। बाँकी धागो विदेश निर्यात हुन्छ। कम्पनीले उत्पादन गरेको धागो विशेषगरि टर्की, भियतनाम, भारत र बेलायत लगायतका देशमा निर्यात हुन्छ।
नेपालमा सुजु मेनुफेक्चर्स, निप्पो इन्ड्रष्ट्रिज, प्रगति टेक्सटायल, नेपाली सेना बहु व्यवसाय, भक्तपुर र एभरेष्ट टेक्सटायल लगायत उद्योगहरुले खरिद गर्ने गरेका छन्।
कम्पनीमा संस्थापक कसको लगानी कति छ?
कम्पनीको अध्यक्षमा व्यवसायी पवनकुमार गोल्यान छन्। उनको कम्पनी सिटी होटलले केही समयअघि सर्वसाधारणमा सेयर जारी गरेको थियो। एनएमबि बैंक, गोल्यान समूह, एपोलो इनर्जी लगायतमा पनि उनी आबद्ध छन्।
उनको रिलायन्समा २१.९५ प्रतिशत अर्थात ४१ लाख ७१ हजार ११४ कित्ता सेयर छ।
शशीकान्त अग्रवाल यस कम्पनीका सबैभन्दा ठुला लगानीकर्ता हुन्। मेरियट होटल, रिलायन्स चिनी मिल, विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी रहेको अग्रवालको यस कम्पनीमा ४४.९३ प्रतिशत संस्थापक सेयर छ। जुन ८५ लाख ३६ हजार १०० कित्ता हुन आउँछ।
अक्षय गोल्यान अर्का लगानीकर्ता हुन्। अक्षय पवनका छोरा हुन्। उनको ४३ लाख ६५ हजार ३८६ कित्ता अर्थात २२.९८ प्रतिशत सेयर छ। उनी कम्पनीमा प्रबन्ध संचालक छन्।
कम्पनीले सार्वजनिक निष्कासनपश्चात प्राप्त हुने रकम र बैंकबाट थप कर्जा रकम प्राप्त भएपछि उद्योगको उत्पादन क्षमता वृद्धि गर्न लगानी गर्ने योजना छ।
हाल कम्पनीले प्रति दिन १३६ टन धागो उत्पादन गर्दै आइरहेको छ। यस्तै वार्षिक ४८ हजार ९६० टन धागो उत्पादन गर्दै आइरहेको छ। यसलाई बढाउने योजना कम्पनीको छ। कम्पनीले उत्पादन दैनिक १८२ टन तथा वार्षिक ६५ हजार ५२० टन पुर्याउने प्रक्षेपण गरेको छ।