काठमाडौं। हिरो मोटोकर्पले कार्बन फाइबरबाट बनेको बाइक सीई००१ सार्वजनिक गरेको छ। केही दिन अगाडि माभरिक र एक्स्ट्रिम १२५आर मोडल बजारमा उतारेको हिरोले लगत्तै नयाँ मोडल सार्वजनिक गरेको हो।
भारतमा हिरोले उक्त बाइक हिरो ग्रुपका संस्थापक डा. बृजमोहनलाल मुन्जालको १००औं जन्मजयन्तीमा श्रद्धाञ्जलीस्वरुप डिजाइन गरेको जनाएको हो। कम्पनीले यसलाई भारतमा निर्मित सबैभन्दा विशेष बाइकको रूपमा वर्णन गरेको छ।
फलामका तुलनामा हलुका हुने कार्बन फाइबर मुख्यतः स्पोर्ट्स कार र रकेट निर्माणमा प्रयोग हुने गरेको छ। यसको प्रयोगले निर्मित सवारी वजनमा हलुका भए पनि बलियो हुने मानिन्छ।
बाइक करिज्मा एक्सएमआर २१० मोडलमा आधारित हुने कम्पनीले जनाएको छ। यो बाइक १०० युनिट मात्र उत्पादन हुने घोषणा कम्पनीको छ।
बाइकलाई हल्का बनाउका लागि यसका सम्पूर्ण बडी पार्टहरु कार्बन फाइबरबाट बनाइको छ। बाइकको इन्जिन र मूल्यको बारेमा कुनै आधिकारिक जानकारी दिइएको छैन। तर कम्पनीले यो बाइक आगामी जुलाई महिनासम्ममा १०० युनिट डेलिभरी गरिसक्ने जनाएको छ।