काठमाडौं। पछिल्लो ६ महिनामा अध्ययनका लागि अमेरिका जानका लागि अध्ययन अनुमति पत्र(एनओसी)लिनेको संख्या बढेको छ। अघिल्लो आर्थिक वर्षमा ३ हजार ९ सय ७० जनाले अमेरिका अध्ययनका लागि एनओसी लिएकामा यो वर्षको पछिल्लो ६ महिनामा ५ हजार ३१४ जनाले एनओसी पाएका छन्।
यो अवधिमा ७ हजार ३०८ जनाले अमेरिका जानका लागि एनओसी माग गरेको देखिन्छ। यी मध्ये ४२ जनाको आवेदन भने रद्द भएको शिक्षा मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारीले जानकारी दिए। बाँकीको एनओसी प्रक्रियामा रहेको छ।
शिक्षा मन्त्रालयले जारी गरेको पछिल्लो ६ महिनाको तथ्यांकमा सबैभन्दा बढी एनओसी पाउनेमा क्यानडा रहेको छ। क्यानडा का लागि १८ हजार ४४९ ले आवेदन दिएकोमा १२ हजार ४९ जनाले एनओसी पाएका छन्।
अघिल्लो आर्थिक वर्षमा पहिलो सूचीमा रहेको अस्ट्रेलियाका लागि एनओसी लिनेको सूचीमा पछिल्लो ६ महिनामा ९ हजार ७७७ साथ दोस्रो स्थानमा पुगेको छ। जबकि अघिल्लो वर्ष ३३ हजार ९९१ जनाले अष्ट्रेलिया जानका लागि एनओसी पाएका थिए। पछिल्लो तथ्यांकमा जापान र बेलायत जानका लागि एनओसी लिनेको दर भने उस्तै देखिन्छ।
एनओसी लिने टप ५ देशको सूची
क्रस | देश | २०७९/८० | साउन – पुस(२०८०) |
१ | अस्ट्रेलिया | ३३९९१ | ९७७७ |
२ | अमेरिका | ३९७० | ५३१४ |
३ | क्यानडा | २१५४४ | १२०४९ |
४ | जापान | २१६५८ | ८५६७ |
५ | बेलायत | १०५२७ | ६६८८ |
यो अवधिमा ८५ हजार ७५ पटक आवेदन परेकोमा ५१ हजार ५६७ पटक एनओसी स्वीकृत भएको छ। अघिल्लो आर्थिक वर्ष कुल एक लाख १० हजार २१७ पटक एनओसी स्वीकृत भएको थियो।