BIZMANDU
www.bizmandu.com

घरजग्गा कारोबारमा सुधार, किनबेच बढेपछि उठ्यो एकै महिनामा साढे ३ अर्ब राजस्व

२०८० माघ २

घरजग्गा कारोबारमा सुधार, किनबेच बढेपछि उठ्यो एकै महिनामा साढे ३ अर्ब राजस्व
घरजग्गा कारोबारमा सुधार, किनबेच बढेपछि उठ्यो एकै महिनामा साढे ३ अर्ब राजस्व


काठमाडौं। पुसमा घरजग्गा कारोबार बढेको छ। कित्ताकाट खुकुलो र बैंक ब्याजदर निरन्तर घट्दै गएपछि घरजग्गा बजार केही चलायमान बनेको हो।

Tata
GBIME
NLIC

पुसमा घरजग्गा किनबेचबाट सरकारले ३ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। मंसिरको तुलनामा पुसमा राजस्व संकलन ६५ करोड रुपैयाँले बढेको हो।

मंसिरमा देशभरका मालपोत कार्यालयले २ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन गरेका थिए। कात्तिकमा राजस्व संकलन २ अर्ब १६ करोड रुपैयाँमा सीमित भएको थियो।

पछिल्लो समय सेयर बजारमा देखिएको सुधारको प्रभावसमेत घरजग्गा किनबेचमा देखिन थालेको छ। नेप्सेमा कारोबार रकममा देखिएको सुधारले घरजग्गा बजारमा समेत प्रभाव पारेको देखिन्छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार पुसमा देशभरका मालपोत कार्यालयबाट ४५ हजार २७७ लिखत पारित भएको छ। मंसिरको तुलनामा पुसमा लिखत पारित ३ हजार ४२६ बढी हो। मंसिरमा ४१ हजार ८५१ घरजग्गा किनबेच भएको थियो। कात्तिकमा २६ हजार ४६ लिखत पारित भएको थियो।

पुसमा सबैभन्दा धेरै घरजग्गा किनबेच इनरुवा मालपोत कार्यालयबाट भएको छ। त्यहाँ पुसमा १ हजार ९३७ लिखत पारित भएको छ। त्यसपछि भद्रपुरमा १ हजार ७४३, मोरङ बेलबारीबाट १ हजार ६५०, जनकपुरबाट १ हजार ५२०, राजविराजबाट १ हजार २६०, जलेश्वरबाट १ हजार ५७, मलंगवाबाट १ हजार ४५ र तौलिहवा मालपोत कार्यालयबाट १ हजार २ लिखत पारित भएका छन्।

काठमाडौं उपत्यकाको हकमा सबैभन्दा धेरै लिखत पारित भक्तपुर मालपोत कार्यालयबाट भएको छ। त्यहाँ ८७७ लिखत पारित भएको छ। त्यसपछि कलंकीबाट ६५०, चाबहिलबाट ४०८, साँखुबाट ४०७, डिल्लीबजारबाट १६१ र टोखाबाट १३७ लिखत पारित भएका छन्।

विभागको तथ्यांकअनुसार लगनखेल र मनमैजु मालपोत कार्यालयबाट पुसमा एउटै लिखत पारित भएन।

ललितपुरको भैंसेपाटी क्षेत्र

लिखत पारित शून्य भएपनि अरु किसिमका कारोबार बढी हुँदा लगनखेल मालपोतले सबैभन्दा धेरै २७ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यस्तै, चाबहिलले २३ करोड २९ लाख, भक्तपुरले २२ करोड ६५ लाख, कलंकीले करिब २१ करोड, डिल्लीबजारले १५ करोड ६६ लाख र कास्कीले १२ करोड ७७ लाख राजस्व संकलन गरेका छन्।

भक्तपुरको डोलेश्वर क्षेत्र

इनरुवाले १२ करोड ७० लाख, काभ्रेले १२ करोड ४५ लाख र चितवन मालपोत कार्यालयले ११ करोड ३२ लाख रुपैयाँ राजस्व उठाएका छन्।

चालु आर्थिक वर्षमा घरजग्गा किनबेचबाट साउनमा २ अर्ब ९१ करोड, भदौमा ३ अर्ब, असोजमा ४ अर्ब र कात्तिकमा २ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।