काठमाडौं। चांगन ईभीको डिपल एस सेभेन ८० लाख रुपैयाँमा नेपाल आउने भएको छ। यसको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकल कम्पनीले बिहीबार उक्त गाडीको एमआरपी मूल्य ८० लाख रुपैयाँ राखेर नेपाली बजारमा ल्याउन लागिएको जनाएको छ। कम्पनीका अनुसार एल सेभेन भेरियन्टको मूल्य भने ७० लाख रुपैयाँ पर्नेछ।
कम्पनीले उक्त गाडीलाई ९९ किलोवाट मोटर पावरमा ल्याउन लागेको छ। कम्पनीले यो गाडीलाई यही महिना नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
यो मिडसाइज एसयूभी हो। यसमा २९०० एमएमको ह्वीलबेस उपलब्ध छ। यसमा कम पावर भएको भेरियन्टमा १६० किलोवाट र हाइ पावर भएको भेरियन्टमा १९० किलोवाट क्षमताको मोटर उपलब्ध थियो। तर त्यो मोटर पावरमा गाडी नेपाली बजारमा ल्याउदा महँगो पर्न जाने भएपछि मोटर पावर घटाए ल्याइएको छ।
यस्तै, ब्याट्री क्षमता डिपल एस सेभेनमा ६६.८ किलोवाट आवर(युनिट) छ। रेन्ज टेष्ट गर्ने वर्ल्डवाइड हार्मोनाइज्ड लाइट भेहिकल टेष्ट प्रोसिड्युअर (डब्लुएलटीपी)का अनुसार डिपल एस सेभेनले एक पटकको फुल चार्जमा ४३० किलोमिटर रेन्ज दिन्छ।
यसले १४.२ किलोवाट आवरमा १०० किलोमिटरको रेन्ज दिन्छ। यसको टप स्पिड १८० किलोमिटरको छ। एस सेभेन ४.७५ मिटर लामो छ।