काठमाडौं । क्रिकेटमा ब्याट्सम्यानले राम्रो सट प्रहार गरे कति रन बनाउन सक्छ। सिधा हिसाबले ६ रन, ४ रन या सो भन्दा कम। तर, क्रिकेटमा एकै बलमा १२ रनको पनि नियम हुनुपर्ने बहस पनि नभएको होइन।
सन् २०२१ मा क्रिकेट कमेन्टेटर केभिन पिटरसनले क्रिकेटमा १२ रन हुनुपर्ने तर्क अघि सारेका थिए। त्यसबेला चर्चामा आएको यो विषयलाई फेरि उनले अघि सारेका छन्।
एक्स (पहिला ट्वीटर) मा लेख्दै उनले यो नियममा काम भइरहेको दाबी गरेका हुन्। इङ्ग्ल्याण्डका पूर्व क्रिकेटर उनले आफूले २ वर्षअघि कमेन्ट्रीका क्रममा बाउन्ड्रीको १०० मिटर माथिबाट बल गए १२ रन आउनुपर्ने उल्लेख गरेको बताउँदै त्यो नियम आउने क्रममा रहेको लेखेका छन्।
तर, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले भने उनको अभिव्यक्तिबारे केही जनाएको छैन।
यद्यपि, पिटरसनले लेखेको एक्समा नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाइले प्रश्न तेर्साएका छन्।
‘यदि स्टम्प उडेर मैदान बाहिर पुगे बलरले के पाउने?,’ उनले प्रश्न गरेका छन्, ‘यदि फिल्डरले डाइरेक्ट हिटमा स्टम्पको एउटा एङ्गलमा प्रहार गरे के पाउने?’
देशाइले अन्तिम जिज्ञासा राखेका छन्: बाउन्ड्री रोप बाहिर गएर छक्का भइसकेको बललाई बचाए या विकेट लिए फिल्डरले के पाउने?